गृहपृष्ठ समुदायस्तरमै फैलियो सुदूरपश्चिममा कोराना
समुदायस्तरमै फैलियो सुदूरपश्चिममा कोराना
सुदूरपश्चिम प्रदेशमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । लकडाउन खुलेसँगै बाहिरबाट आउने नागरिकहरुलाई समेत सिधै होम क्वारेन्टिनमा पठाउन थालिएपछि प्रदशमा कोरोना संक्रमण समुदायमै पुगेको हो ।
विगतमा भारत र विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिए पनि पछिल्लो दिनमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएको हो । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमै ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना देखिन थालेको छ । धनगढीमा ‘ट्राभल हिस्ट्री’ नभएका एकजनामा कोरोना पुष्टि भएको हो ।
साउन २७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार संक्रमण देखिएका वडा नम्बर ३ का ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमितको ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ । उनी धनगढीको एक निर्माण सेवामा कार्यरत कर्मचारी हुन् ।
यसअघि आइतबार पनि धनगढीमा ट्राभल हिस्ट्री नभएका दुईजनामा कोरोना पुष्टि भएको थियो । धनगढीमा अहिलेसम्म एक सय ३४ जनामा कोरोना पुष्टि भएकोमा कुनै ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ९ पुगेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनगढीमा ट्राभल हिस्ट्री नै नभएका कोरोना संक्रमित भेटिन थालेपछि जोखिम बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।
पीसीआर रिपोर्ट लिन अस्पताल पुगेका व्यक्तिमा कोरोना
साउन २६ गते पीसीआर परीक्षणको रिपोर्ट बुझ्न सेती प्रादेशिक अस्पताल पुगेका एकजनामा संक्रमण पुष्टि भएको छ । धेरै दिनसम्म कोरोना रिपोर्ट नआएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २७ वर्षीय युवक अस्पताल प्रशासनमा पुगेका थिए । उनी घरबाट अटोरिक्सा चढेर अस्पताल पुगेका थिए । उनले आफूलाई कोरोना लागेको शंकाकै आधारमा रिपोर्ट लिन गएको बताए । ‘केही दिनपहिले उच्च ज्वरो आएपछि मेडिकलमा रगत जाँच गराएको थिएँ । टाइफाइड भएको भनी दिएको औषधि खाँदा अवस्था बिग्रियो,’ सेती प्रादेशिक अस्पतालको आइसोलेसनमै रहेका उनले भने, ‘कोरोना आशंकामा परीक्षणका लागि अस्पताल गएर स्वाब दिएर आएको थिएँ । स्वाब संकलन गरेको दुई दिनसम्म कुनै जानकारी नआएपछि आइतबार आफैँ अस्पताल गएको हुँ ।’
अस्पतालले कोरोना पोजेटिभ देखिएको रिपोर्ट थमाएपछि उनी अहिले सेतीकै आइसोलेसनमा बसेका छन् । कुनै ट्राभल हिस्ट्री नै नभएको बताउने ती युवक आफूलाई कसरी कोरोना लाग्यो भन्नेमा अचम्मित छन् ।
यस्तै आइतबार नै कोरोना पोजेटिभ देखिएका वडा नम्बर ८ का पुरुष भने अहिलेसम्म अस्पताल र उपमहानगरपालिकाको सम्पर्कमा आएका छैनन् । ती पुरुष भारतबाट फर्किएको भनिएको छ । यसरी कोरोना संक्रमितहरु खुलेआम बजारमा डुल्न थालेपछि धनगढीमा समुदाय स्तरमा कोरोना थप फैलिने जोखिम बढेको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ र ट्राभल हिस्ट्रीसमेत पहिचान गरेर संक्रमणको स्थिति पत्ता लगाउन भने लापरबाही गरिएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने संक्रमितको ट्राभल हिस्ट्री र ट्रेसिङ गर्ने काम स्थानीय तहको भएको बताउँछन् । त्यसका लागि आवश्यक पर्ने भीटीएम लगायतका स्वास्थ्य सामग्री सबै पालिकालाई स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको उनले बताए । धनगढी उपमहानगरपालिकाले भने संक्रमितको ट्राभल हिस्ट्री र सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको काममा उदासीनता देखाइरहेको छ । जसका कारण संक्रमणको अवस्था के छ भन्ने कुराको पहिचान हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
प्रकाशित समय १४:१९ बजे
















