गृहपृष्ठ बीपीले देखाएको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहन्छ : सभापति देउवा

बीपीले देखाएको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा सोमबार उनले बीपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अँगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस अग्रसर रहने बताएका छन् ।

यसैगरी कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बीपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्‍याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका छन् । उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र संगीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी थिए । उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेका थिए । कांग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बीपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ । (रासस)

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु