गृहपृष्ठ नेपाल रेडक्रस र कोकाकोला नेपालको पहिलो चरणको सुरक्षा सामग्री वितरण जारी

नेपाल रेडक्रस र कोकाकोला नेपालको पहिलो चरणको सुरक्षा सामग्री वितरण जारी

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोकाकोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मी र अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निःसंक्रामक वस्तु उपलब्ध गराउने रहेको छ ।

यो साता नेपाल रेडक्रस र कोकाकोला नेपालका प्रतिनिधिको उपस्थितिमा पहिलो चरणको वितरण कार्यक्रमअन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । सुरक्षा सामग्री वितरण कार्यक्रम असार १६ गतेबाट सुरु गरिएको हो । हालसम्ममा ९५० थान एन ९५ मास्क, २६५ थान सुरक्षा बुट, स्यानिटाइजर १८०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३०० र १३१०२ थान साबुन वितरण भइसकेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोभिड १९ विरुद्धको लडाइँमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो र यो चिकित्सक र नर्सका लागि प्रेरणा भएको बताए । कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. चुमनलाल दासले यो महामारीमा सेवाको लागि चाहिने सामग्री प्रदान गरेकोमा रेडक्रस र कोकाकोला नेपालप्रति आभार व्यक्त गरे ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले स्वास्थ्य संस्थाहरुले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर गरिरहेका सबै काम र साहसी प्रयास कृतज्ञताका हकदार रहेको बताए । ‘हामी यहाँ स्वास्थ्यकर्मीको सहयोगका लागि छौं जबकि उनीहरु हामी सबैको हेरचाह गरिरहेका छन्,’ उनले भने ।

प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेतस्थित मध्यपश्चिम अस्पताल र सुदूरपश्चिमाञ्चलस्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना रहेको नेरेसोका निर्देशक दिव्यराज पौडेलले बताए ।

प्रकाशित समय २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु