गृहपृष्ठ कर्णाली भित्रिन अनिवार्य पीसीआर
कर्णाली भित्रिन अनिवार्य पीसीआर
कर्णाली प्रदेश भित्रिनका लागि अनिवार्य आरटी-पीसीआर रिपोर्ट चाहिने भएको छ । कर्णाली प्रदेश संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कर्णाली भित्रिने नागरिकहरुले कम्तिमा पनि तीन दिनअगाडि सम्मको आरटी-पीसीआर रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको हो । यो निर्णय भदौ १ गतेदेखि लागू हुनेगरी केन्द्रले निर्णय गरेको हो ।
कर्णालीमा कोरोनाभाइरस (कोभिड- १९) का संक्रमितहरु समुदायस्तरमा देखिन थालेपछि केन्द्रले यस्तो निर्णय गरेको हो । त्यस्तै केन्द्रले एक पालिका एक क्वारेन्टिन तथा आईसोलेशन स्थायी प्रकृतिको बनाउन सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने, कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यान जिल्लाको कालिमाटीको काल्चे नाका तथा कपुरकोट, सुर्खेतका बबई र कुईने नाकाबाट आउने नेपाली नागरिकलाई प्रवेशमा कडाईका साथसाथै चेकजाँच गर्ने, मास्कको अनिवार्य प्रयोग, कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमीनार, छलफल र भेलाजस्ता कुनै पनि क्रियाकलाप निषेध लगायतका ११ वटा निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।
भदौ १ बाट वीरेन्द्रनगर प्रवेशमा निषेधाज्ञा
स्थानीय प्रशासन र वीरेन्द्रनगर नगरपालिकाले पाँच दिन वीरेन्द्रनगर प्रवेशमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाँच दिन वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रको चार किल्ला तोक्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
२०७७ भदौ १ गतेदेखि भदौं ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा हुने भएको हो । वीरेन्द्रनगर बजार क्षेत्रमा कोरोना संक्रमण फैलिन थालेपछि उच्च सतर्कता अपनाउदै निषेधाज्ञाको घोषणा गरिएको छ । सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागू गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाबाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाइ छ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ति बढेकाले निषेधाज्ञा गर्नु परेको प्रजिअ रेग्मीले बताए । सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रिनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । मुख्यगरी सुर्खेत भित्रिने बबई, कुइने, कालिमाटी काल्चेबाट सुर्खेत भित्रिनेहरुले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै आउन दिने प्रजिअ रेग्मीले बताए ।
प्रकाशित समय १९:४९ बजे
















