गृहपृष्ठ जीवनकालमा एक पटक मात्रै देख्न सकिने दुर्लभ सूर्यग्रहण

जीवनकालमा एक पटक मात्रै देख्न सकिने दुर्लभ सूर्यग्रहण

दुर्लभ ऐतिहासिक सूर्यग्रहण दुई नक्षत्रमा लाग्दै, विश्वमै सकारात्मक परिवर्तनको संकेत

२०७७ साल असार ७ गते आइतबार जुन २१ तारिखका दिन नेपालबाट खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ ।

अपराह्न २ बजेर २३ मिनेटमा पूर्ण रुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरु भएको २ घण्टा ३५ मिनेटपछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।

आइतबार सूर्यग्रहण तथा सोमबार चन्द्रग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ । उक्त ग्रहणलाई चुडामणी ग्रहण भनेर भन्ने गरिएको छ । २०७६ साल पुसमा लागेको खण्डग्रास सूर्यग्रहणभन्दा ठीक विपरीत तरिकाबाट लागेकाले यसको प्रभाव विश्वभर नै सकारात्मक रहने अनुमान गरिएको छ ।

मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाव पर्नेछ । विशेषगरी वृष, मिथुन, बृश्चिक र मीन राशिका जातकहरुका लागि ग्रहणको प्रभाव उच्च रहने छ भने कर्कट, तुला, धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहनेछ । मेष, सिंह, कन्या तथा मकर राशि हुनेका लागि भने शुभ रहने छ । पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका जातकले ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशि हुनेका लागि लाभ र कन्या तथा मकर राशिका जातकका लागि सुख प्राप्ति हुने बताइएको छ ।

असुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलोकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ । यो ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चारवटा राशि अर्थात् २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारको हानिकारक नहुने ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी गराएका छन् ।

धार्मिक नियमअनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्यग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ । ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्टि भैसकेको छ ।

खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्योतिष तथा खगोलविद्हरुले ऐतिहासिक ग्रहण भनेर जानकारी गराएका छन् । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ ।

विशेषगरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पनि पश्चिमी क्षेत्रमा उच्च प्रभावपर्ने अनुमान गरिएको छ । ग्रहको अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्तो समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेको छ । गत वर्ष पुस १० गते लागेको ग्रहण पनि दुर्लभ भनेर भनिएको थियो । उक्त समयमा पनि ६ आवटा ग्रह एकैसाथ धनु राशिमा बसेको अवस्थामा लागेको थियो यसको प्रभाव पूरा विश्वभरीनै परिरहेको छ ।

आइतवार लाग्ने ग्रहणले पनि विशेष गरी महामारी, चोरी डकैती विपरीत बुद्धि हुने भनेर भनिएको छ । बुध व्यापारसँग सम्बन्धित रहेकाले राहु चन्द्रमा र सूर्य सँगसँगै बसेकाले पनि व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रहरुमा यसको उच्च प्रभाव रहने अनुमान गरिएको छ । हवाई दुर्घटना तथा भुकम्प जान सक्ने सम्भावना पनि विगतमा लागेका ग्रहको अनुसन्धानका क्रममा अनुमानित गरिएको छ ।

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग्वेदमा भनिएको छ, ‘अत्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।

पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप रहस्य पत्ता लगाउदै ग्रहणको आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर । ग्रहणको समयमा सूर्यबाट आउने किरणमा नकारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् ।

यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्हरुले यस्ता किसिमका खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका हेर्ने गर्दछन् । खगोल सम्बन्धि अध्ययन गर्नका लागि ग्रहणको समय अति उपयोगी हुने गरेको छ । ऋषि महर्षी हरुले हजारौं वर्ष पहिल्यै खालि आखाले रातको समयमा देखिने तारा तथा नक्षत्र लाई गणना गरेर पत्ता लगाएको खगोल विज्ञानलाई आधुनिक विज्ञानले अर्बौं डलर खर्च गरिसकेका छन् ।

पृथ्वीले आफ्नो अरविटमा नित्य रुपमा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ । चन्द्रमाले पनि पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ । पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४ प्रतिशत मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरका हुन्छौं । परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्यभागमा आउँदछ या एउटै लाईनमा पर्दछ यस्तो अवस्था लाई न्यूमुन अर्थात् अमावस्य भनिन्छ ।

यस्तो अबस्थामा चन्द्रमाले सूर्यको प्रकाशलाई पूर्णरूपमा पृथ्वीमा आउन अवरोध गर्दछ र राहु तथा केतुको पनि पूर्ण छाया परेको अवस्थामा पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो । यहीँ ग्रहण अन्य देशबाट फरक तरिकाले पनि देख्न सकिन्छ ।

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था बन्दछ । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अबस्थामा राहु या केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । सामान्यतया चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण तथा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्दछ ।

ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ । यो ग्रहणमा शिव तथा कालीको साधना बहु उपयोगी हुने उल्लेख गरिएको छ । यस्तो समयमा गरिएको शुभ कर्महरु अन्य समयमा गरिएको भन्दा १०८ गुणाले बढिहुने शास्त्रमा उल्लेख गरिएको छ ।

(लेखक : रिजाल ज्योतिषी एवं वास्तुविद् हुन् ।)

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु