गृहपृष्ठ कोरोनाको उच्च संक्रमण : संक्रमितको संख्या एक करोड नजिक पुग्यो
कोरोनाको उच्च संक्रमण : संक्रमितको संख्या एक करोड नजिक पुग्यो
एकै दिनमा थपिए दुई लाख संक्रमित, ५३ लाख ५७ हजार डिस्चार्ज
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै २ लाखभन्दा बढी कोरोनाका बिरामी थपिएपछि संक्रमितको संख्या ९९ लाख चार हजार ९५७ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको छ । ज्यान गुमाउनेको संख्या पनि पाँच लाखको नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ६८० जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या चार लाख ९६ हजार ८६६ पुगेको हो ।
कुल संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ५७ हजारभन्दा बढ्री संक्रमितहरु उपचारपछि घर फर्किएका छन् भने ४० लाख ५० हजार उपचाररत छन् । उपचाररतमध्ये पनि ५७ हजार ६४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी फैलिएको अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । एकै दिनमा ४७ हजार ३४१ जना थपिएपछि संक्रमितको संख्या २५ लाख नाघेको हो । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा २५ लाख ५२ हजार ९५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६४० पुगेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ६६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १० लाख ६८ हजार जना उपचारपछि घर फर्किएका छन् भने १३ लाख ५६ हजार जना उपचाररत छन् ।
ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १२ लाख ८० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४६ हजार ९०७ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा संक्रमितको संख्या १२ लाख ८० हजार ५६ पुगेको हो । त्यस्तै ६ लाख ९७ हजार ५२६ जनाको सफल उपचार भएको छ भने पाँच लाख २६ हजार संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित समय ०९:०४ बजे

















