गृहपृष्ठ बलात्कारको मानवशास्त्र
बलात्कारको मानवशास्त्र
बलात्कार नितान्त मानवीय अपराध हो । मानवबाहेक केही प्रजातिका चिम्पाञ्जीहरुमा मात्र बलात्तकारका घटना अवलोकन गरिएको शारीरिक मानवशास्त्रीहरुले उल्लेख गरेको पाइन्छ । नेपाली समाजमा विद्यमान सनातन विश्वास परम्परा र नेपालीकृत आधुनिक शिक्षाको पारस्परिक विरोधाभाषपूर्ण सम्बन्धका कारण बलात्कारजन्य घटनालाई घ्यूमा आगो थपेको छ । यस विषयलाई विषय बहस बनाई करिब एक वर्षदेखि विभिन्न समयमा फरक–फरक उमेर, पेसा तथा सामाजिक ज्ञान समूहसँग कुराग्राफी (गफगाफका माध्यमले गरिने विषयाध्ययन) गरिरहेको छु ।
हाम्रा शैक्षिक ज्ञान उत्पादनहरुमा जटिल र सीमित भए । ज्ञानहरु एकोहोरो आयामबाट उत्पादित भए । उत्पादित ज्ञानहरु सर्वसाधारणको पहुँच र बुझ्न नसक्ने प्रकारका भए । यस आलेखमा भने जटिल सिद्धान्त र बहसभन्दा पनि सरल भाषामा बलात्कार के हो ? बलात्कारजन्य अपराधका उत्प्रेरक तत्वहरु के–के मान्न सकिन्छ ? कानुनी र सामाजिक उपचार के–कस्तो छ ? आदिलाई बहुआयमिक मानवशास्त्रीय दृष्टिकोणबाट नियाल्ने कोसिस गरिनेछ ।
कोरोनाभाइरसबाट हुने कोभिड १९ महामारीले जीवनशैली लथालिंग भइरहेको थियो । केही दिनअघि कैलालीको क्यारेन्टिनमा बसेकी एक महिलामाथि सामूहिक बलात्कारको घटना समाचारहरुमा आएपछि केही त लेख्नैपर्यो भन्ने भयो । यौनहिंसा र बलात्कारका समाचार संग्रहहरु खोतल्न थालेँ । संगृहीत करिब ४०–४५ समाचारहरु कति निक्कै जानकारी र चेतनामुलक थिए भने कति चाहिँ सामान्य सूचना प्रवाह गरिएको थियो । के लेख्ने ? कसरी लेख्ने ? भन्ने भएपछि बलात्कारसम्बन्धी अध्ययन, अनुसन्धान र तिनले निर्माण गरेका सिद्धान्तहरु खोजी गर्दै जाँदा झन्–झन् गहिरो र जटिलतिर पुगियो । लौ ! यो होइन, कसरी सरल भाषामा लेख्न सकिन्छ भनेर कोसिस गरेको छु ।
यौन साथीहरुबीच परस्पर सहमतिबिना गरिने यौन र १८ वर्षभन्दा कम उमेरका यौन साथीसँग मञ्जुरी नै लिएर गरेको भए पनि त्यसलाई बलात्कार (जबर्जस्ती करणी) मानिन्छ । बलात्कारलाई कानुनी रुपमा राज्यविरुद्धको अपराध मानिन्छ भने सामाजिक रुपमा नैतिक अपराध मानिन्छ ।
उमेरसँगै हुने शारीरिक विकासले यौन चाहनको पनि विकास गराउँछ । यौन नितान्त प्राकृतिक क्रिया हो । तर, यौन क्रियाका लागि यौन साथीहरुबीच सम्भोग (सम-भोग) अथवा बराबर सहभागिता र मञ्जुरीको अति आवश्यक हुन्छ ।
बलात्कारी मानिस मानसिक रुपमा बिमार हुन्छन् । साधारणतया आपराधिक मानसिकताका कारण, पितृसत्तात्मक समाजमा मर्दाङ्गी (पुरुषत्व)को अहंका कारण, जातीय विभेदका कारण माथिल्लो जातिका पुरुषले तल्लो जातिका महिलालाई गर्ने शोषणका रुपमा, द्वन्द्वका समयमा सैनिक तथा शाषकहरुबाट, रिस साँध्न, नसामा लिप्त भएर होस गुमाउँदा, कसैको उक्साहटमा आएर अथवा सहमतिमै भएका यौन सम्बन्धहरु पनि विविध गलत नियत (जस्तै : रिस, पैसा, विवाह)का कारणले बलात्कारजन्य घटनाको रुप लिने गरेको पाइन्छ ।
पुरुषमा आफ्नो वंशाणु रक्षा गर्ने क्षमता नभएकाले आफ्नो वंशाणुको रक्षाका लागि महिलाको यौनिकतालाई नियन्त्रणमा लिन्छ भन्ने तर्क मनोविज्ञानमा पाइन्छन् ।
पुरुषमा आफ्नो वंशाणु रक्षा गर्ने क्षमता नभएकाले आफ्नो वंशाणुको रक्षाका लागि महिलाको यौनिकतालाई नियन्त्रणमा लिन्छ भन्ने तर्क मनोविज्ञानमा पाइन्छन् । पुरुषत्व (पुरुष यौनिकता) लाई मर्दाङ्गी रुपमा व्याख्या गर्ने सामाजिक परम्पराका कारण कतिपय पुरुषले आफ्नो पुरुषत्व अथवा मर्दाङ्गी प्रमाणित गर्नका लागि अथवा मर्दाङ्गी मनोविज्ञानले पनि बलात्कारका घटना हुने गरेको पाइन्छ ।
सामान्यतः सुनसान ठाउँ, मान्छेको चहलपहल कम हुने ठाउँ र समय तथा घरमा एक्लै भएका बेला बलात्कारका घटना हुने गरेका छन् । यस्तो ठाउँमा पीडकले पीडितलाई बल, डर आदिको सहाराले आफ्नो स्वार्थ पूरा गर्ने गर्छ ।
मानवशास्त्री प्रतीक्षा बक्सी पुरानो समयमा बलात्कार राजनीतिक अपराधका रुपमा पराजित समूहका महिलालाई यौन दासी बनाउने गरेको र राजनीतिक अस्थिरताको समयमा बलात्कारजन्य अपराध बढ्ने गरेको बताउँछिन् । पितृसत्तात्मक परिवार जहाँ महिलाको यौनिकतामाथि नियन्त्रण हुन्छ, त्यस्तो समाजमा बलात्कारका घटना बढी हुने र महिला पुरुषबीच समानता भएको समाजमा बलात्कारका घटना शून्यप्रायः भएको उनको निष्कर्ष छ ।
अर्का मानवशास्त्री लिन बेनेट र सिलु सिंहको ‘नेपाली स्वास्नी मानिसहरुको कानुनी स्थितिमा परम्परा र परिवर्तन’ अध्ययनले पनि नेपाली समाजमा रहेको गैरहिन्दू समुदायमा महिला र पुरुषका बीच समानता रहेको, यस्तो समाजमा बलात्कारका घटना कम हुने गरेको तर हिन्दू विश्व दृष्टिकोणका मूल्यमान्यतामा आधारित समाजहरुमा पितृसत्ता अथवा महिलाको यौनिकतामा पुरुषको नियन्त्रण हुने समाजमा बलात्कारजन्य अपराध बढी हुने गरेको बताउँछन् । बलात्कार जस्तो अपराधलाई पुरुषको सामान्य गल्तीको रुपमा लिने र महिलाको यौनिकतालाई कुमारीत्व, सती तथा पतिव्रतका रुपमा सर्वस्व सम्पत्ति मानिने भएकाले कतिपय महिलाको इच्छाविपरीत भएको यौन अथवा बलात्कारका घटना पनि महिलाले आफ्नो सामाजिक जीवनको सर्वस्व गुम्ने डरले गुपचुप राख्ने गरेको पाइन्छ । पीडकले हर सम्भव पीडितलाई चरित्रमा प्रश्न उठाउने र सामाजिक जीवन गुमाउने डर देखाएर घटना लुकाउन लगाउने गरेको पाइन्छ ।
पहिले बलात्कारका घटनालाई सकेसम्म पीडितले लुकाउने/दबाउने, पीडक र पीडितबीच आपसी रुपमा मिलाउने, पीडित र पीडकको पारिवारिक स्तरमा घटना मिलाउने तथा घटनाले अलि ठूलो रुप लिएमा स्थानीय मुखिया या पञ्चकोमा मिलापत्र गराउने परम्परा थियो । अधिकांश घटना स्थानीय स्तरमै मिलाइने हुँदा यस्ता घटना न्यायालयसम्म कमैमात्र आइपुग्थे ।
सामाजिक समस्याहरुलाई पहिले जस्तो गुपचुप गराउने परम्परामा परिवर्तन आउँदै छ । शिक्षित पुस्तामा अधिकारहरुको सचेतना, मिडिया, प्रविधिको ज्ञान भएकाले बलात्कार जस्ता सामाजिक अपराधका समाचार प्रवाह गर्ने, पीडितलाई उचित न्यायका लागि सम्बधित निकायमा पुर्याउने, पीडितलाई न्याय र पीडकलाई दण्डको कानुनी उपचार खोज्ने क्रम बढेकाले हिजोआज बलात्कारजन्य घटना बढेको तथ्यांक देख्न सकिन्छ । यद्यपि, अहिले पनि देशभरका थुप्रै बलात्कारका घटना समाचार नै बन्दैनन् । जब केही बलात्कारका घटना पीडक या पीडितका माध्यमबाट राजनीतिक बहसको रुप तानिन्छन्, त्यस्ता घटनामात्र सार्वजनिक समाचारका विषय बन्ने गरेका छन् ।
बलात्कार बढ्नुमा महिलाको भड्किलो पहिरन, संगत, यौनसंगत भिडियोहरु आदिको दोष देखाउने खालका सतही व्याख्या गर्नेहरु पनि छन् ।
यस्ता तथ्यांकका आधारमा नेपाली समाज अपराधउन्मुख छ । नयाँ पुस्तामा विकृति बढी छ । बलात्कार बढ्नुमा महिलाको भड्किलो पहिरन, संगत, यौनसंगत भिडियोहरु आदिको दोष देखाउने खालका सतही व्याख्या गर्नेहरु पनि छन् । तर, अधिकांश महिलासँग गरिएको कुराग्राफीका अनुसार युवापुस्ताबाट भन्दा काका पुस्ता (४५ कटेका अधवैंशे पुरुष)बाट बढी मात्रमा यौन हिंसात्मक घटना हुने गरेको बताउँछन् । उनीहरु सार्वजनिक रुपमा भद्रता प्रस्तुत गर्ने र मौका पाउनेबित्तिकै कुइनो तेर्स्याउने, गोप्य अंगहरुमा आक्रमण गर्ने, काममा लगाइदिने, मौका दिने आदि प्रलोभनमा पारेर नाजायज फाइदा उठाउने गरेका बताउँछन् । विश्वव्यापी रुपमा फैलिएको ‘मि टु’ आन्दोलनका अभियन्ता र सहभागीले पनि प्रायः काका पुस्तालाई पीडक र युवापुस्ता पीडित भएको घटना सार्वजनिक गरेका छन् ।
समाजशास्त्री पियरे बोर्दियु भन्छन्, ‘व्यक्तिले उसले बाँचेको सामाजिक जीवनका मूल्य मान्यताहरु उसको मनोविज्ञानमा सञ्चित हुन्छ र उसले देखाउने हर्कत ती मूल्य मान्यताबाट प्रभावित हुन्छन् । अर्का समाजशास्त्री इमाइल दुर्खिमका अनुसार मानिस सामाजिक प्राणी हो । उसका हरेका क्रियाकलाप सामाजिक मूल्य मान्यताबाट प्रभावित हुन्छ । यसरी हेर्दा बलात्कार जस्तो आपराधिक क्रियाकलापलाई व्यक्तिको सामाजिक जीवनले विकास गरेको मानोवैज्ञानिक परिणामका रुपमा लिन सकिन्छ ।
हाम्रा शैक्षिक ज्ञान उत्पादनहरु सीमित छन् । उत्पादित ज्ञानहरु सर्वसाधारणको पहुँचसम्म पुग्न सकेको पाइँदैन । विविध अधिकार र हितकारी संघसंस्थाहरुले अधिकारको व्याख्या गरे पनि नीति निर्माण तह र आधारभूत शिक्षाको माध्यम हुँदै सर्वसाधारणले अनुभूत गर्न सकेको देखिँदैन ।
हाम्रो आधारभूत शिक्षाले पनि यौन शिक्षालाई सहज सिकाइका रुपमा विकास गर्न सकेको छैन । अर्कोतिर, परम्परागत समाजका मूल्य मान्यता हावी हुँदा व्यवस्थित यौनको सार्वजनिक बहस हुन सकेको छैन । यसको उदाहरणका रुपमा यदाकदा संसदमा उठ्ने यौन बजार व्यवस्थापनको विषयलाई विविध सामाजिक सञ्जाल र मिडियामा खुलेआम अपमान गरिन्छ । सामाजिक मूल्य मान्यताको मिथक जोडेर नैतिक प्रश्न उठाइन्छ ।
आधुनिक शिक्षामा यौन शिक्षामा कमजोरी
पहिलो, आधारभूत शिक्षादेखि नै यौन शिक्षाको स्पष्ट सिकाइमा ध्यान नदिनु ।
दोस्रो, जागिरमुखी शिक्षा प्रणालीका कारण ज्ञान उत्पादनभन्दा पनि प्रमाणपत्र केन्द्रित सिकाइमा जोड दिनु ।
तेस्रो, उत्पादित शैक्षिक जनशक्तिमध्ये एकदमै कमले मात्र जागिर पाउने र बेरोजगारी संख्या गुणात्मक रुपमा वृद्धि हुनु ।
चौथो, पढेको मान्छेले पुख्र्यौली कामकाज गर्न नहुने र जागिर खानैपर्ने सोच पाल्नु ।
पाँचौँ, आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्ने नयाँ सामाजिक मान्यता विकास हुनु ।
छैटौँ, समाजले बिहेलाई मात्र यौन व्यवस्थाको बाटो दिनु । ठूलो उमेरसम्म अविवाहित बस्नेले लामो समयसम्म प्राकृतिक रुपमा हुने यौन चाहनालाई दबाउनुपर्ने । यो समस्यालाई व्यवस्था गर्न नसक्ने युवामा पनि यौन मनोविज्ञानको समस्या देखिन सक्ने ।
मानवशास्त्री मार्क लिट्टीका अनुसार नयाँ पुस्तामा पश्चिमा जीवनशैलीको प्रभाव परेको छ । जब उनीहरुले कल्पना गरेको आधुनिक जीवनशैली र परिवार तथा समाजमा व्याप्त पराम्परागत जीवनशैलीको बीचमा मतान्तर हुन्छ अनि उनीहरु डिप्रेसनमा जाने खतरा हुन्छ । डिप्रेसनका कारण कतिपय युवा कुलत र अन्य आपराधिक क्रियाकलापमा समेल हुने सम्भावना हुन्छ ।
कोरोनाभाइरस महामारी सुरु हुनुअघि नेपाली उद्यमीहरुका बारेमा सामाजिक आर्थिक पक्षहरुको अध्ययन गरेकी पोर्तुगलकी एक सामाजिक विज्ञानका अनुसन्धतासँग कुराग्राफी गरेको थिएँ । उनले लामो समयसम्म प्रवासी जीवन बिताउने पुरुष, श्रीमतीसँग गरिने सहवासलाई मात्र यौनको उपाय मान्ने भएको पोर्तुगलमा आप्रवासी नेपाली पुरुषहरुमा साइकोसोमाटिक अथवा कोरोसिङड्रोम (यौन मनोविज्ञानमा समस्या) देखिएको बताएकी थिइन् ।
अब मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कानुनी उपचारका बारेमा केही चर्चा गरौँ ।
ऐनअनुसार कसैले कुनै महिलालाई उसको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएरै पनि १८ बर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा बलात्कार गरेको ठहर्छ । बलात्कार (जबर्जस्ती करणी)लाई राज्यविरुद्धको अपराध मानिन्छ । कानुनतः कारकाप, प्रलोभन, डरत्रास देखाएर, शरीर बन्धक बनाएर लिएको मन्जुरीलाई मन्जुरी नमानिने, लिंगको केही भाग मात्र मुख, गुद् द्वार र योनीमा पसाए पनि र योनीमा लिंगबाहेक अरु केही छिराएमा पनि बलात्कार मानिन्छ ।
ऐनले १८ वर्षमुनिका बालिकालाई पनि चार भागमा विभाजन गरी सजायको व्यवस्था गरेको छ । पीडित १० वर्षभन्दा कम उमेरकी भए १६ देखि २० वर्षसम्म, १० देखि १४ वर्षसम्मकी भए १४ देखि १६ वर्षसम्म, १४ देखि १६ वर्षसम्मकी भए १२ देखि १४ वर्षसम्म, १६ देखि १८ वर्षसम्मकी भए १० देखि १२ वर्षसम्म र १८ भन्दा बढी उमेरकी महिला भएमा ७ देखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । यसबाहेक सामूहिक बलात्कार, अशक्त वा अपांगता भएकी महिला भए, हातहतियार देखाएर धम्क्याई बलात्कार गरे या आफ्नो संरक्षणमा रहेकी महिलालाई करणी गरे घटनाको प्रकृतिअनुसार थप तीनदेखि ५ वर्षसम्म जेल सजाय हुनेछ ।
ऐनले महिला पीडितको मात्र कानुनी उपचारको व्यवस्था गरेको छ । के यो नितान्त महिला केन्द्रित (महिलामात्रै पीडित हुने) अपराध हो त ?
ऐनले महिला पीडितको मात्र कानुनी उपचारको व्यवस्था गरेको छ । के यो नितान्त महिला केन्द्रित (महिलामात्रै पीडित हुने) अपराध हो त ? पुरुष या अन्य यौनिक समुदायका व्यक्ति बलात्कृत भएमा कानुनी उपचारको बाटो बन्द हुने हो त ? कानुनले व्यवस्था गरेको कानुनी उपचार पर्याप्त छ त ? पीडित महिलाले पाउने न्याय उपचार, मनोवैज्ञानिक उपचार र सामाजिक उपचार पर्याप्त छ त ? यस्ता विविध विषयमा अझै गहन, बहुआयमिक मानवशास्त्रीय अध्ययनको खाँचो छ । उत्पादित ज्ञानहरु शैक्षिक, नीतिगत र सामाजिक बहसहरु ग्रासरुट लेभलसम्म पुग्नु जरुरी छ ।
अन्त्यमा, नेपाली समाजमा अन्तरपुस्ताको बीचको मूल्य मान्यता मतमतान्तर हुनु, हिन्दू विश्वास प्रणालीको पितृसत्तात्मक परिवारमा माहिलाको यौनिकतामा पुरुषको नियन्त्रण हुनु, सार्वजनिक रुपमा यौन विषयमा खुला बहसको वातावरण नहुनु, परम्परागत स्थापित यौन व्यवस्थापनको विवाह पनि आफ्नो खुट्टामा उभिनुपर्ने कारण ठूलो उमेरसम्म युवाहरु अविवाहित नै रहनुपने, यौन व्यवस्थापनका वैकल्पिक उपायहरु सुरक्षित यौन बजारको व्यवस्था नहुनु आदिले केही मानिस डिप्रेसनमा जाने र यौन व्यवस्थापन गर्न नसक्दा बलात्कार जस्तो आपराधिक क्रियाकलापमा सामेल हुने गरेको पाइन्छ ।
युवापुस्तामा आएको अधिकार सचेतनाका कारण बलात्कारका घटना कानुनी उपचारका लागि सम्बन्धित निकायमा उजुरी दिने गरेको र यस्ता घटनाको सार्वजनीकरण गर्ने गरेका कारण हिजोआज बलात्कारको तथ्यांक बढ्ने गरेको हुनसक्छ । नेपालको परिवेशमा बलात्कार जस्तो घटनाको अध्ययन गर्न नेपाली समाजको सामाजिक र न्यायिक परम्पराको ऐतिहासिक पृष्ठभूमि र सामाजिक क्रमविकासका प्रक्रिया बुझ्नु र बुझाउनु मानवशास्त्रीय अध्ययन उपयोगी र आवश्यक छ ।
प्रकाशित समय १२:१९ बजे

















