गृहपृष्ठ सुदूरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित

सुदूरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित

सुदूरपश्चिमका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएका परीक्षणबाट कोरोना संक्रमित थप भएका हुन् । सुर्खेतको प्रयोगशालामा परीक्षण गरिएका नमूनामध्ये ९ जना अछामका हुन् । योसँगै अछाममा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।

थप दुई जनाको धनगढीमा उपचार भइरहेको छ । मंगलबार मेल्लेख गाउँपालिका- ४ कुष्कोटका दुईवटा क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । वडा नम्बर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा पनि कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुने अन्य २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका ७ जना पुरुष पनि रहेका छन । उनीहरु सबै भारतबाट जेठ ९ गते कुष्कोट पुगेका थिए ।

यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी एम्बुलेन्स चालक भएको बताइएको छ । उनीहरु सबैको सुर्खेत प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको उमेर र ठेगाना भने खुलिसकेको छैन । योेसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । हिजोसम्म सुदुरपश्चिमका ४५ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु