गृहपृष्ठ विद्यालय भवन निर्माणलाई लकडाउनले छेकेन
विद्यालय भवन निर्माणलाई लकडाउनले छेकेन
दोलखाको विगू गाउँपालिका ७ विगू जिल्लाकै दुर्गम गाउँमध्येमा एक पर्छ । तर, यही दुर्गम गाउँको विद्यालय भवन निर्माणमा लकडाउनले छेकेन । सडक सञ्जाालले छोए पनि वर्षातमा सडक क्षतविक्षत हुन्छ, हिउँद लागेपछि सामान्य मर्मत गरेर सञ्चालन गरिन्छ । तर, अधिकांश समय अवरोध हुन्छ । लकडाउनका कारण धेरै विकास निर्माणका काम समयमा पूरा हुन नसकिरहेको अवस्थामा यही दुर्गम गाउँमा भने विद्यालय भवन पूरा भएको छ ।
२०७२ को भूकम्पका कारण क्षतिग्रस्त भवन पुनर्निर्माण नहुँदा विद्यार्थीहरु पाँच वर्षदेखि टहरामै बसेर पढ्न बाध्य थिए । लकडाउन अघिसम्म विद्यार्थीहरु टहरामा पढ्दापढ्दै बिदा भए । ‘अब विद्यालय खुलेपछि विद्यार्थी आउँदा आधुनिक विद्यालयमा पढ्न पाउनेछन्,’ भवनको साँचो बुझेपछि विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले भने, ‘विद्यालय भवनहरु आधुनिक भए, पूर्वाधार पुगेपछि अब शैक्षिक गुणस्तरमा गाउँपालिकाले ध्यान दिनेछ ।’
विद्यालयको महत्वपूर्ण काम हुँदा कोभिड‑१९ रोग रोकथामका लागि सरकारले लकडाउन गरेको थियो । चैत सुरुदेखि नै लकडाउन गरेर असारसम्म भएको थियो । यही बीचमा सुरक्षात्मक उपाय अपनाउँदै विद्यालय निर्माण जारी रह्यो । असारमै हस्तान्तरण गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण रोकिएको भवन हस्तान्तरण कार्यक्रम गर्दा जिल्ला प्रशासन कार्यालयले पुनः लकडाउन गरिसकेको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सिंगटीदेखि अघिल्लो दिनभर हिँडेर बागमती प्रदेशका सांसद पशुपति चौलागाईंलगायतको टोली विगू पुग्यो । विगु पुग्नेबित्तिकै साँझ जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि पुनः एक हप्ताका लागि लकडाउन घोषणा गरे पनि स्वास्थ्य सुरक्षात्मक अपनाउँदै भवन हस्तान्तरण गरिएको पुर्ननिर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख देवकुमार बरालले जानकारी दिए ।
कठिन परिस्थितिमा पनि समयमै विद्यालय भवन पूरा गरेकोमा सांसद पशुपति चौलागाईंले निर्माण व्यवसायी र आयोजनालाई धन्यवाद दिए । उनले विद्यालय भवन आधुनिक भएसँगै विद्यालयको पठनपाठन गुणस्तरीय बनाउन शिक्षालय व्यवस्थापन समिति र शिक्षकहरुलाई निर्देशन दिए ।
एसियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा सञ्चालित दोस्रो चरणको कार्यक्रमअन्तर्गत बनेको यो पहिलो विद्यालय भएको भवन निर्माणका परामर्शदाता कम्पनी डीएफपीका आवासीय इन्जिनिर राजु शिवाकोटीले जानकारी दिए । लकडाउनका कारण निर्माण सामग्री ढुवानी र मजदुर अभावका बाबजुद भवन समयमा पूरा गर्न सक्नु व्यवसायीको सफलता भएको उनले बताए ।
विद्यालयको तीन तला र २२ कोठा रहेको भवन अपांगमैत्री पनि छ । ५ करोड ८० लाखमा बनेको भवनसहित छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय र शुद्ध पिउने पानीको व्यवस्था छ । विद्यालय क्षेत्रको मूल गेटसहित व्यवस्थित तारबार गरिएको छ भने बगैंचासमेत निर्माण गरिएको छ ।
बाल कक्षाका लागि इसिडी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, हरेक कक्षामा फर्निचर, आइसीटी कक्षाका लागि कम्प्युटर ल्याब र त्यसका लागि आवश्यक वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरिएको निर्माण व्यवसायी शर्मा/स्वछन्द/खानी जेभीका म्यानेजर युधिष्ठिर केसीले जानकारी दिए । दुर्गम गाउँ भएकाले निर्माण समग्री ढुवानीमा समस्या हुँदा पनि समयमै भवन हस्तान्तरण गर्न सकिएको उनले बताए ।
एडिबीको दोस्रो चरणको ऋण सहयोगमा सञ्चालित डिआरएसपी परियोजनाअन्तर्गत जिल्लामा १२ वटा यस्ता विद्यालय भवन निर्माणाधीन छन् । पहिलो चरणको कार्यक्रमअन्तर्गत दोलखामा २१ वटा विद्यालय निर्माण पूरा गरी दोस्रो चरणमा १२ वटा विद्यालयको पुनर्निर्माणका लागि ठेक्का लागेको आयोजना कार्यान्वयन इकाइ प्रमुख बरालले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमको कार्यक्रम अन्तर्गत कुटीडाँडा मावि मकैबारी, बौद्ध भुवनेश्वरी मावि माली, महेन्द्र मावि च्यामा, शंखेश्वर मावि सहरे, भीम मावि भेड्पू, भुमेगुम्बा मावि मानेश्वारा, भद्रेश्वर मावि साउते, भीमेन्द्र मावि र आजादी मावि मेलुङ रहेको उनले बताए । यी सबै विद्यालयको काम अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित समय १३:२६ बजे


















