गृहपृष्ठ पीसीआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै

पीसीआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै

पीसीआर परीक्षण ल्याब । (फाइल तस्बिर)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड- १९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड- १९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीले जानकारी दिए ।

उनका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिनेछ ।

अहिले मुलुकभर २३ स्थानमा पीसीआर विधिबाट कोभिड- १९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित संक्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड- १९ को पीसीआर विधिबाट परीक्षण हुनेछ ।

नयाँ ठाउँबाट कोभिड- १९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पीसीआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु