गृहपृष्ठ ‘बुहारी’लाई नागरिकता दिलाउन सांसदको रोइलो
‘बुहारी’लाई नागरिकता दिलाउन सांसदको रोइलो
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएपछि मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरूले गम्भीर असहमति जनाइरहेका छन् । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह, जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्रराय यादव, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र प्रदिप यादवहरु यसबाट बढी आक्रान्त छन् ।
उनीहरूले मौका पाउनेवित्तिकै जुनसुकै फोरममा पनि विधेयकको विरोध गरिरहेका छन् । विधेयकले नेपाली नागरिकसँग बिहे गरेर आउने ‘बुहारी’ले सात वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
उनीहरूले नेपालसँग बिहे गर्ने भारतीय चेलीले नागरिकता पाउनुपर्ने तर्क गरे पनि किन पाउनुपर्ने ? भन्ने तर्क गर्दैनन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद महेन्द्रराय यादवले सरकारले मधेसी मोर्चाहरूसँगका विगतमा सम्झौता लत्याउँदै नागरिकता विधेयक पारित गर्ने दिशामा अघि बढाएको बताए । ‘नागरिकता विधेयक मधेसी मोर्चासँगको सम्झौता र मेधस आन्दोलनको भावना विपरीत छ,’ उनले भने, ‘सरकारले यसलाई भुल्नु हुँदैन ।’ नेपालीसँग बिहे गरेर आउने भारतीय चेलीले नागरिकता पाउन किन सात वर्ष कुर्नुपर्ने ? भन्दै प्रश्न गरे ।
त्यस्तै अर्का सांसद प्रदिप यादवले पनि चर्को स्वरमा नागरिकता विधेयकको विरोध गरे । मधेसीसँग बिहे गरेर आउने जोसुकै चेली पनि पुरुषप्रति वफादार हुने भएकाले नागरिकताका लागि सात वर्षसम्म कुराउनु गम्भीर गल्ती भएको उनले बताए । ‘मधेसीसँग बिहे गरेर आउनेहरू सांस्कारिक हुन्छन्, उनीहरू आफ्ना पुरुषप्रति वफादार हुन्छन्,’ उनले भने, ‘तर सात वर्षसम्म नागरिकता नदिएर उनीहरूलाई सबै किसिमका अधिकारबाट वञ्चित गर्न मिल्दैन ।’ नेपाली पुरुषसँग बिहे गर्ने भारतीय चेलीले लोकसेवा लड्न नपाउनेजस्ता अफ्ठ्यारा आउने भएकाले गलत भएको बताए ।
सदनमा कानुनी तर्क अन्य देशको अनुभवभन्दा पनि उनी भावनात्मक रुपमा प्रस्तुत भएका थिए । उनीमात्र नभई अधिकांश मधेस केन्द्रित दल र अन्य दलका मधेसी नेता नागरिकताका विषयमा भावनात्मक रुपमा उभिने गरेका छन् । तर, उनीहरूलाई भारतीय नागरिकताको व्यवस्था र भारतीय पुरुषसँग बिहा गर्ने नेपालीको अवस्थाबारे कुनै चिन्ता छैन ।
प्रकाशित समय १५:१४ बजे

















