गृहपृष्ठ अर्गानिकको साईनबोर्ड झुण्डाएर जनतालाई अन्याय गर्न मिल्दैन

अर्गानिकको साईनबोर्ड झुण्डाएर जनतालाई अन्याय गर्न मिल्दैन

कर्णाली प्रदेशसभा सांसदहरुले अर्गानिक प्रदेशको साईनबोर्ड झुण्डाएर जनतालाई अन्याय गर्न नहुने बताएका छन् । बुधबार बसेको छैठौं अधिवेशनको दशौं बैठकको विशेष समयमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने विषयमा बोल्दै सांसद धर्मराज रेग्मीले किसानहरुले मल नपाएर हैरान भएको बताए । ‘अर्गानिक प्रदेशको नाममा किसानहरुलाई अन्याय भएको छ । प्रदेश अर्गानिक बनाउनलाई सबैभन्दा पहिले पूर्वाधार निर्माण गर्न जरुरी छ,’ उनले भने । हतारमा अर्गानिक प्रदेश घोषणा गरेर साईनबोर्ड झुण्डाएको कारण जनता झन् अन्यायमा परेको उनको भनाइ थियो ।

आज आफैले बनाएको बजेट कार्यान्वयन हुन सकेन भने कर्णालीका लागि संघीयताको औचित्य नरहने उनले बताए । ‘हिजो केन्द्रले कर्णालीको लागि बनाएको बजेट कार्यान्वयन नहुने अवस्था थियो । आफैंले आफ्नो लागि बनाएको बजेट कार्यान्वयन हुन सकेन भने के अर्थ भो ? उनले प्रश्न गरे । सांसद रेग्मीले कार्यान्वयन हुन सक्नेगरी बजेट निर्माण गर्न सरकारलाई आग्रहसमेत गरे ।

सांसद अमृता शाहीले असार लाग्नै लागेको र कृषकहरुको मानो खाएर मुरी उब्जाउने बेलामा मल नपाउने समस्याले पिरोलेको बताइन् । उनले सरकारका किसानमुखी अभियान ‘अभियान’मा मात्रै सीमित भएको भन्दै वास्तविक किसानलाई त्यसले पीडा दिएको बताइन् । सरकारमा बस्नेहरुले किसानका लागि भएको बजेट आफ्ना निकटकालाई मात्र दिएको उनले आरोप लगाइन् ।

बैठकबाट खाद्य उत्पादन अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५ सर्वसम्मतिले पारित भएको छ । बैठक जेठ ३० गते शुक्रबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित समय २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु