गृहपृष्ठ बानेश्वरका व्यवसायी भन्छन्- लकडाउनले धराशयी बनायो, सरकारले विकल्प खोज्नुपर्छ

बानेश्वरका व्यवसायी भन्छन्- लकडाउनले धराशयी बनायो, सरकारले विकल्प खोज्नुपर्छ

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले चैत ९ गतेदेखि गरेको लकडाउनका कारण व्यवसाय चौपट बनेको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले स्थानीय जनप्रतिनिधिसँग छलफल अघि बढाएको छ । संघको सोमबार र मंगलबार बसेको बैठकले ७१ दिनदेखिको लकडाउनका कारण साना व्यवसायी ठूलो मर्कामा परेको निष्कर्ष निकाल्दै व्यवस्थित ढंगले पसल खोल्ने विषयमा काठमाडौँ महानगरपालिका ९, १० र ३१ का जनप्रतिनिधिसँग छलफल अघि बढाएको हो ।

कार्यक्रममा संघका उपाध्यक्ष खिमलाल खरेलले लामो समयको लकडाउनले मुलुक नै ठप्प भइरहे पनि सरकारले लकडाउनको विकल्प खोज्नुपर्ने बताए । ‘सुरुवाती दिनहरुमा लकडाउनको विकल्प छैन भन्नेमा हामी पनि विश्वस्त थियौँ तर विश्वले फरक-फरक शैली अपनाउँदै कोरोना नियन्त्रण गरिरहेका बेला नेपाल सरकारले लकडाउनलाई मात्र निर्विकल्प ठान्नु उचित हुँदैन,’ उनले भने, ‘सरकारले अब पनि लकडाउनको मोडालिटी परिवर्तन नगर्ने या विकल्प नखोज्ने हो भने मुलुकको अर्थतन्त्र र समग्र जनजीवनमा गम्भीर क्षति पुग्नसक्छ ।’

त्यस्तै संघका कोषाध्यक्ष रमेशमान शाक्यले कुनै योजनाबिनाको लामो समयको लकडाउनले व्यापारी व्यवसायी हातमुख मर्कामा परेको बताए । ‘७१ दिनदेखि पसल बन्द गर्नुपर्दा व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको छ,’ उनले भने, ‘तर साना व्यापारी व्यवसायीका लागि सरकारबाट कुनै सहयोग भएन । घरभाडा नियमित तिर्नुपरिरहेको छ, आम्दानीको बाटो ठप्प छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ ।’ कोरोनाका कारण नेपालमात्र नभएर विश्व नै ठप्प भएका बेला हामी पनि सजग हुनुको विकल्प छैन तर सरकारले अन्धाधुन्ध लकडाउन थपिरहँदा अन्योल बढेको उनले गुनासो गरे ।

संघका सचिव नवीन लुइँटेलले लकडाउनका कारण साना व्यापारी व्यवसायी सबैभन्दा बढी मर्कामा परे पनि सरकारले सम्बोधन नगरेको बताए । ‘लकडाउनका कारण ज्यालादारी मजदुरपछि सबैभन्दा बढी प्रभावित भएको साना व्यवसायी हुन्,’ उनले भने, ‘तर तिनका विषयमा सरकारले कहिल्यै सोचेको पाइँदैन ।’ लकडाउनको ७१ दिनसम्म एक रुपैयाँ कमाउन नपाउँदा साना व्यवसायी कसरी गुजारा गरिरहेका होलान् ? सरकारले यसबारे सोच्नुपर्ने उनले बताए ।

कार्यक्रममा संघका कार्यकारी सदस्य लक्ष्मी खड्काले लामो समयको लकडाउनका कारण व्यवसायीहरु बैंकको किस्ता र ब्याज तिर्न नसक्ने स्थितिमा पुगेको बताइन् । ‘एक दिन, दुई दिन भए जसरी पनि चल्थ्यो, अढाइ महिनादेखिको लकडाउन थेग्ने सामर्थ्य व्यवसायीसँग छैन,’ उनले भनिन्, ‘सरकारले व्यवसायीलाई राहत पनि दिएको छैन, यस्तो अवस्थामा कसरी बाँच्न सकिन्छ ? अब सधैँ लकडाउन भनेर हुँदैन, सरकारले चेतना विस्तार गर्दै लकडाउन खुकुलो पार्दै जानुपर्छ ।’

व्यवसायीको गुनासो सुनेपछि काठमाडौँ नगरपालिका १० का अध्यक्ष रामकुमार केसीले सरकारले आज बेलुका गर्ने निर्णयलाई आधार बनाएर लकडाउनको मोडालिटीबारे सोच्न सकिने बताएका छन् । ‘सरकारले आज लकडाउनको मोडालिटी फेर्ने भनेको छ, कस्तो खालका आउँछ हेरौँ, त्यसपछि कुनै निष्कर्षमा पुगौँला ।’ सरकारले मोडालिटी परिवर्तन गरेन भने नयाँ बानेश्वर क्षेत्रका पसल व्यवसाय बिहान १० बजेसम्म खोल्ने व्यवसायीको प्रस्तावमा अध्यक्ष केसी तयार देखिएका छन् । बानेश्वर प्रहरीसँग छलफल गरेर बिहान १० बजेसम्म सबै खालका पसल खोल्ने विषयमा तीनवटै वडाका जनप्रतिनिधि सहमत देखिएका छन् ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा सुनचाँदी, चुत्ताचप्पल, फेन्सी, कस्मेटिक, इलेक्ट्रिक, भाँडा पसल, हार्डवेयर, स्टेसनरीलगायतका करिब ६०० व्यवसायी आबद्ध छन् ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु