गृहपृष्ठ काँकरभिट्टा नाकाबाट कृषि उपज निकासीमा तीन महिनादेखि अवरोध
काँकरभिट्टा नाकाबाट कृषि उपज निकासीमा तीन महिनादेखि अवरोध
सीमा नाकामा विभिन्न बहाना बनाउँदै भारतका प्रान्तीय सरकारदेखि सीमा सुरक्षा बल (एसएसबी)सम्मले नेपाली कृषि उपज निकासी अवरोध गर्दै आएका छन् । विगतदेखि नै विभिन्न बहाना बनाउँदै नेपाली कृषि उपजमा अवरोध गर्दै आएको भारतले करिब तीन महिनायता फेरि नेपाली व्यवसायीलाई सास्ती दिइरहेको छ ।
पूर्वका इलाम र झापा जिल्लाबाट मात्रै ठूलो परिमाणमा अलैँची, अदुवा, चिया, छुर्पी भारतलगायत तेस्रो मुलुक निर्यात हुन्छ । तर, भारतीय एसएसबीदेखि प्रान्तीय सरकारसम्मको रबैयाका कारण नेपाली व्यवसायीले सधैँ सास्ती पाउने गरेका छन् । यसपटक पनि तीन महिनादेखि नेपाली कृषि उपज काँकरभिट्टामा रोकिएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु बताउँछन् ।
उनका अनुसार इलामबाट मात्रै वार्षिक २० अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात हुने गरेको थियो । यसमध्ये चियामात्रै ६ देखि ८ अर्बको निर्यात हुन्थ्यो भने अलैंची र अदुवा करिब ५ देखि ७ अर्बको निर्यात हुन्थ्यो । जिल्लाबाट छुर्पीसहित दूधजन्य पदार्थ पनि अमेरिकासम्म निर्यात हुँदै आएको थियो । ‘तीन महिनादेखि भारतको पश्चिम बंगाल सरकारले काँकरभिट्टा नाका हुँदे भारततर्फ निर्यात हुने नेपालका सबै कृषिजन्य उत्पादनहरू रोकेका छ,’ उनले भने, ‘यसको ठोस कारण देखाएका छैनन् ।’
विगतमा पनि यसैगरी भारतीयहरूले नेपाली उत्पादन रोकेर दुःख दिने गरेका थिए । ‘कतिसम्म गर्थे भने नेपालमा उत्पादित अदुवलाई चीनमा उत्पादित भनेर रोक्ने काम गरे, विगतमा सरकारी तहबाटै पहल भएपछि अदुवा निकासी फुकुवा भएको थियो,’ अध्यक्ष चिपालूले भने, ‘अहिले कोरोना महामारी र लकडाउनका कारण भन्दै रोकेका छन् । यसलाइ खुला गराउन हामीले मेची उद्योग वाणिज्य संघसमेत मिलेर नेपाल सरकार र कोलकातास्थित महावाणिज्यदूतसम्म पहल गरिरहेका छौं तर कुनै निकास निस्किएको छैन ।’ भारतीय रवैयाका कारण गोदाममा करोडौँको अदुवा, चियापत्ती र अलैंची सड्ने अवस्था आएको उनले बताए ।
इलाम उद्योग वाणिज्य संघका सदस्य एवं चिया विज्ञ आरसी नेपालले पनि एकाएक पश्चिम बंगाल सरकारले नेपालका चियालगायतका कृषि उपज रोक्ने काम गरेको बताए । ‘अहिले पश्चम बंगाल सरकारले बिनाकारण नेपाली उत्पादन रोकेको छ,’ उनले भने, ‘यसका पछाडि त्यहाँको खराब नियत स्पष्ट हुन्छ ।’
कोलकाताका चिया व्यापारीले दार्जिलिङको चियाको स्वादभन्दा नेपाली चिया मिठो भएको भन्दै नेपाली चिया लगेर दार्जिलिङ चियाका नाममा बेच्ने गरेका छन् ।
भारतको राज्यसभाकी सांसद शान्ता छेत्रीले जनवरी १ तारिखमा भारतका प्रधानमन्त्रीका नाममा पत्र लेखेर नेपाली चियाले दार्जिलिङ चिया उद्योगलाई मार्ने अवस्था आएको भन्दै नेपाली चिया भारतीय बजारमा प्रवेश रोक लगाउनुपर्ने विज्ञप्ति जारी गरेकी थिइन् । तर, दार्जिलिङको चिया डेढ‑दुई सय वर्ष पुरानो भएकाले त्यहाँको चियाको स्वादभन्दा नेपाली चिया मिठो भएकाले कोलकाताका चिया व्यापारीले नेपाली चिया लगेर दार्जिलिङ चियाका नाममा बेच्ने गरेका छन् । काँकरभिट्टा नाकाबाट नेपाली कृषिजन्य उपज रोकिएपछि अहिले केही व्यवसायीले जोगमनी नाकाबाट कोलकाता चिया पठाउन थालेका छन् । यसरी चिया पठाउँदा प्रतिकिलो १० रुपयाँसम्म महँगो पर्न गएको व्यवसायी बताउँछन् ।
लामो समय निकासी हुन नपाएपछि व्यवसायीले चिया र अलैँची ट्रकमा लोड गरेर लैजाँदै गर्दा भारतीय प्रहरीले रोक लगाएको छ । काँकरभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेको हो । मेची भन्सार कार्यालयका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बंगाल प्रहरी र एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमा रोकिएका हुन् ।
भारतबाट भने जुनसुकै सामान निर्वाध नेपाल भित्रिरहेको छ । अहिले लोड गरिएको २० ट्रक चिया र अलैँची भारतको सिलगढी पठाउन लागिएको हो । पश्चिम बंगाल प्रहरी र एसएसबीले ‘माथिको आदेश’ भन्दै नेपाली कृषि उपज रोके पनि पानीट्यांकी भन्सार कार्यालयले भने भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक नलगाएको जनाएको छ ।
काँकरभिट्टा भन्सार कार्यालयका अनुसार बिहीबार नेपालबाट कृषि उपज बोकेका २३ वटा ट्रक भारततर्फ गए पनि दुई ट्रक अलैँची र एक ट्रक अम्रिसो मात्र भारतीय प्रहरीले जान दिएको छ । लामो अवधिदेखि मेची पुलमा अलैँची र चिया वस्तु अलपत्र रहँदा चोरी हुने तथा बिग्रिन सक्ने चिन्तामा व्यवसायी छन् ।
व्यापार विज्ञ डा. पोषराज पाण्डे गैरभन्सारजन्य अवरोध सिर्जना गरेर नेपाली उत्पादनको निर्यात रोक्नु नेपाल र भारतबीचको द्विपक्षीय व्यापार सन्धिविपरीत भएको बताउँछन् । ‘यद्यपि यो केन्द्र सरकारको निर्णयअनुसार नभई प्रान्त सरकारहरूले गरेको अवरोध भएकाले नेपाल सरकारले उच्चस्तरमा वार्ता गरेर निर्यात अवरोध फुकाउनुपर्छ,’ उनले भने ।
प्रकाशित समय २०:०७ बजे

















