गृहपृष्ठ सावधानी नअपनाउँदा स्वाथ्यकर्मी नै क्वारेन्टिनमा
सावधानी नअपनाउँदा स्वाथ्यकर्मी नै क्वारेन्टिनमा
स्थानीय तहले सूचना लुकाएको आरोप
वीरेन्द्रनगरस्थित क्वारेन्टिन । (फाइल तस्बिर)
सुर्खेतको बराहताल गाउँपालिका- ४, तरंगास्थित भेरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय पुरुषलाई २६ गते राति सर्पले डस्यो । जेठ १७ गते भारतको अहमदावादबाट आएका उनलाई नजिकै रहेको तरंगा स्वास्थ्य चौकीबाट दुईजना स्वास्थ्यकर्मी राति नै आई सामान्य उपचार गरे । २७ गते बिहान बराहताल गाउँपालिकाको एम्बुलेन्स आएपछि उनलाई कर्णाली प्रदेश अस्पतालमा उपचारको लागि लगियो ।
आकस्मिक कक्षमा उनलाई भर्ना गरियो । सर्पले टोकेको बिरामी भनेपछि स्वास्थ्यकर्मीहरुले समेत तत्काल उपचारमा खटिए । जब बिरामीको उपचार सुरु भयो, अनि स्वास्थ्यकर्मीहरुलाई जानकारी भयो कि उनी क्वारेन्टिनबाट आएका बिरामी रहेछन् । उनको तत्काल स्वाब निकाली परीक्षण गरियो । उनको रिपोर्ट पोजेटिभ आयो ।
अस्पतालमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सबैमा त्रास फैलियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काले सर्पले टोकेर आएका बिरामीको उपचारमा खटिएका स्वास्थयकर्मीहरु हाल क्वारेन्टिनमा रहेको जानकारी दिए । उनीहरु सबैको स्वाब निकाली परीक्षण गरिँदै छ । क्वारेन्टिनबाट आएको भनेपछि उपचार गर्दैनन् भनेर बिरामीले नै वास्तविकता नबताएको डा. खड्काको भनाइ छ ।
यसरी सूचना लुकाउँदा भोलिका दिनमा अन्य बिरामीले समेत आकस्मिक उपचार नपाउने भएकाले सूचना लुकाउनेलाई कारबाही गर्नुपर्ने उनी बताउँछन् । यसरी सबैले वास्तविकता ढाँटने हो भने स्वास्थ्यकर्मी सबै क्वारेन्टिन बस्नुपर्ने बाध्यता आउने र अन्य बिरामीले समेत उपचार नपाउने उनको भनाइ छ । उपचारमा खटिएका ६ जना स्वास्थ्यकर्मीले भने पूर्वसावधानी (पीपीई लगायतका सामग्री प्रयोग नगरेरै) विनै उपचारमा खटिएका थिए ।
क्वारेन्टिनमा बस्दै आएका ती पुरुषको आँखामा समस्या भएका कारण उनलाई शौचालय जान लगायतका लागि अन्यले सहयोग गर्दै आएका थिए । भेरी माध्यमिक विद्यालयमा जम्मा ५४ जना बस्दै आएको भए पनि उनीसँगै अन्य ३२ जना सम्पर्कमा रहेको वडा नं. ४ का वडाअध्यक्ष टेकबहादुर कठाएतले जानकारी दिए । उनले क्वारेन्टिनमा बस्दै आएका पुरुषलाई सर्पले टोकेको कुरा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुखलाई समेत जानकारी गराएको बताए ।
‘यो महामारीको समयमा बिरामी अस्पताल आएपछि कहाँबाट आएको हो भनेर स्वास्थ्यकर्मीले सोध्ने काम किन गर्दैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘बिरामीबाट डाक्टरलाई मात्रै नभई डाक्टरबाट बिरामीलाई पनि रोग सर्न सक्छ ।’
उनले सर्पले टोकेको बिरामी बेहोससमेत नभएको र एकजना बिरामी कुरुवासमेत क्वारेन्टिनबाट पठाइएको बताए । एम्बुलेन्स चालकलगायत सबैलाई बिरामी क्वारेन्टिनबाट आएको हो भन्ने जानकारी भएको र वडाले आफ्नो पहुँच भएको स्थानमा यसबारे जानकारी गराएको बताए ।
क्वोन्टिनमै बिरामीको प्राथमिक उपचारमा खटिएका स्वास्थयकर्मीले समेत विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जस्तोसुकै अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले सावधानी अपनाएर मात्रै उपचारमा खटिनुपर्ने प्रावधान रहेको बताए । स्वास्थ्य मापदण्डअनसारको सावधानी आफूले नअपनाउने अनि अर्को तहले ढाँट्यो वा छल्यो भन्न नमिल्ने उनले तर्क गरे ।
प्रकाशित समय १५:४२ बजे
















