गृहपृष्ठ लकडाउन : शिक्षा, अनुशासन र घरायसी काममा अभ्यस्त हुने अवसर

लकडाउन : शिक्षा, अनुशासन र घरायसी काममा अभ्यस्त हुने अवसर

मानव जाति जीवित प्राणीको सबैभन्दा सचेत वर्ग हो । यसकारण मानिसलाई गाँस, बास र कपासका अलावा ‘शिक्षा’ उत्तिकै आवश्यक छ । भनिन्छ, शिक्षा नै ‘शक्ति अनि ज्योति’ पनि हो । शक्तिले गाह्रो कामलाई सहज बनाइदिन्छ भने ज्योतिले ज्ञानको माध्यमबाट नदेखिएको र नबुझिएको चिज वा वस्तुलाई स्पष्ट पारिदिन्छ । अतः शिक्षामार्फत शक्ति र ज्योति दुबै आर्जन गर्न सकिन्छ । शिक्षा भनेको सबै प्राणी त्यसमा पनि सामाजिक प्राणीलाई शिक्षित बनाउने साधन हो, जसमा शिक्षकबाट विद्यार्थीलाई लेखपढ गर्न र विद्वान बनाउनुका अलवा सीप, ज्ञानगुन, रीतिथिति, चालचलन, आचारविचार, परम्परा, मूल्यमान्यता र सूचना प्रदान हुन्छ । कुनै पनि व्यक्ति जसले शिक्षा दिन्छ ऊ शिक्षक हो भने शिक्षा लिने व्यक्ति विद्यार्थी हो । अतः साना बालबच्चा र युवायुवतीका लागि बुबाआमालगायत अन्य अभिभावक पनि शिक्षक हुन् । हुन त शिक्षाका अलावा स्वास्थ्य र यौनिकता पनि मानव प्राणीका लागि अति आवश्यक भनिएका छन् तर यस लेखमा विद्यार्थीका लागि शिक्षासँग अनुशासन र घरायसी कामकाजको महत्वका बारेमा विशेष जोड दिइएको छ ।

शिक्षा शिक्षक वा प्रशिक्षकबाट पाइन्छ । मुख्य रुपमा शिक्षा दुई प्रकारका हुन्छन्‑ औपचारिक र अनौपचारिक । सबै बालबालिका र स्कुले विद्यार्थीले बुबाआमा र अभिभावकबाट दैनिक लिने व्यावहारिक ज्ञान तथा सीप नै अनौपचारिक शिक्षा हो । त्यसले गर्दा सबै अभिभावक अनौपचारिक शिक्षाका शिक्षक पनि हुन् भन्न सकिन्छ । आजका बालबालिका तथा स्कुले विद्यार्थी भोलिका सम्भावित बुबाआमा र अभिभावक मात्र होइनन् कि अनौपचारिक शिक्षक पनि हुन् । यस अर्थमा कुनै पनि व्यक्ति आफैँमा सधैँका लागि एउटा अनौपचारिक ‘विद्यार्थी’ अनि ‘शिक्षक’ हो, जसले जीवनभर आफू पनि सिकिरहन्छ र अरुलाई पनि सिकाइरहन्छ । शिक्षक या विद्यार्थी दुवै अनुशासित र व्यावहारिक हुनु अपरिहार्य छ । अनुशासन सिक्ने र सिकाउने विधिको मुख्य ढोका हो । त्यसका लागि हामी सबै नजानेको विषयवस्तु सिक्ने र जानेको सिकाउने कुरामा इमानदार बन्नुपर्छ ।

मानिसले जन्मदै कतिपय ज्ञान, सीप, क्षमता र बुद्धि लिएरै आएको हुन्छ भनिए पनि वास्तवमा यी घरायसी तथा सामाजिक वातावरणमा औपचारिक वा अनौपचारिक तरिकाबाट प्राप्त हुने गर्छ । सामान्यतः कुनै पनि मानिस चाहे पुरुष होस् वा महिला जोसुकैले पनि दैनिक गरिरहने कामकाज, सूचना प्रवाहका साधन, अन्य व्यक्तिसँगको वातचित र भेटघाटबाट केही न केही सीप र ज्ञान अनौपचारिक रुपमा जीवनभर सिकिरहन्छ र उसले पनि अरुलाई उत्तिकै रुपमा सिकाइ रहन्छ, जसका लागि कुनै निश्चित ठाउँ, समय र सिक्ने वा सिकाइने विषयको बारेमा अग्रिम जानकार हुन आवश्यक पर्दैन । अनौपचारिक शिक्षा आर्जनका लागि शिक्षित वा सामान्य लेखपढ हुनैपर्ने जरुरत पर्दैन । औपचारिक शिक्षा आर्जन गर्न भने निश्चित ठाउँ, समय, सिकाउने व्यक्ति तथा सिकाइने वा पढाइने विषय पहिल्यै तय गरिएको हुन्छ । यस्तो शिक्षा खासगरी स्कुल, कलेज वा यस्तै अन्य शिक्षण संघ संस्थामार्फत निश्चित ठाउँ र विषयमा उपलब्ध गराइन्छ, जसले कुनै पनि विषयवस्तुलाई गहिरिएर विश्लेषण तथा मूल्यांकन गर्ने क्षमता बढाउँछ । विशेषतः पढेर विद्वान हुने र सानाठूला सबै किसिमका शैक्षिक उपाधि हासिल गर्ने विधि नै औपचारिक शिक्षा हो । त्यसले गर्दा औपचारिक शिक्षा आर्जन गर्न निश्चित नियम, अभ्यास, नैतिकता, मूल्य मान्यता, समय आदिको पालना गर्नुपर्ने हुन्छ ।

विशेषतः पढेर विद्वान हुने र सानाठूला सबै किसिमका शैक्षिक उपाधि हासिल गर्ने विधि नै औपचारिक शिक्षा हो । त्यसले गर्दा औपचारिक शिक्षा आर्जन गर्न निश्चित नियम, अभ्यास, नैतिकता, मूल्य मान्यता, समय आदिको पालना गर्नुपर्ने हुन्छ ।

हुन त कुनै पनि शिक्षा आर्जनका लागि अनुशासित, आज्ञाकारी, मेहनती र लगनशील हुन जरुरी हुन्छ तर औपचारिक शिक्षा आर्जन गर्न अनुशासनका नियम पालना गर्न विशेष ध्यान दिनुपर्छ । शिक्षकले दिएको आज्ञा आदेश पालना गर्न, समयमा चल्न, आफूलाई दिइएका जुनसुकै कार्य समयमा सम्पन्न गर्न, निश्चित परिधिभित्र रहेर खान, बस्न, बोल्न, पिउन, खेल्न, चल्न, पोसाक लगाउन, आफ्नो र वरपरको सरसफाइमा ध्यान दिनलगायतका यावत् कुरामा अध्ययन, अध्यापन अवधिभर सचेत र आज्ञाकारी बन्नुपर्छ । पढ्न पढाउन स्कुल, कलेज जाने नाममा, केटाहरुले कानमा मुन्द्रा झुन्ड्याउने, अमर्यादित तथा अश्लील शब्द प्रयोग गर्ने, शिक्षक तथा साथीभाइलाई अभद्र व्यवहार गर्ने, झगडामा अग्रसर हुने, फटाइएको वा रंगविरंगले टालेको पाइन्ट लगाउने, लामो‑लामो नस्याहारिएको कपाल पाल्ने, कक्षाकोठामा अरुलाई समेत पढ्न पढाउन बाधा पुर्‍याउने जस्ता अमर्यादित व्यवहार गरी अनुशासनको पालना नगर्नेले न आफू नै पढ्छ न त अरुलाई पढ्ने वातावरण दिन्छ । सानैदेखि गरिने यस्ता व्यवहारले ऊ एउटा असल विद्यार्थी र भविश्यमा ठूलो मानिस बन्न सक्दैन । यसको मतलव हो, बिना अनुशासन, बिना आज्ञाकारी र बिना कडा परिश्रम औपचारिक शिक्षा हासिल गर्न सकिन्न । अनुशासनकै कुरा गर्दा झुट नबोल्ने अरु कसैको सामान चोरीचाकरी नगर्ने, अरुलाई नाजायज दुःख नदिई सधैँ सहयोगी बनेर गाउँ, समाज, छरछिमेक तथा घरपरिवारसमेतमा आफूलाई असल बालबालिकाको रुपमा प्रस्तुत गराउनुपर्छ । भनिन्छ ‘एक पटकको चोर सधैँको चोर’, ‘सियो चोर्नेले फाली चोर्छ अनि कुनै एकदिन गएर अरुको घरै फोर्छ ।’

चोर्नु, झुटो बोल्नु र अरुलाई दुःख दिनु सरासर सामाजिक अपराध हुन् । त्यसले गर्दा सानैदेखि पढ्न, घरायसी काममा सहयोगी बन्न मात्र होइन कि सानोभन्दा पनि सानो आपराधिक गतिविधिबाट समेत अलग रहन सक्ने बानीको विकास गर्नुपर्छ । अंग्रेजी उखान छ ‘old habit dies hard’ अर्थात् ‘लागेको बानी छुटाउन असाध्यै गाह्रो हुन्छ’, त्यसले गर्दा कुनै पनि खराब बानी ठूलो भएपछि हट्छ भनेर जानी नजानी कदापी सुरु गर्नु हुँदैन । गाउँ, समाजमा देखिने गरिब, दुःखी, असहाय, अपांगता भएकालाई भावनाले मात्र भए पनि सहयोग गर्ने आदत सानैदेखि बसाउनुपर्छ । सहयोग गर्न नसके पनि उनीहरुको शारीरिक कुरुपता र दुर्बलतालाई देखेर घृणा कदापी गर्नु हुँदैन । गाउँ, घर, समाज, छरछिमेक कहीँ कसैलाई पनि आइपरेको आपतविपतमा स्वयंसेवक बनेर क्षमताअनुसार सानैदेखि के केटा के केटी दुबैले उत्तिकै सहयोग गर्ने बानीको विकास गर्दै जानुपर्छ । भनिन्छ ‘दिएर बिर्सनु तर लिएर कदापी नबिर्सनु’ । दिनु भनेकै माया, दया, अर्ति, उपदेश सरसापट, ऐचोपैँचो, सहयोग, रिनपान, ज्ञानगुन त हो । अझ ज्ञानगुन, अर्ति उपदेश र शिक्षा त जति अरुलाई दियो उति आफूमा बढ्दै जाने कुरा हुन् । त्यसैले गर्दा सधैँ अनुशासित, लगनशील, मेहनती, परिश्रमी र सहयोगी बनेर असल, महान र चरित्रवान व्यक्तिको रुपमा प्रस्तुत हुन कोसिस गर्नुपर्छ । गर्दा नहुने के छ र !

भनिन्छ‑

जहाँ ज्ञान हुन्छ, त्यहाँ नियम हुन्छ, जहाँ नियम हुन्छ, त्यहाँ अनुशासन हुन्छ, जहाँ अनुशासन हुन्छ, त्यहाँ अनुशरण हुन्छ, जहाँ अनुशरण हुन्छ, त्यहाँ शान्ति हुन्छ, जहाँ शान्ति हुन्छ, त्यहाँ प्रेम हुन्छ, जहाँ प्रेम हुन्छ, त्यहाँ स्वर्ग हुन्छ ।

त्यसले गर्दा शान्ति, प्रेम र स्वर्ग प्राप्तिका लागि ज्ञान, नियम, अनुशासन र अनुशरणको पालना गरिनुपर्छ ।

हामीमध्ये कतिलाई लाग्न सक्छ, घरायसी दैनिक काम भनेको बेग्लै विषय हो जो बालबालिका तथा स्कुले विद्यार्थीले सिक्न वा जान्न त्यति आवश्यक छैन । परेपछि जानिहालिन्छ वा गरिहालिन्छ भन्ने मानसिकता छ । त्यसमा पनि केटाकेटी आफैँ भने यस्ता दैनिक कामबाट पन्छिन खोज्नुलाई अचम्म मानिरहनु पर्दैन । किनभने सबै केटाकेटी खेलेर दिनचर्या गर्ने गतिविधिमा असाध्यै रमाउने गर्छन् । हुन पनि सबै केटाकेटी एउटा निश्चित उमेरसम्म कामकाज र पढ्नमा भन्दा खेल्नमै बढी दिलचस्पी राख्ने स्वभावका हुन्छन् । घरायसी दैनिकी काम भन्नाले सामान्यतः घरभित्र गरिने काम जस्तैः खाना बनाउने, भाँडाकुँडा माझ्ने, घर सरसफाइ गर्ने, कुटनपिँधन गर्ने, लुगाफाटा सरसफाइ गर्ने, बालबच्चा हेर्ने मात्र होइन कि खेतीपाती, मेलापात, घाँसदाउरा, पानी तथा गाईवस्तु हेरचार र स्याहारसुसार गर्नुलाई बुझ्नुपर्छ । यस्ता दैनिक गरिने कामकाज गाउँ र सहरमा फरक हुन्छ । ग्रामीण क्षेत्रको दैनिकी कामकाजको प्रकृतिअनुसार सधैँजसो व्यस्त रहनुपर्ने हुन्छ । त्यसले ग्रामीण जीवनमा घरपरिवारका सबै सदस्यको आ‑आफ्नो क्षमताअनुसार योगदान तथा परिश्रम नितान्त आवश्यक हुन्छ । यद्यपि, स्कुले विद्यार्थीलाई दिइने जिम्मवारी गरिब र धनी परिवारको परिवेशमा पनि धेरै फरक पर्छ ।

सहर तथा धनी परिवारका केटाकेटीलाई घरायसी कामकाज गर्ने गराउने गरिएको हुँदैन भने गाउँ र गरिब परिवारका केटाकेटीले अनिवार्य गर्नुपर्ने हुन्छ । त्यसले गर्दा मध्यम तथा गरिब परिवारका केटाकेटी वा बालबालिका एक अर्थमा आफ्नै घरका अघोषित मजदुर पनि हुन् र स्कुल तथा कलेज जाने केटाकेटीलाई पठनपाठन र मनोरञ्जात्मक क्रियाकलापमा कम फुर्सद निस्कनु स्वाभाविक हुन्छ । यसो भन्दैमा, जबसम्म घरायसी कामकाजलाई मुख्य पेसाकै रुपमा अंगाल्नुपर्ने बाध्यता आइपर्दैन, तबसम्म त्यसकै कारण पढाइ अत्यन्तै कमजोर हुन्छ भन्ने चाहिँ हुँदैन । ग्रामीण क्षेत्रका विद्यार्थीले घरायसी कामकाज र खेतीपातीमा धसिएर पनि विद्यालय, कलेज र विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएका उदाहरण धेरै छन् । यस अर्थमा स्कुल वा कलेज जाने केटाकेटीलाई घरको काममा कुनै योगदान नगर्नु, नगराउनु भनेको आफ्नै परिवारमा गैरजिम्मेवार व्यवहार देखाउनु पनि हो ।

घरपरिवार भनेको एउटा संस्था हो, जहाँ सबै मिलेर घरको दैनिक कामकाज गर्नुपर्ने हुन्छ । एउटा संस्थामा प्रत्येक व्यक्तिलाई व्यवस्थित कार्यविभाजन गरिएको हुन्छ भने घरपरिवारमा व्यवस्थित कार्यविभाजन नगरिएको पनि हुनसक्छ तर परिवारका सबै सदस्य मिलेर आ‑आफ्नै सीप तथा क्षमताका आधारमा काम गर्ने प्रचलन, मूल्यमान्यता, अभ्यास र निर्देशन गरिएको हुन्छ । यसले गर्दा ग्रामीण क्षेत्र र गरिब परिवारका केटाकेटीहरुले घरायसी कामकाजमा बाध्यात्मक योगदान गर्नैपर्ने हुन्छ भने यसविपरीत सहरिया र धनी परिवारका केटाकेटीले यस्तो बाध्यात्मक परिस्थितिको सामना गर्नु नपर्ने पनि हुनसक्छ । धनी र सहरी क्षेत्रमा दैनिक घरायसी कामकाजमा केटाकेटीले सहयोग पुर्‍याउनु हुँदैन भन्न खोजिएको होइन तर हामीकहाँ यस्ता परिवारमा दैनिक कामकाज हलीगोठाला, नोकरचाकरबाट गराइने प्रचलन छ । अनि कतिपय यस्ता सम्पन्न परिवारका केटाकेटीलाई बिहान उठाएर स्कुल पठाउन मात्रै त ठूलो कसरत गर्नुपर्छ भने उनीहरुबाट घरायसी सामान्य काममा सहयोगको के आश गर्न सकिन्छ र ! ससाना बालबालिकाबाहेक सबै केटाकेटी बिहान अबेरसम्म वा धेरै समय सुत्नुलाई पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । भनिन्छ‑ ‘विद्यार्थी, नोकर, बटुवा, भोको, डराएको, भान्से र चौकीदार धेरै सुते भने उठाइदिनुपर्छ ।’ अझ विद्यार्थीकै हकमा त ‘काक चेष्टा बको ध्यानम्’ अर्थात् काग जस्तो चलाख र बकुल्ला जस्तो एकचित्त भएर ध्यान गर्नसक्ने हुनुपर्छ भनिन्छ ।

सबै सचेत केटाकेटीले घरको कुनै पनि कामकाजलाई म र मेरो परिवारको सम्झिएर आफूअनुसारको योगदान दिन जरुरी हुन्छ । ग्रामीण क्षेत्रमा खेतीपाती, गाईवस्तु, घाँसदाउरा र पानीको समेत व्यवस्था गर्नुपर्ने हुँदा कामको दबाब धेरै हुन्छ । घरको दैनिक कामकाज भनेको उद्योग कलकारखानामा अनवरत लामो समयसम्म खटिएर जीवनलाई नै जोखिम पुर्‍याउने वा गह्रौँ वजनका सामान चलाउनुपर्ने वा लामो समयसम्म एउटै स्थानमा खट्नु नपर्ने हुँदा स्कुल जाने उमेरका केटाकेटीले गर्न सक्ने थुप्रै काम हुन्छन् । स्कुल वा कलेज जाने भन्दैमा आफ्नो सबै समय पढ्नमै खर्चिनुपर्छ भन्ने हुँदैन । यसरी बेलाबखतमा पुर्‍याइने घरायसी कामकाजको सहयोगले स्वास्थ्यलाई फुर्तिलो राख्न मात्र होइन लगातार पठनपाठनमा लाग्दा उत्पन्न हुने आलश्य, दिग्दारी र नैराश्यलाई विश्राम दिलाई एक किसिमको ताजापन वा फुर्तिपन गराइदिन्छ । जुन कुरा पार्क घुम्दा, चलचित्र हेर्न जाँदा वा साथीभाइसँग सामाजीकरण हुँदा मिल्छ । बाध्यतावश घरको कामलाई मुख्य पेसा बनाएर पठनपाठन गर्ने कामलाई सहायक पेसाको रुपमा अगाडि बढाउनुपर्नेबाहेक अन्य स्कुले केटाकेटीसमेतले आ‑आफ्नो क्षमताअनुसार घरायसी काममा सहयोग पुर्‍याउनु भनेको आफ्नै बाह्य सीप विकास गर्नु मात्र होइन, घरपरिवारलाई ठोस योगदान दिनु र स्वास्थ्यलाई आवश्यक पर्ने ताजा हावाको नजिक पुग्नु पनि हो । यस्ता काम गर्दा अरुको करकापले भन्दा पनि स्वस्फुर्त रुपमा स्वेच्छिक तत्परता देखाउनाले आफैँलाई कम दबाब महसुस हुन्छ । पढाइमा कम परिश्रम गर्नुपरेको वा परीक्षा नभएको समयमा सधैँ बिहानको चिया बनाउन, घर सरसफाइ गर्न, खानामा तरकारी वा भुजा मात्र बनाउन सहयोग गरे पनि परिवारमा ठोस सहयोग पुग्छ । यसले गर्दा सहरी र धनी परिवारका केटाकेटीसमेतले घरायसी ससाना काममा आफैँले दिलचस्पी दिनु वा अविभावकले प्रोत्साहन गर्नु गराउनु राम्रो हुन्छ ।

सहरी र धनी परिवारका केटाकेटीसमेतले घरायसी ससाना काममा आफैँले दिलचस्पी दिनु वा अविभावकले प्रोत्साहन गर्नु गराउनु राम्रो हुन्छ ।

संसारका कतिपय गरिब मात्र होइन, धनी देशहरुमा समेत घरायसी कामदार राख्ने प्रथाको अन्त्य हुँदै गएको परिप्रेक्ष्यमा हामीकहाँ पनि कुनै पनि समयमा यस प्रचलन अन्त्य हुने करिब निश्चित छ । यस्तो परिस्थिति सामना गर्न पनि घरायसी कामकाजमा केटाकेटीदेखि नै सबैमा सामान्य जानकार या अभ्यास हुनु जरुरी छ । उनीहरुलाई सानैदेखि यस्ता गतिविधिमा सरिक गराउन कहिलेकहीँ कुनै जुक्ति लगाउनुपर्ने हुनसक्छ । जस्तो कि भान्साको काममा सामान्य ज्ञान दिइसकेपछि मिठो खाना बनाउने वा तरकारी बगैँचामा सानो भाग उनीहरुलाई पनि छुट्टयाइदिएर कसले राम्रो तरकारी फलाउने ? जस्तो अप्रत्यक्ष प्रतिस्पर्धा गराउन सकिन्छ । तर, यसरी संलग्न गराइने घरायसी कामकाजले उनीहरुको शारीरिक अंगलाई जोखिम वा हानी पुर्‍याउने किसिमको हुनु हुँदैन ।

यसै पनि बालबालिकाको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (सन् १९८९ नोभेम्बर २० को संयुक्त राष्ट्रसंघीय महासभा) ले उनीहरुको हकहित संरक्षण गर्दै जोखिमपूर्ण काममा लगाउन बन्देज गरेको छ भने बालबालिकाले एउटा निश्चित उमेरसम्म स्वत्रन्त रुपमा खेल्न पाउने अधिकार पनि सुरक्षित गरेको छ । तर पनि उक्त सम्मेलनले आफ्नो परिवारको सामान्य घरायसी कामकाजमा पुर्‍याउन सक्ने योगदानलाई भने वञ्चित गरेको छैन । सम्मेलन खासगरी उद्योग तथा कलकारखाना र घरेलु काममा पूर्णकालीन बाल मजदुर प्रयोग गर्न भने पूर्णतः रोक लगाएको छ । बेलायतलगायत संसारका धेरै मुलुकका केटाकेटीले विगतमा घरायसी कामकाजमा आफ्ना बुबाआमालाई पुर्‍याएको योगदानबारे प्रशस्त पढ्न र सुन्न पाइन्छ । तर, हालका दिनमा भने सूचना र सञ्चारको प्रविधिको विकाससँगै, कम्प्युटर र कम्प्युटरमा खेलिने खेल तथा टेलिभिजनले यसरी गरिने योगदानमा निरासाजनक रुपले ह्रास आएको छ । प्रविधिको विकासले घरबाहिर खेलिने खेलकुदमा समेत कमी आएकाले उनीहरुको पढाइ मात्र नभई सामाजिक जीवन र शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पुर्‍याउन सक्ने अध्ययनले देखाएको छ । यस्तो परिस्थितिमा सामान्य घरायसी कामकाजको सहभागिताले मात्रै पनि उनीहरुको शारीरिक तन्दुरुस्ती र सामाजिक गतिविधिमा उल्लेख्य प्रगति हासिल गर्न सकिन्छ । अतः भविश्यमा सबल र सक्षम नागरिक बन्न र बनाउन असल विद्यार्थी बन्ने मात्र होइन, सानैदेखि घरपरिवारमा समेत सहयोगीका रुपमा प्रस्तुत हुने बानीको विकास गरौँ ।

भविश्य कस्तो हुन्छ कसलाई थाहा ? विगतमा पटक‑पटक दोहोरिएका राष्ट्रिय विपत्तिले पनि अन्ततोगत्वा सहरभन्दा गाउँघरको खेतीपाती र हलोकोदालो नै जीविकोपार्जनको सर्वोत्तम विकल्प हो भन्ने प्रस्ट्याउँदै आएको छ । डेगिलो जीविकोपार्जनका लागि दैनिक घरायसी कामकाजले पनि मुख्य हिस्सा ओगटेको हुन्छ । झन् अहिले संसारभर फैलिएको भाइरसको महामारी प्रकोपले जीवनको कुनै पनि मोडमा वा समयमा आइपर्ने बिपत्तिमा भोकमरीले पनि कहीँ कसैले प्राण त्याग्नुपर्ने अवस्था नआओस् भन्नका लागि घरायसी कामकाजदेखि खेतीपाती गर्नसम्मका लागि तत्पर रहन पाठ सिकाइदिएको प्रसंगमा आजका सबै बालबालिकालाई मानसिक रुपमै भोलि आइपर्ने बिपत्ति सामना गर्न अभिभावकले जागरुक बनाउन जरुरी छ । त्यसैले अहिलेलाई घरायसी कामकाज र खेतीपाती गर्न सिकाउने विभिन्न अवसरमध्ये लकडाउन पनि एउटा राम्रो अवसर हो ।

(डा. बस्नेत कृषि तथा जेन्डर विशेषज्ञ हुन् ।)

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु