गृहपृष्ठ ओली-प्रचण्डबिचको ‘निर्णायक’ वार्ता सकियो
ओली-प्रचण्डबिचको ‘निर्णायक’ वार्ता सकियो
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिचको निर्णायक भनिएको वार्ता भर्खरै सकिएको छ । बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो पक्षका साक्षी नेतासहित करिब डेढ घण्टा छलफल गरेका थिए ।
छलफलमा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी थिए । छलफलको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल र माधव नेपाल पक्षको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन् ।
दुवै अध्यक्ष आ-आफ्नो अडानबाट पछि हटेका छैनन् । शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ-आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए । सरकारले पार्टी विभाजन र संवैधानिक नियुक्तिसम्बन्धी विवादस्पद दुई अध्यादेश ल्याएपछि नेकपाभित्र विवादको विजारोपण भएको थियो । केही दिनअघि प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत र काठमाडौंबाटै चलखेल भइरहेको बताएपछि अध्यादेश फिर्ता लिइए पनि साम्य हुन नसकेको विवाद उत्कर्षमा पुगेको हो ।
प्रकाशित समय १४:१३ बजे

















