गृहपृष्ठ गगन थापा भन्छन्- सभामुख महोदय ! यो कानुनबाट हामी बच्नेवाला छैनौँ ?

गगन थापा भन्छन्- सभामुख महोदय ! यो कानुनबाट हामी बच्नेवाला छैनौँ ?

सांसद गगन थापाले नयाँ ऐन बनाएर जाँदा आफैँ फस्ने खालको कानुन बनाउन नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभा उनले भने, ‘विधेयकको दफा १० मा रहेको कुनै पनि व्यक्ति वा संस्थालाई सार्वजनिक सञ्चारमाध्यम वा विद्युतीय श्रव्यदृश्य सबैलाई निगरानी गर्न, अनुगमन गर्न र टेलिफोनलाई रेकर्ड गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि मुख्य अनुसन्धान निर्देशक या निर्देशकसँग अनुमति लिएर गर्न सकिने व्यवस्था छ । यसको चरम दुरूपयोग हुन्छ । यसको भयानक दुरुपयोग हुन्छ ।’

अहिले पनि एउटा मन्त्रीज्यूले अर्को मन्त्रीज्यूसँग टेलिफोनभन्दा ह्वाट्स एपमा कुरा गर्न थालेको सुन्नमा आएको उदाहरण पेस गर्दै उनले ‘टेलिफोन रेकर्ड हुने हो कि भनेर मन्त्रीज्यू अहिल्यै तर्सिरहनुभएको अवस्थामा’ यसलाई सिधै पारित गर्न नहुने स्पष्ट पारे । ‘अहिल्यै यस्तो अवस्था छ भने यसलाई अदालतबाट स्वीकृति लिनु नपर्ने र पार्लियामेन्ट्री कुनै पनि ओभरसाइड एजेन्सीले हेर्न नपाउने व्यवस्था गर्दै गर्दा सरकार सञ्चालन गर्ने मानिसले यसको चरम दुरुपयोग गर्न सक्छ,’ सांसद थापाले भने, ‘सभामुख महोदयसमेत र यो बन्ने कानुनबाट हामी कोही बच्नेवाला छैनौँ । यसलाई यही अवस्थामा पारित नगरौँ । कि संसदले हेर्नुपर्छ कि त सर्वोच्च अदालतबाट स्वीकृति लिनुपर्छ ।’

उनले नेपालको इन्टेलिजेन्स डिपार्टमेन्ट (खुफिया विभाग)लाई भारत र अमेरिकाको जस्तै देशभित्र र बाहिर हेर्ने छुट्टाछुट्टै निकायको रुपमा विकास गर्नेपएने बताए । ‘ऐन र त्यसपछाडिको केही संशोधनले पनि समेट्न नसकेका थुप्रै विषय नियमावलीबाट सञ्चालन भइरहेकोमा अब ऐनमै समेटिँदै छ, यो खुसीको कुरा हो,’ सांसद थापाले भने, ‘तर यसलाई अलि फरक तरिकाले पनि सोचौँ, भारतमा ‘रअ’ र इन्टेलिजेन्स ब्युरो (आइबी), अमेरिकामा एफबिआई र सिआइएको व्यवस्था भएजस्तै नेपालमा पनि देशभित्र र बाहिर हेर्नेगरी विशिष्ट र भिन्न क्षमता भएको गुप्तचरी निकाय किन नबनाउने ?’

हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गुप्तचर निकायको काम गरिरहेको छ ।

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु