गृहपृष्ठ ‘भीआइपी’को तप्कामा कोरोना ! संघीय संसदका प्रवक्तालाई पनि संक्रमण पुष्टि
‘भीआइपी’को तप्कामा कोरोना ! संघीय संसदका प्रवक्तालाई पनि संक्रमण पुष्टि
काेराेना संक्रमण फैलँदै गएपछि गत चैत ११ गतेबाट चार महिनासम्म सरकारले देशभर लकडाउन घोषणा गर्यो । यस अवधिमा लकडाउनले सर्वसाधारणकाे दैनिकी कष्टकर बनेकाले अरू विकल्प खाेज्नुपर्ने आवाज उठ्याे । अन्तत: सरकारले साउन पहिलाे हप्तामा लकडाउन हटायाे ।
यसबीचमा काेराेनाकाे संक्रमण दर पनि केही घटेकाे थियाे । तर, लकडाउन हटेलगत्तै चहलपहल यति बढ्याे कि, मानिसहरू घरबाहिर बेपर्वाह रूपमा निस्किए । परिणाम, परीक्षण दर तुलनात्मक रूपमा घटे पनि संक्रमण भने बढ्दाे देखियो । स्वास्थ्य मन्त्रालयकाे वेबसाइटमा उल्लेख भएअनुसार नेपालमा काेराेना संक्रमितकाे पछिल्लाे कुल संख्या २१ हजार ३ सय ९० पुगेको छ । ६० जनाले ज्यान गुमाएका छन् ।
यसअघि सर्वसाधारणमा मात्र देखिएकाे संक्रमण केही दिनयता भने प्राय ठूलाे भीडभाडमा नपुग्ने र सुरक्षा घेरमा रहने ‘भीआइपी’हरूमा पनि देखिन थालेकाे छ । बिहीबार संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना पुष्टि भएको छ । सांसद प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोलीमा संलग्न पाण्डेमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । प्रवक्ता पाण्डेले संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना परीक्षण गरिएकोमा आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
यसअघि पर्साका संघीय सांसद प्रदिप यादव, प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई समेत संक्रमण पुष्टि भइसकेकाे छ । मन्त्री यादवले भेटघाट गरेका प्रधानमन्त्री केपी शर्मा ओली र आइजीपी शैलेश थापा क्षेत्री लगायतका अन्य ‘भीआइपी’समेत संक्रमणकाे जोखिममा परेका छन् ।
बिहीबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एवं पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्ड सचिवालय स्रोतका अनुसार गेटमा खटिने सेन्ट्री टोली लगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण दर ह्वात्तै बढे पनि सरकारले परीक्षणकाे दायरा नबढाएकाे विपक्षी दल र सर्वसाधारणकाे गुनासाे छ । केही दिनअघि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञहरूसँग महामारी राेकथामकाे विषयमा छलफल गरेका थिए । छलफलमा सहभागीहरूले तुरून्त ‘कडा लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रकाशित समय १५:०७ बजे

















