गृहपृष्ठ ‘सांग्रिला’ सम्झाउने सभापोखरीको सुन्दरता (फोटोफिचर)

‘सांग्रिला’ सम्झाउने सभापोखरीको सुन्दरता (फोटोफिचर)

बेलायती लेखक जेम्स हिल्टनद्वारा लिखित उपन्यास ‘लस्ट होरिजन’मा वर्णन गरिएको काल्पनिक संसारको नाम हो ‘सांग्रिला’ । हिल्टनले सांग्रिलालाई रहस्यमयी, सुन्दर र पृथ्वीको स्वर्गको रुपमा चित्रित गरेका छन् । सयौं वर्ष बाँच्ने सांग्रिलावासीहरु सधैँ खुसी र सुखी रहने उपन्यासमा उल्लेख छ । हिल्टनले कल्पना गरेजस्तै सांग्रिला यस पृथ्वीमा होला, नहोला । तर केही यस्ता ठाउँहरु छन्, जो हिल्टनको सांग्रिलाभन्दा कम लाग्दैन ।

केही महिनाअघिको सरसल्लाहअनुसार कुशल जिमी, देविराज गुरुङ, गन्तव्य देवान र मसहित चार जनाको हाम्रो टोली साउन १५ गते यस्तै एउटा ‘सांग्रिला’तर्फको यात्रामा निस्कियो । हाम्रो सांग्रिला थियो, संखुवासभाको धार्मिक पर्यटकीय स्थल सभापोखरी । पहिलो दिन हाम्रो टोली गुफापोखरीसम्म मात्र पुग्यो । दोस्रो दिनको बास बस्न हामी तिरतिरे दोबाटे भन्ने स्थानमा पुग्यौं । जलजलेको ओडारमा हामीले तेस्रो दिनको रात कटायौं । चौथो दिन बिहान भने हामी गन्तव्यमै पुगिसकेका थियौं । झरी, बादल, अनेकन् उकाली र ओरालीको थकानपूर्ण यात्रापछि हामीले आँखैअगाडि सभापोखरीलाई पाएका थियौँ । सभापोखरीमा पूजाआजा सकेपछि त्यसैदिन हाम्रो टोली फर्कियो । पाँच दिनको हाम्रो यात्रा अपूर्व मात्र थिएन । हामीले यात्रालाई साहसिक र रोमाञ्चक पनि महसुस ग-यौं ।

पौराणिककालमा ऋषिमुनिहरुले सभा गरेकाले संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित यस पोखरीको नाम सभापोखरी रहन गएको लोकोक्ति छ । अग्ला चट्टाने पहाडको बीचमा रहेको सभापोखरी जति शान्त छ, त्यति नै सुन्दर पनि । सदरमुकाम खाँदबारीदेखि चार दिनको पैदल यात्रामा सभापोखरी पुगिन्छ । तेह्रथुमको बसन्तपुरबाट संखुवासभाको चौकी–गुफापोखरी हुँदै मिल्के-गिद्धे-जलजलेको पदमार्ग भएर पनि सभापोखरी पुग्न सकिन्छ । यो सबैभन्दा सजिलो र चल्तीको पदमार्ग हो । खाँदबारीबाट बाह्रबिसे-फाकुवा-धर्मद्वार भएर जाने बाटो अर्को छोटो मार्ग हो । तर यो मार्ग तुलनात्मक रुपमा अप्ठ्यारो छ । नुमको मांसिमा हुँदै पनि तीर्थालुहरु सभापोखरी पुग्छन् । पहाडबीच घेरिएकाले छेवैमा पुग्दासमेत नदेखिने सभापोखरी समुद्र सतहदेखि ४३ सय मिटरको उचाइमा अवस्थित छ ।

बाटो अप्ठ्यारो र यात्रा कठिनपूर्ण छ । तर यात्रा अनुभव अत्यन्त अद्भूत छ । बाटोछेउका पाखाहरुमा फुलेका रंगीबिरंगी फूलहरु, चउर नै टाटेपाङ्ग्रे देखिनेगरी चरिरहेका भेडाका बथान हेर्नलायक हुन्छन् । विभिन्न जिल्लाबाट आएका तीर्थालुहरुले यात्राका बारेमा व्यक्त गरिरहेका अनुभव र अनुभूतिहरुले थप रोमाञ्चित बनाउँछ, यात्राको थकान बिर्साउँछ । मुख्यतया नागपञ्चमीदेखि भाद्र कृष्णपञ्चमीसम्म भक्तजनहरु सभापोखरी यात्रामा निस्कन्छन् । यसमध्ये पनि जनैपूर्णिमाका दिन सभापोखरीमा मानिसहरुको घुइँचो लाग्छ । वर माग्न र मागेको वर पूरा भएपछि दर्शन गर्न सभापोखरी जाने प्रचलन छ ।

कम्तीमा दुई दिनसम्म मानव बस्ती छाडेर हिँड्नुपर्ने र बढी उचाइका कारण लेक लाग्नसक्ने भएकाले पूर्वतयारी आवश्यक छ । ओडार र गोठमा बास बस्नुपर्ने हुँदा त्रिपाल तथा न्यानो कपडा, लेक लाग्दा खानुपर्ने खानेकुरा तथा बाटो देख्ने मानिस साथमा नभए समस्या हुनसक्छ । पछिल्ला वर्षहरुमा विभिन्न संस्थाहरुले बाटो तथा बास बस्नका लागि ओडारहरु मर्मत गरिदिएकाले यात्रामा सहजता थपेको छ ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु