गृहपृष्ठ सुदूरपश्चिमका आइसोलेसन भरिए, अब संक्रमितलाई अस्पतालमै उपचार गर्न असम्भव

सुदूरपश्चिमका आइसोलेसन भरिए, अब संक्रमितलाई अस्पतालमै उपचार गर्न असम्भव

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना अस्पताल घोषणा गरेका अस्पतालहरुको आइसोलेसन वार्ड कोरोना संक्रमति बिरामीले भरिएका छन् । प्रदेशका सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा क्षमताभन्दा बढी बिरामी राखिएका छन् ।

आइतबार बेलुकीसम्मको जानकारीअनुसार १७ शय्याको क्षमता रहेको अछाम जिल्ला अस्पतालमा मात्र अब ७ शय्या खाली छ । त्यसैगरी १२ शय्याको आइसोलेसन वार्ड रहेको टीकापुर अस्पतालमा १० जना संक्रमितलाई राखिएको छ ।

२४ शय्याको आइसोलेसन वार्ड भएकोमा सेती प्रादेशिक अस्पतालमा २६ जना कोरोना संक्रमित राखिएको छ । महाकाली अस्पतालमा १० शय्याको मात्र आईसोलसन वार्ड छ । तर त्यहाँ १५ जना कोरोनाका बिरामी भर्ना गरिएका छन् ।

प्रदेशका ठूला अस्पतालको आइसोलसन वार्ड भरिभराउ भएपछि थप संक्रमित भेटिए उनीहरुको व्यवस्थापनमा चुनौती देखिएको छ । प्रदेशमा कोरोना संक्रमितको सम्पर्कमा आएका र अन्य कोरोना लक्षण देखिएका हजार बढीको अझै परीक्षण भएको छैन ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार सुदूरपश्चिममा कोरोना संक्रमित भेटिए सेती प्रादेशिक अस्पताल पठाउनु पर्ने उल्लेख छ । तर संक्रमित बढ्दै गएपछि प्रदेश सरकारले सेती अस्पतालले मात्रै संक्रमितको व्यवस्थापन गर्न नसक्ने भन्दै स्थानीय तहलाई समेत आइसोलेसन वार्ड तयार गर्न आग्रह गरेको छ । सेती प्रादेशिक अस्पतालका कोभिड- १९ विभाग प्रमुख डा. शेरबहादुर कमरले अब लक्षण नै नभएका बिरामीलाई अस्पताल ल्याएर उपचार गर्न सम्भव नभएको बताए । ‘सबै संक्रमितलाई अस्पतालमै राखेर उपचार गर्न अब सम्भव भएन । स्वस्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई घरमै अथवा क्वारेन्टाइनमै उपचार गर्नुको विकल्प छैन,’ उनले भने ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय डोटीले सबै स्थानीय तहहरुलाई कम्तिमा ५० शय्याको आईसोलेसन तयारी अवस्थामा राख्न पत्राचार गरेको छ । आरडीटी र पीसीआर पोजेटिभ भएकालाई व्यवस्थापन गर्न कम्तीमा पनि ५० शय्याको आईसोलेसन तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई अनुरोध गरिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । अहिले सुदूरपश्चिममा देखिएका कोरोना संक्रमित लक्षणविहीन अवस्थाका भएकाले उनीहरुको स्थानीय स्तरमै उपचार तथा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

स्वास्थ्य निर्देशनालयले सामान्य बिरामीको उपचार स्थानीय स्तरमै गर्न निर्देशन गरे पनि स्थानीय तहले आइसोलेसन बनाउन सकेका छैनन् । निर्देशनालयले ढिलोगरी पत्राचार गरेको र प्रदेशमा संक्रमितको संख्या बढेका कारण स्थानीय तहले नै आइसोलेसन निर्माण गरी बिरामीको उपचार गर्न असम्भव भएको जनप्रतिनिधिहरुले बताउँदै आएका छन् ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु