गृहपृष्ठ उद्योग व्यवसाय चलाउन बनाइयो ‘प्रोटोकल’

उद्योग व्यवसाय चलाउन बनाइयो ‘प्रोटोकल’

Industry_Newskarobar

सरकारले कोभिड-१९ महामारीका समयमा उद्योग, व्यवसाय सञ्चालनका लागि १२ बुँदे सुरक्षा मापदण्ड जारी गरेको छ । यी मापदण्डहरू पालना भए-नभएको स्थानीय तहमार्फत अनुगमन गरिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको‘कोभिड-१९ महामारीका समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड (प्रोटोकल)मा औद्योगिक परिसरदेखि डिपार्टमेन्टल स्टोरसम्मले अवलम्बन गर्नुपर्ने उपाय समेटिएको छ ।

मामदण्डअनुसार उद्योग वा व्यावसायिक क्षेत्रका कार्यालय, कार्यस्थल प्रवेश गर्दा अनिवार्य मास्क लगाउने, थर्मल गनले तापक्रम नाप्ने, साबुन पानीले धात हुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ ।

यस्तै, उद्योग परिसरमा श्रमिक कर्मचारीभन्दा बाहेकका व्यक्तिलाई सम्भव भएसम्म उद्योग वा कार्यालय परिसरमा रोक लगाउनु पर्नेछ भने काम विशेषले बाहिरी व्यक्तिलाई प्रवेश गराउनु परेमा आगन्तुकको विगत एक महिनाको यात्रा विवरण, सम्पर्क र नम्बर सहितको विवरण राख्नु पर्नेट ।

यसैगरी, कर्मचारीहरूले यात्रापछि काममा फर्कनुपूर्व अनिवार्य रूपमा आफ्नो यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्नेछ ।

उद्योग वा व्यावसायिक क्षेत्रका कार्यालय, कार्यस्थलको नियमित सरसफाई र निसंक्रमण गर्ने गरिएको, सरसफाईसँग सम्बन्धित कर्मचारी, पञ्जा, श्रमिकका लागि अनिवार्य रूपमा मास्क, बुटसुज कभर र हेडकभरको व्यवस्था गरिनु पर्ने मापदण्डमा उल्लेख छ ।

मापदण्डमा कम्तिमा ६ फिट (२ मिटर) भौतिक दूरी कायम हुनुपर्ने, स्वास्थ्यसम्बन्धी उच्च जोखिम भएका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने, अत्यावश्यक अवस्थामा बाहेक लिफ्ट प्रयोग गर्न नहुने उल्लेख छ ।

यसैगरी, कुनै सामान लोड, अनलोड वा लिने-दिने गर्दा निश्चित स्थानमा छोड्ने र उठाउने (कन्ट्याक्टलेस डेलिभरी)को व्यवस्था गर्नुपर्ने, ई-बिलिङ तथा ई-भुक्तानीको व्यवस्था गरी कारोबारमा नगद र कागजको कम प्रयोग गर्नुपर्नेछ ।

मामदण्डअनुसार कच्चा पदार्थ ल्याउँदा वा उत्पादित सामग्री ढुवानी गर्दा अथवा श्रमिक कर्मचारी ओसारपसार गर्दा त्यस्तो सवारी साधनमा बाह्य व्यक्ति चढाउन नपाइने व्यवस्था गरिएको छ ।

श्रमिक तथा कर्मचारीको पिकअप र ड्रप गर्ने सवाधारी साधनमा कुल यात्रु क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाइने, चालक, सहचालक र यात्रु चढ्नुपूर्व अनिवार्य मास्क लगाउनु पर्ने, तापक्रम मापन गर्नुपर्ने र स्यानिटाइजर प्रयोगका व्यवस्था हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्ता सवारी साधनहरू र सामान ढुवानी गर्ने सवारी साधन प्रत्येक पटक सामान अनलोड गर्नुपूर्व र यात्रु चढाउनुपूर्व निसंक्रमण गरिनु पर्नेछ ।

त्यस्तै,  कच्चा पदार्थ र अन्य सामग्री आयात गर्ने ढुवानीका साधन अबदेखि सीमा नाकाबाट प्रवेश गर्नुपूर्व वा सीमा नाकामा सामग्री अनलोड गर्नुपूर्व अनिवार्य रूपमा निसंक्रमण गरिनु पर्ने व्यवस्था गरिएको छ ।

अतिआवश्यक अवस्थामा बाहेक व्यावसायिक क्षेत्रका स्थलगत भ्रमण, बैठक, अन्तर्क्रिया नराख्ने, सम्भव भएसम्म अनलाइन बैठक सञ्चालन गर्नुपर्ने, भौतिक रूपमा बैठक गर्नुपर्दा न्यूनतम संख्याको उपस्थितमा सुरक्षा मापदण्ड पालना गरिनु पर्ने मापदण्डमा उल्लेख छ ।

उत्पादन, प्रशोधन तथा सामग्री व्यवस्थापनका लागि दैनिक ज्यालादारी कर्मचारी व्यवस्थापन गर्दा सानो समूहमा क्षेत्र विभाजन गरी परिचालन गर्नुपर्ने, यस्ता कर्मचारीको खाना र खाजा सम्भव भएसम्म आफै व्यवस्थापन गराउने तथा भाडाकुँडाको साझा प्रयोग गर्न नदिने व्यवस्था हुनुपर्ने व्यवस्था गरिएको छ ।

नियमित ज्यालादारी कर्मचारीहरूको कोरोना परीक्षण गराउनु पर्ने, उत्पादन तथा प्रशोधन कार्यमा प्रयोग भएका र हुनसक्ने सामग्रीहरूको यथोचित रूपमा निसंक्रमण गरिनु पर्ने मापदण्डमा उल्लेख छ ।

डिपार्टमेन्टल स्टोरहरूले ग्राहकलाई भित्र प्रवेश गर्नुपूर्व अनिवार्य रूपमा मास्क प्रयोग गर्न लगाउनु पर्ने, तापक्रम नाप्ने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेछ भने भित्र ग्राहकलाई मार्क गरिएको घेराभित्र लाइनमा राखेर पर्याप्त भौतिक दूरी कायम राखेर सामान छनौट र बिल भुक्तानीका लागि सहज हुने संख्यामा मात्र ग्राहक प्रवेश गर्न दिनुपर्नेछ ।

विक्रेता  र कर्मचारीले अनिवार्य रूपमा मास्क र सर्जिकल पञ्जा लगाउनु पर्ने, हरेक ग्राहकलाई सामान दिएर पैसा बुझेपछि अर्को ग्राहकसँग कारोबार गर्नुपूर्व स्यानिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै, व्यावसायिक केन्द्र र बजार व्यवस्थापन समितिहरूले पनि पञ्जा, थर्मल गन र स्यानिटाइजरको अनिवार्य प्रयोग र भौतिक दूरी कायम राख्नु पर्ने मापदण्डमा उललेख छ ।

यस्ता बजार व्यवस्थापन समितिहरूले कोभिड-१९ बाट सुरक्षित रहन व्यवसायी तथा आमउपभोक्तालाई नियमित सचेत गराउनु पर्नेछ ।

रेष्टुराँ तथा खाजा घरले अनलाइन अर्डरका आधारमा होम डेलिभरी तथा ग्राहक स्वयंले आएर प्याकिङ गरी लैजाने टेक अवे विधि अपनाउनु पर्ने, तिनमा कार्यरत श्रमिक तथा कर्ममारीले अनिवार्य रूपमा पूरै शरिर ढाक्ने लुगा, पञ्जा, मास्क, हेड तथा सुज कभर लगाउनु पर्न मापदण्डमा उल्लेख छ ।

मापदण्डमा कार्यस्थलमा शंकास्पद संक्रमित व्यक्ति फेला परेमा तुरून्तै सुरक्षित तवर नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्ने, यस्ता व्यक्तिका सम्पर्कमा आएका अन्य व्यक्तिका पनि स्वास्थ्य परीक्षण गराउनु पर्ने उल्लेख छ ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु