गृहपृष्ठ बिच भलिबल कोर्ट संरक्षणमा चरम लापर्बाही

बिच भलिबल कोर्ट संरक्षणमा चरम लापर्बाही

१३औँ सागका लागि पोखरा तालबाराही मन्दिर घाटमा निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले अस्तव्यस्त भएको छ । करिब ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएका चारवटा बिच भलिबल कोर्ट संरक्षणमा सागपछि कसैको नजर नपर्दा अस्तव्यस्त बनेका हुन् ।

कोर्टमा न ढलको उचित निकास छ, न ग्राउन्ड व्यवस्थापन, न त तार जाली नै । अहिले भलिबल कोर्ट जताततै झारैझार पलाएको छ । कतै ढलको निकास नहुँदा ग्राउन्डमा पानी जमेको छ । प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा भलिबल कोर्ट निर्माण भए पनि संरक्षणको दायित्व कसैले लिएको छैन ।

साग सम्पन्न भएको चार महिना बित्दै गर्दा खेल पूर्वाधार ध्वस्त बन्दै छन् । ग्राउन्ड संरक्षणका लागि पहल भइरहेको राखेप सदस्य राजेश गुरुङ बताउँछन् । ‘बिच भलिबल विदेशी पर्यटकलाई आकर्षण गर्ने माध्यम भएको छ, यसलाई व्यवस्थित गर्न होटल व्यवसायी पनि लाग्नुपर्ने हो तर त्यो देखिएन,’ उनले भने । भौतिक संरचना तयार गर्न बजेट अभाव रहेको उनले बताए । ‘खेल जगत पनि राज्यको सम्पत्ति हो, यसको उचित संरक्षण गर्न भोलिका दिनमा होटल व्यवसायीले पनि सहयोग गनुपर्छ,’ उनले भने ।

अहिले बिच भलिबल कोर्टको अवस्था दयनीय छ । कास्की भलिबल संघका अध्यक्ष भीम पराजुली बिच भलिबल कोर्टको संरक्षण गर्ने दायित्व भलिबल संघसँग आबद्ध सबै निकायको हुनुपर्ने बताउँछन् । ‘हामीले यति मेहनतका साथ बिच भलिबल कोर्ट सञ्चालन गर्‍यौँ तर अहिले राज्यको सम्पत्ति बालुवामा पानी हालेसरह भइरहेको छ,’ उनले भने ।

पोखरामा सम्पन्न १३औँ सागअन्तर्गतको बिच भलिबल प्रतियोगिता यही कोर्टमा भव्य रुपमा सफल भएको थियो । ‘अहिलेको यो जीर्ण अवस्थाको ग्राउन्ड देख्दा आत्माबोध हुन्छ, भएको संरचनालाई पनि संरक्षण गर्न सकेनौँ,’ उनले भने । बारम्बार यस विषयमा सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए ।

भएका संरचनाको संरक्षण हुन नसक्दा खेलसँगै अन्य पूर्वाधार निर्माणका क्षेत्र पनि पछि परेका छन् । पर्यटकीय क्षेत्रमा रहेको बिच भलिबल कोर्टले गण्डकी प्रदेशको राजधानी पोखराको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणका कारण खेल गतिविधिमा प्रभाव परिरहेका बेला पूर्वाधार संरक्षणमा पनि चासो नदिनु गलत भएको स्थानीय बताउँछन् ।

बिच भलिबल कोर्टलाई सम्बन्धित निकायले स्वामित्व लिएर व्यवस्थापन गरेमा आगामी दिनमा टुरिज्म राम्रो हुने पर्यटन व्यवसायी सूर्य भुजेलले बताए । ‘बिच भलिबल, टेनिस विदेशीहरुको लोकप्रिय खेलअन्तर्गत पर्छन् । सही समयमा टुर्नामेन्ट गर्न सके बिच भलिबलका लागि विदेशी पर्यटक ल्याउन सकिन्छ,’उनले भने, ‘मूलतः यसको संंरक्षणको दायित्व राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रही दीर्घकालीन रुपमा पोखरा टुरिज्म र जिल्ला विकास खेलकुद समितिले संयुक्त रुपमा पहल गर्नुपर्छ ।’

पोखरा पर्यटकको लागि रोजाइको सहर भएकाले कसैले स्वामित्व लिए पर्यटन व्यवसायी र संस्थाहरुले पनि वित्तीय सहयोग गर्न सक्ने उनी बताउँछन् । ‘बिच भलिबलले गर्दा आन्तरिक र बाह्य दुवै पर्यटक भित्रिने विश्वास छ, यसलाई छिटोभन्दा छिटो बनाउनुपर्ने हुन्छ,’ पर्यटन व्यवसायी भुजेल भन्छन्, ‘लकडाउन खुल्ला, नखुल्ला विदेशी पर्यटक आउलान्/नआउलान् त्यसमा निर्भर नरही आन्तरिक पर्यटकलाई पनि यसले राम्रो सहयोग पुग्ने हुँदा बिच भलिबल कोर्ट छिटो बनाउन सकेमा पोखराको पर्यटनमा ठूलो फाइदा पुग्छ ।’

फेवातालको आडमा रहेको यो कोर्टबाट हिमालको मनमोहक दृश्यावलोकन गर्दै खेल्न पाउँदा विदेशी खेलाडी निकै रमाएका थिए ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु