गृहपृष्ठ सरकारले बेवास्ता गरे आन्दोलनका कडा कार्यक्रम ल्याउँछौँ : विप्लव अधिकारी

सरकारले बेवास्ता गरे आन्दोलनका कडा कार्यक्रम ल्याउँछौँ : विप्लव अधिकारी

स्वदेशी उद्योगको प्रवर्धनमा सरकारले बेवास्ता गरेको भन्दै सोमबारदेखि नेपाल औषधी उत्पादक संघ आन्दोलनमा छ । काठमाडौँको बिजुलीबजारस्थित औषधी व्यवस्था विभागअगाडि संघले धर्ना दिएको हो । धर्नाका कार्यक्रम बुधबारसम्म रहने संघका महासचिव एवं इन्नोभेटिभ फर्मा ल्याबका सञ्चालक विप्लव अधिकारी बताउँछन् । शान्तिपूर्ण धर्नालाई बेवास्ता गरिए आन्दोलनका कडा कार्यक्रम ल्याउने उनले बताए । संघको आन्दोलन, औषधी उत्पादनको अवस्थालगायतका विषयमा महासचिव अधिकारीसँग बविता तामाङले गरेको संक्षिप्त कुराकानी :


तपाईंहरुको आन्दोलन खास के को लागि ?

हामीलाई सरकारले विभिन्न समयमा नेपाली औषधी तथा औषधी उद्योगको प्रवर्धनका लागि नीतिगत निर्णयहरु गरेको छ । कुन समयमा कस्ता औषधी आयात नगर्ने, कम्पनीहरु दर्ता नगर्ने भन्ने खालका निर्णयहरु भएका छन् । तर, ती निर्णय कार्यान्वयन भएनन् । हामीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यूलाई पनि १८ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका थियौँ । त्यसको पनि स्पष्ट सुनुवाइ भएन । अहिले नेपालमा आत्मनिर्भर भइसकेको र पूर्ण गुणस्तर भएको नेपाली स्यानिटाइजर बजारमा भएका बेला बिनादर्ता र गुणस्तरहीन स्यानिटाइजर परीक्षणका लागि बिक्री भइरहेको छ । यसले हामीलाई निरुत्साहित बनाएको छ, हामीमाथि खेलिरहेको महसुस भएको छ । त्यसकारण यो विषम परिस्थितिमा पनि सडकमा आउन बाध्य भयौँ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन असर सर्वत्र परिरहेको छ, यही समयमा माग पूरा गराउन आन्दोलनमा जानु कतिको जायज छ ?

लकडाउनको समयमा नेपाली औषधी उद्योगले आफूले बनाउने कुनै पनि उत्पादन अभाव हुन दिएनौँ । स्यानिटाइजर हिजो भारतले निकासी नगर्दा र चीनबाट नआउने अवस्थामा पनि नेपाली उद्योगले कहीँबाट बोतल खोजेर, राति‑राति बसेर कहीँ बिर्को, कहीँ लेभल गरेर सबै उत्पादन बजारमा पुर्‍यायौँ । यो परिस्थितिमा हामी सक्षम भइसकेर पनि बिनादर्ता र गुणस्तरहीन स्यानिटाइजर बजारमा ल्याउनु हामीविरुद्धको षड्यन्त्र हो । यस्तो समयमा नेपाली उद्योगी चुप लागेर बस्नु हुँदैन भनेर विषम परिस्थितिमा पनि आन्दोलनमा आउन बाध्य भएका हौँ । शान्तिपूर्ण आन्दोलनमा बेवास्ता भए कडा कार्यक्रम लिएर आउँछौँ ।

नेपालमा कति औषधी उद्योग छन् ? नेपाली उत्पादनले आन्तरिक माग धान्छ ?

बजारको हिसाबले ४५ प्रतिशत हिस्सा नेपाली उत्पादनले ओगटेको छ । उत्पादनको हिसाबले चाहिँ अहिलेको स्थितिमा ७५ प्रतिशत औषधीमा नेपाल आत्मनिर्भर भइसकेको अवस्था छ । अहिले ६४ वटा उद्योग सञ्चालनमा छन् । थप ३० वटा उद्योग आउँदो वर्ष थपिँदैछन् ।

ती उद्योग थपिएपछि हामी एलोपेथिक औषधीमा आत्मनिर्भर हुन्छौँ ?

केही औषधीमा गाह्रो होला तर धेरैजसोमा आत्मनिर्भर हुन्छौँ । सरकारले नीतिगत रुपमा सहयोग गर्ने हो भने हामी दुई वर्षभित्रमा ९५ प्रतिशत औषधीमा आत्मनिर्भर बन्न सक्छौँ । यो निजी क्षेत्रले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । २०२९ सालदेखि सुरु भएको नेपाली औषधी उद्योगको इतिहास अहिले आएर हामी आत्मनिर्भर बन्न सक्नेसम्म आइसकेको छ । सरकारले यसलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्छ ।

औषधीको कच्चा पदार्थको स्थितिचाहिँ के छ ?

विश्वका अधिकांश देशले औषधीको कच्चा पदार्थ आयात गर्छन् । नेपालले पनि बढीभन्दा बढी कच्चा पदार्थ चीनबाट आयात गर्छ । बंगलादेशले ९५ प्रतिशत आयात गर्छ । विश्वको ठूलो औषधी उत्पादकमध्येमा पर्ने भारत स्वयंले चीनबाट ल्याउँछ । औषधीको कच्चा पदार्थ उत्पादन अत्यन्तै खर्चिलो हुने भएकाले हाम्रा लागि पनि आयात नै प्राथमिकतामा परेको छ । स्यानिटाइजरको कच्चा पदार्थ स्वदेशी नै हो । त्यसकारण सरकारले यसमा विशेष ध्यान दिएर आयात रोक्ने तथा बिनादर्ता उत्पादन गर्न नदिन कठोर कदम चाल्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो । जुन औषधीमा हामी आत्मनिर्भर हुन्छौँ, त्यो औषधी विदेशबाट ल्याउनु हुँदैन ।

अहिले नेपाली औषधी उद्योगले भोग्नुपरेका समस्या खास‑खास समस्या के हुन् ?

मूल कुरा आयातकै हो । हाम्रो देशमा सबै उद्योगीले भोग्नुपरेका समस्या एकै खालका छन् । हामी आत्मनिर्भर र सक्षम भएका उत्पादन पनि सरकारले विदेशबाट भित्रिन दिइरहेको छ । यसले नेपालको अर्थतन्त्र पनि तहसनहस भएको छ । यो समयमा औषधी आयात हुनबाट रोक्न सक्यौँ भने देशलाई धेरै हिसाबले फाइदा हुन्छ र उद्योग पनि फस्टाउँछ ।

सरकारले नियमन गर्न नसक्दा औषधी उत्पादकहरुबाट गैरकानुनी काम पनि भइरहेका छन् । संघले यो आरोपलाई कसरी लिइरहेको छ ?

अवैध रुपमा औषधी उत्पादन भइरहेको छ भने नियन्त्रण गर्नुपर्छ । औषधी भनेको मानिसको जीवनसँग सम्बन्धित छ । यसमा खेलवाड गर्न मिल्दैन । औषधी उत्पादक संघ सधैँ यस्ता कार्यको विपक्षमा रहन्छ । त्यस्ता खालका क्रियाकलाप भएका छन् भने तिनलाई कडाभन्दा कडा कारबाहीको दायरमा ल्याउनुपर्छ ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु