गृहपृष्ठ कोरोना बिमा पुनः सुरु गर्न निर्देशन, एक हजारमै एक लाखको बिमा
कोरोना बिमा पुनः सुरु गर्न निर्देशन, एक हजारमै एक लाखको बिमा
बिमा समितिकै निर्देशनमा बन्द भएको कोरोना बिमा समितिकै निर्देशनमा सुरु हुने भएको छ । सरकारले जखिम वहनमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि कोरोना बिमा पुनः सुरु गर्न बिमा समितिले निर्देशन दिएको हो । यसअघि दायित्व बढ्ने अवस्था आएपछि कम्पनीहरूसँगै समिति कोरोना बिमाबाट तर्किएका थिए ।
कोरोना संक्रमितहरूको उच्च गतिमा बढ्न थालेपछि शुक्रबारबाट समितिकै निर्देशनमा बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गरेका थिए । कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश भएको कार्यक्रम हो । कोभिड १९ बिमामा सर्वसाधारणको आकर्षण निकै बढेको छ । बिमा कम्पनीहरूले कोभिड‑१९ को बिमा गर्न सुरु गरेको दुई महिना नपुग्दै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् । हालसम्म बिमा दाबी भने कसैले गरेको छैन ।
बिमा समितिले पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँबराबरको र एक हजार रुपैयाँमा एक लाख रुपैयाँबराबरको कोरोना बिमा गर्न सकिने व्यवस्था गरेको थियो । परिवारकै बिमा गर्दा ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ र एक लाख रुपैयाँका लागि ६ सय रुपैयाँ तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ ।
बिमितले बिमा गरेको १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएमा बिमांकअनुसारको दाबी भुक्तानी पाउनेछन् ।
प्रकाशित समय १५:२४ बजे

















