गृहपृष्ठ गाईजात्रा : नेपाली समाजको सच्चा दर्पण
गाईजात्रा : नेपाली समाजको सच्चा दर्पण
फाइल तस्बिर
गाईजात्रा १६औँ शताब्दीको सुरु वा उपत्यकामा प्रताप मल्ल राजा भएको समयदेखि चलिआएको ऐतिहासिक प्रमाण पाइन्छ । प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको बिफरको रोगबाट मृत्यु भयो । छोरा मरेपछि रानी केही वर्ष अति शोकाकुल भइन् । केही गर्दा पनि रानीको मन नबुझेपछि राजाले उपत्यकामा मृत्यु हुने व्यक्तिको घरबाट मानिसलाई गाईका बनाएर, सके साँच्चै गाईलाई सिंगारेर पूजाआजा गरी भजनकीर्तन गर्दै मृतकको सम्झना गरी जात्रा निकाल्ने प्रचलन सुरु भयो। यसैलाई गाईजात्रा भन्ने गरिन्छ ।
त्यसबेला रानीलाई शोकबाट राहत दिन विभिन्न हास्यव्यंग्यका चर्तिकला र प्रहसन सुरु भएको मानिन्छ । भाद्र कृष्ण प्रतिपदा तिथिमा मनाउने गाईजात्रा नेवारी समाजको बसोबास भएका नेपालका विभिन्न ठाउँहरू जस्तैः भोजपुर, संखुवासभा, धनकुटा, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, बनेपा, पनौती, नुवाकोटको साततले दरबार परिसर, त्रिशूली, बट्टार, बेत्रावती, देवीघाट, बेलकोटगढी नगरपालिकाको दुईपिपल डबली, तारुकामा समेत मनाइन्छ । पश्चिमतर्फ धादिङ, गोरखा, तनहुँ, पर्वत, पोखरा, स्याङ्जालगायत नेपालका थुप्रै ठाउँहरुमा यो पर्व मनाइन्छ ।
गाईजात्रा र हास्यव्यंग्यको सम्बन्ध
नेपालमा गाईजात्रा राणाकालीन समयमा पनि मनाइन्थ्यो । त्यतिखेर श्री ५ र श्री ३ सरकारप्रति कुनै व्यंग्य गर्न छुट्टै पाइँदैनथ्यो । २००७ सालको क्रान्तिपछि गाईजात्राको अवसरमा व्यंग्य लेख, कविता, प्रहसन र कार्टुनमार्फत व्यंग्य प्रहार गरेको इतिहास छ ।
२०१७ सालदेखि २०४६ सालसम्म
तीस वर्षको अवधिमा श्री ५ बाहेक पञ्चायती व्यवस्थाविरुद्ध केही घोचपेच प्यारोडी कार्टुन जस्ता सामग्री प्रचार गर्ने गरिएको पाइन्छ । राष्ट्रिय नाचघरमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्यारोडी प्रहसन रेडियो नेपालमा रसरंग कार्यक्रम र पत्रपत्रिकामा कार्टुन त्यस समयका उल्लेख्य गाईजात्रासम्बन्धीका उपलब्धि हुन् ।
२०४७ सालदेखि हालसम्म
यो अवधिमा प्रेस स्वतन्त्रताको र मौलिक हकको ग्यारेन्टी गर्न नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । संविधान बमोजिम २०४८ सालमा चुनाव सम्पन्न भयो । यस अवधिमा एफएम, रेडियोहरु सञ्चालन भए । नेपाली राष्ट्रिय दैनिक कान्तिपुर २०४९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि प्रकाशन भयो । इमेज च्यानल, कान्तिपुर, सगरमाथा, एबिसी, हिमालयन जस्ता दर्जनौं टेलिभिजन स्थापना भए । सञ्चार प्रतिष्ठानहरूले विभिन्न मनोरञ्जनमूलक सामग्री उत्पादन र प्रसारण गर्न थाले । अझ गाईजात्राको अवसरमा त विशेष कार्यक्रम नै प्रसारण गर्न थालियो ।
मिडियामा गाईजात्रा विशेष
बहुदल हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा विद्युतीय सञ्चारमाध्यम, छापा माध्यम र अनलाइन माध्यममा विभिन्न गाईजात्रे कार्यक्रम प्रसारण गरी नेताहरुले जनतामाथि गरेको अविश्वास, देशको वर्तमान समग्र राजनीतिक गतिविधि, विकास, निर्माण, खस्किँदो अर्थव्यवस्था जस्ता विषयमा चोटिलो प्रहार मिडियामार्फत कलाकारले गर्ने गरेका छन् । यसो भनौं, मिडियामा कलाकारले एउटा प्लेटफर्म बनाएका या निर्माण गरेका छन् । हिजोका दिनमा रेडियोमा हरिवंश र मदनकृष्ण श्रेष्ठको रसरंग कार्यक्रम, गोविन्दसिंह राउतको दिनप्रतिदिन कार्यक्रम, नेपाल टेलिभिजनमा सन्तोष पन्तको हिजोआजका कुरा, मुन्द्रेको कमेडी क्लब, जिरेखुसार्नी, भद्रगोल, सक्किगो नि, मेरी बास्सै जस्ता टेलिशृंखलाले पनि व्यंग्यमार्फत समाजमा हरेक क्षेत्रमा विकृति छ सुधार्नुपर्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।
यसपालीको गाईजात्रा कस्तो होला त ?
२०७६ साल चैत ११ गतेदेखि नेपालमा घोषित‑अघोषित गरी लकडाउन छ । यतिबेला ‘घरमै बसौँ कोरोनाबाट टाढा रहौं’ भन्दै गाईजात्रा विशेष कार्यक्रम एपि वान टिभीको स्टुडियोबाट मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, शिवशंकर रिजाल, सुरेन्द्र केसी, पशुपति शर्मा, बबिता बानिया जेरि, सुमन कार्की, सुवोध गौतम, राजा राजेन्द्रलगायत थुप्रै कलाकारका साथमा प्रसारण भइरहेको छ ।
तीस वर्षअघि कास्केट, त्यसपछि सिडी, डिभिडी, मेमोरी कार्ड हुँदै अहिले पेनड्राइभमा राखेर हजारौं फाइललाई लिएर हिँड्न मिल्ने, इन्टरनेटको सञ्जाल भएको ठाउँमा युट्युब लग इन गरेर हेर्न सकिने भएको छ । प्रविधिको विकाससँगै हातहातमा भएको मोबाइलबाट दर्शक श्रोताले मनोरञ्जन लिन पाएका छन् ।
अन्त्यमा,
गाईजात्राका बारेमा जति उल्लेख गरे पनि कमै हुन्छ । समग्रमा, यो हाम्रो मौलिक संस्कृति हो । गाईजात्राको अवसर पारेर स्थानीय, प्रदेश र संघीय सरकारले गर्छु भनेर नगरेका कार्यहरु, हत्याहिंसालाई प्रश्रय दिने न्यायालय, आफ्ना मान्छेलाई भर्ती केन्द्र बनाउने सरकारविरुद्ध चोटिलो व्यंग्यवाण गरिने भएकाले विसंगति र विकृतिको क्षेत्रमा नेपाली समाजमा गाईजात्राको विशेष भूमिका छ ।
गाई जात्रा चलाउने प्रताप मल्ल, जसले काठमाडौँको वातावरण सुन्दर बनाउन र रानीलाई सान्त्वना दिन रानीपोखरी बनाए । २०७२ साल वैशाख १२ गते १२ बजे गएको महाभूकम्पबाट रानीपोखरी क्षतिग्रस्त भयो । अहिले निर्माणको अन्तिम चरणमा छ । जनैपूर्णिमा, गाईजात्रा, रानीपोखरी, प्रताप मल्ल, नेवारी समाजका लाखेजात्रा, रोपाइँ जात्रा जस्ता जीवन्त धार्मिक तथा सामाजिक संस्कृति नेपाली समाजको सच्चा दर्पण हुन् ।
(पुडासैनी नुवाकोटको देवीघाट निवासी हुन् ।)
प्रकाशित समय १२:१९ बजे

















