गृहपृष्ठ भारतीय गुप्तचर प्रमुखहरू काठमाडौंमा ?

भारतीय गुप्तचर प्रमुखहरू काठमाडौंमा ?

RAW_NewsKarobar

प्रधानमन्त्री केपी ओलीको पदीय बहिर्गमनको मुद्दा चर्किँदै गर्दा मुलुकमा विदेशी चलखेल बढेको छ । चिनियाँ राजदूत हाउ यान्छीले सक्रिय रूपमा सत्तारूढ दल नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटघाट बाक्लो बनाएको बेला भारतीय पक्षले पनि सक्रियता बढाएको छ ।

भारतीय दैनिक पायोनियरले नेपालमा भारतका प्रमुख दुई गुप्तचर निकायहरू रिसर्च एन्ड एनालिसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल र इन्टेलिजेन्स ब्युरो (आईबी)का प्रमुख अरबिन्द कुमार काठमाडौंमा सक्रिय भएको लेखेको छ ।

सो अखबारका अनुसार नेपालले लिपुलेक, कालापानी लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि बढेको तिक्तता कम गर्न संविधान संशोधनका विषयमा भएका क्षति कम गर्न भारतीय गुप्तचर निकाय प्रमुखहरूले नेपालका नेताहरूसँग भेट गरेका हुन् ।

भारतीय रक्षा सल्लाहकार अजीत डोभाल आफैंले यो छलफल प्रक्रियालाई नजिकबाट नियालिरहेको भन्दै सो अखबारले भारतीय गुप्तचर प्रमुखहरूले हालसम्म नेकपा नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशवप्रसाद बडालसँग भेट गरिसकेको लेखेको छ ।

यस्तै, प्रधानमन्त्री ओलीका नजिकका शंकर पोखेरेल, वर्षमान पुन र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, सिटौलासँग पनि भेट गरेको सो अखबारले उल्लेख गरेको छ ।

अखबारका अनुसार समाजवार्दी पार्टीका नेताहरू उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि भेटघाटमा सहभागी थिए ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले ट्विट गरेका छन्- ‘घरघरमा एउटा छिमेकीको राजदूतको दौडधुपसँगै अर्को छिमेकीका खुफिया एजेन्सीका अधिकारीको नेताहरूसँगको भेटघाटको खबर आएछ । ठूला दलहरूले अपनाएको सत्ताकेन्द्रित निकृष्ट राजनीतिक अभ्यासको परिणाम हो यो। धिक्कार छ !’

यद्यपि, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. भट्टराईले यस्ता खालका कोही पनि व्यक्तिसँग आफूले नभेटेको र नेपालमा आएको विषयमा समेत आफूलाई कुनै जानकारी नै नभएको बताएका छन् । ‘यो तहका कुनै विदेशी उच्च अधिकारी नेपालमा आएको भए केही न केही जानकारी हुन्थ्यो, यो समाचारका कुनै ठोस आधार छैन,’ डा. भट्टराईले भने ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु