गृहपृष्ठ ओली-प्रचण्ड छलफल ‘सकारात्मक’, कार्यकर्तामा पार्टी विभाजनको चिन्ता मत्थर !
ओली-प्रचण्ड छलफल ‘सकारात्मक’, कार्यकर्तामा पार्टी विभाजनको चिन्ता मत्थर !
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आज नौ दिनपछि पुनः छलफल भएको छ ।
साउन २० गतेयता संवादहीनता देखिएकामा आज उनीहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँच दिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको नेकपा नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अध्यक्षद्वयबीच बिहीबार अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । आज अन्य सहयोगी नेता नराखी उनीहरुबीच मात्रै छलफल भएको हो ।
यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए । सो भेटवार्तामा उनीहरूबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आँकलन गरिएको छ ।
गत असार १० गते सुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार-पार्टीबीचको समन्वयबारे विवाद छ । यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो ।
प्रकाशित समय १९:२७ बजे
















