गृहपृष्ठ डायलासिस वार्डमै मृत्यु भएकी महिलामा संक्रमण पुष्टि, क्वारेन्टिनमा सुत्केरी भएकीलाई पनि कोरोना
डायलासिस वार्डमै मृत्यु भएकी महिलामा संक्रमण पुष्टि, क्वारेन्टिनमा सुत्केरी भएकीलाई पनि कोरोना
सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमै शुुक्रबार मृत्यु भएकी महिलामा कोरोनाका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी सो अस्पतालमा पहिलोपटक डायलासिस गराउन पुगेकी थिइन् ।
डायलासिसअघि गरिएको उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए । मृत्युपछि उनको थ्रोट स्वाबको नमूना पीसीआर परीक्षणका लागि धनगढीस्थित प्रयोगशाला पठाइएको थियो । धनगढी प्रयोगशालाले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ । मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिइन् ।
योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलोपटक कोरोनाभाइरसबाट बाजुराकी दुई वर्षीय बालिकाको मृत्यु भएको थियो ।
सुदूरपश्चिममा आज शनिबार मात्र १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालाका अनुसार बझाङका ६, कैलालीका ६ काठमाडौँका २, अछाम, डढेल्धुरा र कञ्चनपुरका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ सय ६ पुगेको छ ।
कैलालीको गोदावरी नगरपालिका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका- ४ की ५५ वर्षीय मृतक महिला तथा गौरीगंगा नगरपालिकाका १६, १८, २७ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । काठमाडौँका १८ र ३८ वर्षीय पुरुष तथा कञ्चनपुरको महाकाली नगरपालिका- ३ का ३८ वर्षीय पुरुष, र अछामको मंगलशैसन नगरपालिका- १ की ५२ वर्षीय महिलामा पनि आज कोरोना पुष्टि भएको छ ।
यस्तै बझाङमा ६ जनामा कारोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन् । उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए । संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काले बताए ।
क्वोन्टिनमा बसेर सुत्केरी भएकी महिला संक्रमित
डडेल्धुरामा एक सुत्केरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालका निमित्त मेसु डा. जगदीश विष्टका अनुसार नवदुर्गा गाउँपालिका- ४ सिरोडकी २१ वर्षीया सुत्केरी महिला संक्रमित भएका हुन् । जेठ २१ गते सिरोडको क्वारेन्टिनबाट प्रसूति सेवा लिनका लागि डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते सुरक्षित अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
प्रकाशित समय १९:४८ बजे
















