गृहपृष्ठ नेप्से १० अंकले घट्दा ६३ कम्पनीको मूल्यवृद्धि, १ अर्बको कारोबार
नेप्से १० अंकले घट्दा ६३ कम्पनीको मूल्यवृद्धि, १ अर्बको कारोबार
लगातार तीन दिन बढेर बुधबार करेक्सन हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६३ कम्पनीको मूल्य बढेको छ । तीन दिनमा ७१ अंकले बढेको नेप्से बुधबार १०.१३ अंकले घटेर १३२६.५३ अंकमा झरेको छ ।
कुल १७९ कम्पनीको कारोबार हुँदा ६३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधबार २९ लाख ७७ हजार ७०६ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख रूपैयाँबराबरमा किनबेच भएको छ ।
व्यापार र म्युचुअल फन्डबाहेकका सबै उपसमूह ओरालो लागेका छन् भने होटल समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले घटेको छ । साताका तीन दिन नै उचालिएको होटल समूह अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेका कारण घटेको हो । अन्य समूहका लगानीकर्ताले पनि बुधबार नाफा बुक गरेका छन् ।
बुधबार सबैभन्दा धेरै सूर्योदय लघुवित्तका लगानीकर्ताको सम्पत्ति ९.८८ प्रतिशत बढेको छ । यससँगै सूर्योदयको सेयर मूल्य प्रतिकित्ता ८०१ रूपैयाँ पुगेको छ । त्यस्तै आशा लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्सलगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ । बुधबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक २५ करोड ५८ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।
प्रकाशित समय १६:५७ बजे

















