गृहपृष्ठ म्याद सकिन लागेको पुनर्निर्माण प्राधिकरणले अनुभव बाँड्ने
म्याद सकिन लागेको पुनर्निर्माण प्राधिकरणले अनुभव बाँड्ने
२०७२ वैशाखमा गएको भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भनेर गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको पाँच वर्ष पुगेको छ ।
अहिलेसम्म तोकिएको दायित्वअनुसारको पुनर्निर्माण नसकेको गुनासो बढिरहेको बेला प्राधिकरणले यो पाँच वर्षमामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ ।
खासगरी प्राधिकरणले अहिलेसम्म सार्वजनिक संरचना र सम्पदाको पुनर्निर्माणका क्षेत्रमा कुनै उल्लेख्य उपलब्धि हासिल गरेको छैन । स्थापना भएको केही समयसम्म कार्यकारी प्रमुख नियुक्तिका रडाको र त्यसपछि केही समय प्राविधिक कर्मचारीको हडताल झेलेको प्राधिकरणले सुरुका दिनमा राम्रोसँग कामै गर्न पाएन ।
२०७२ को भूकम्पपछि कुल ८ लाख ३४ हजार ३०१ घरपरिवार लाभग्राही सूचीमा सूचिकृत भएकोमा २०७७ असार ३१ सम्म जम्मा ५ लाख ७ हजार ५२३ वटामात्रै घरको निर्माण सम्पन्न भएको छ । प्राधिकरणका अनुसार २ लाख २ हजार ६४३ घर निर्माणाधीन छन् ।
भूकम्पले ९२० सांस्कृतिक सम्पदा ध्वस्त भएकामा यस अवधिमा केबल ४५० वटाकाे पुनर्निर्माण सकिएको छ भने ७ हजार ५५३ विद्यालयका संरचना, १ हजार १९७ स्वास्थ्य संस्थाका संरचना नष्ट भएकाेमा ५ हजार ९८१ विद्यालय र ६९८ वटा स्वास्थ्य संस्थाको मात्र पुनर्निर्माण सकिएको छ ।
आगामी साता तीन दिनसम्म भर्चुअल माध्यमबाट आयोजना गरिने परिसंवादनमा नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरु सहभागी हुने प्राधिकरणले बताएको छ ।
पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलताहरु, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछ । सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो ।
डा. श्रेष्ठका अनुसार यो परिसंवादमा निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनसहित पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्रहरुबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुने जनाइएको छ ।
प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्य–सचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्रका प्रस्तोताहरु सहभागी हुनेछन् ।
प्रकाशित समय १७:०१ बजे

















