गृहपृष्ठ जनताको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता : राज्यमन्त्री रावत
जनताको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता : राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नागरिकको ज्यान जोगाउनु राज्यको पहिलो दायित्व भएको बताएका छन् । आइतबार सुर्खेतको लेकवेशी नगरपालिकास्थित विभिन्न क्वारेन्टिन र आइसोलेनको अनुगमनपछि स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरुसँग कुरा गर्दै राज्यमन्त्री रावतले उक्त कुरा बताएका हुन् ।
‘जनता रहे मात्र देश रहने हो । त्यसैले अहिलेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्ने कुरालाई पहिलो प्राथमिकता दिएको छ,’ उनले भने । आगामी वर्षको बजेटमा पनि मौलिक हकको रूपमा रहेको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको उनले बताए । ‘नागरिक स्वस्थ नभइ विकास र समृद्धि हुँदैन । त्यसैले नागरिकको स्वास्थ्यका लागि नेपाल सरकार गम्भीर छ,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले पनि स्वास्थ्यलाई ध्यान दिनुस् ।’ उनले अहिलेको विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएका स्वास्थकर्मीहरुको उचित मुल्यांकन गरिने बताए ।
लेकवेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना प्रतिकार्यका लागि स्थानीय सरकार नै बढी जुध्नुपरेको तर संघ र प्रदेश सरकारबाट उचित सहयोग हुन नसकेको गुनासो गरे । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारलाई सक्षम बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित समय २०:२२ बजे

















