गृहपृष्ठ सुदूरपश्चिममा क्वारेन्टाइन बसाइ कष्टपूर्ण

सुदूरपश्चिममा क्वारेन्टाइन बसाइ कष्टपूर्ण

भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् । भारतका विभिन्न सहरबाट अनेकौँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ भने कष्टपूर्ण बनेको छ ।

जिल्लाका लम्कीचुहा, गौरीगंगा, भजनी, घोडाघोडी, धनगढीलगायत स्थानीय तहका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा खानेपानी, शौचालय, खाना र बस्नको व्यवस्थापनमा समस्या देखिएको छ । केही स्थानीय तहले व्यवस्थित गर्न खोजे पनि संख्या दिनप्रतिदिन बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको हो । धनगढी उपमहानगरपालिकाले बनाएको त्रिनगर माध्यमिक विद्यालयमा बस्दै आएका रमेश पार्कीले क्वारेन्टाइनमा क्षमताभन्दा बढी मानिसलाई राख्दा शौचालय, पानी, खाना र बस्नको व्यवस्थापन गर्न समस्या भएको बताए ।

क्वारेन्टाइनमा बसेकाहरूलाई दिन काट्न सहज होस् भनेर राखिए पनि झनै समस्या भएको उनीहरुले बताएका छन् । क्वारेन्टाइनमा बसेकाहरूको अहिलेसम्म स्वास्थ्य परीक्षण पनि नभएको उनीहरुले गुनासो गरेका छन् । गर्मीसँगै वर्षात सुरु भए पनि अन्य रोगको संक्रमण रहेको उनीहरुको गुनासो छ । क्वारेन्टाइनमा बसेकाहरूलाई व्यवस्थित तरिकाले राख्न उनीहरुले माग गरेका छन् ।

कैलालीका १३ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइन अपुग भएपछि थप बनाउने तयारीमा छन् । लकडाउनका कारण भारतमा मजदुरी गुमेका नेपाली धमाधम स्वदेश फर्किन थालेपछि सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइन अभाव हुने देखिएको छ । प्रदेशभर करिब २४ हजार मानिस अटाउने क्षमताका क्वारेन्टाइन बनाइएका छन् ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु