गृहपृष्ठ साहित्यकार खेमनाथ दाहालको ‘यात्राको सिकर्नी’ सार्वजनिक

साहित्यकार खेमनाथ दाहालको ‘यात्राको सिकर्नी’ सार्वजनिक

साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रा संग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो ।

उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेको छ । नियात्रामा काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ हाइट्सदेखि चेन सी टेम्पलसम्म, बटु गुफाको सेरोफेरो, पेट्रोनास टार्वसलाई नियाल्दा, सिंगापुर यात्रा, पुत्राजयमा नेपालको झन्डा, मानार्थ राजदूत टेरी टिओको डार्कमा, राजकुमारको निम्तोमा, दूतावासको सेरोफेरो, भूगोल र इतिहास, मलेसियाको अर्थतन्त्र र दक्षिण-पूर्वी एसियामा कम्युनिस्ट विद्रोह र युद्ध जस्ता १४ वटा नियात्रा समावेश छन् ।

कृतिमा दाहालले काठमाडौंदेखि क्वालालम्पुरसम्म प्रारम्भ गरी दक्षिणपूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्धका कुरा समेटिएका छन् । मलेसिया र सिंगापुरका महत्वपूर्ण स्थानको यात्राका क्रममा प्राप्त भएका सामग्रीलाई प्रस्तुत गरिएको छ । प्रस्तुत कृति एउटा नियात्रा संग्रहमात्र नभएर सिंगापुर, मलेसिया र नेपालकै विषयमा पनि एउटा ऐतिहासिक दस्तावेज हो ।

‘नियात्राकार खेमनाथ दाहालको यात्राको सिकर्नी ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, राजनीतिक र राष्ट्रियताले भरिएको छ,’ प्रा. डा कृष्णप्रसाद दाहालले भने, ‘यो नियात्रा संग्रह बौद्धिकताको कोषागार पनि हो ।’

यस्तै प्राध्यापक राजेन्द्र सुवेदीले यात्राको सिकर्नीमा स्रष्टा दाहालको नियात्रा चेतनाभित्र यात्रारत चेतना पनि प्रकट भएको बताए । ‘यस कृतिले सर्जक, प्रकाशक, पाठक, भावक तथा समीक्षक पारखीहरुको चेतना पक्कै पनि आकर्षित गर्नेछ,’ उनले भने ।

नियात्राकार खेमनाथ दाहाले भने, ‘म कविता विधामा रमाउने मान्छे, यात्राका क्रममा जहाँ-जहाँ पुगेँ, त्यहाँ-त्यहाँ मैले विविध रुपमा नेपालका विम्ब देखेँ, आमाका सन्देशहरु भेटेँ र यहाँ प्रस्तुत गरेँ ।’
दाहालका यसअघि ‘श्रद्धाञ्जली’ कविता संग्रह, ‘रश्मि’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारी’ कविता संग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कविता संग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।

प्रकाशित समय ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु