गृहपृष्ठ कर्णालीको राजधानी वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा

कर्णालीको राजधानी वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा

वीरेन्द्रनगर बजार ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमणको जोखिम बढेको छ । समुदायस्तरमा संक्रमण देखिन थालेको वीरेन्द्रनगर नगरपालिकामा बुधबार १९ जनालाई संक्रमण पुष्टि भएको थियो ।

बुधबार थपिएका संक्रमितमध्ये कुनै पनि ट्राभल हिस्टी नभएका पाँच जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनमा रहेका आठ जना र कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

समुदायस्तरमा भेटिएका पाँच जनाको कुनै पनि ट्राभल हिस्ट्री नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुुख वाग्लेले पछिल्लोसमय स्थिति हेर्दा वीरेन्द्रनगरमा कोरोनाको जोखिम बढेको र यसले समुदायमा कोरोनाको जोखिम बढी छ भन्ने संकेत गरेको बताए । सुर्खेतका अन्य पालिकाभन्दा कोरोनाको उच्च जोखिममा वीरेन्द्रनगर नगरपालिका रहेको उनको भनाइ छ । चाडपर्व नजिकिँदै गएसँगै मानिसहरुको बढी भिड हुने गरेकाले पनि जोखिम बढी भएको उनले बताए ।

पछिल्लोसमय सरकारी कार्यालयका सवारी चालक, सैलुन व्यवसायी र पर्साबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुुख वाग्लेले समुदायमा कोरोना जोखिम बढेपछि यहाँ कोरोना परीक्षण समुदायस्तरमा गरिएको बताए । स्थानीय व्यवसायी, मजदुर, बढी भिडभाड हुुने कार्यालयहरुमा कोरोना परीक्षण गर्ने गरिएको उनले उल्लेख गरे । अब समुुदायमा कोरोना जोखिम बढी भएकाले आफूहरुले स्थानीय प्रशासनलाई भिड कम गर्नका लागि बजार व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको बताए ।

सुर्खेतमा बुधबार बेलुकीसम्म ६ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ६ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन । सुर्खेतमा ४८ जना संक्रिय कोरोना सक्रमित छन् । हालसम्म सुर्खेतमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बुधबार बेलुकीसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ३४ पुगेकोे छ । हालसम्म १ हजार ८ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३४ रहेको छ भने प्रदेशभर छ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु