गृहपृष्ठ कोरोना संक्रमण भयावह बन्दै ! १३५ जना आइसीयूमा, १२ जना भेन्टिलेटरमा
कोरोना संक्रमण भयावह बन्दै ! १३५ जना आइसीयूमा, १२ जना भेन्टिलेटरमा
संक्रमण देखिएका काठमाडौंका विभिन्न स्थानमा निसंक्रमण औषधि छर्कंदै ।
करिब चार महिना लामाे लकडाउन खुलेसँगै नेपालमा काेराेना संक्रमण तीव्र रूपले फैलिइरहेकाे छ । दिनानुदिन संक्रमित बढेकाे मात्र हाेइन काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या पनि उकालो लागिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्याकाे पछिल्लाे तथ्यांकअनुसार नेपालमा १ सय ४६ जनाले काेराेना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म संक्रमण पुष्टि भएका संक्रमितमध्ये १ सय ४७ जनाको अवस्था ‘चिन्ताजनक’ छ । स्वास्थ्य अवस्था गम्भीर भएका उनीहरूकाे आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार हाल देशका विभिन्न अस्पतालमा १ सय ३५ जनाको आइसीयू र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा १५, प्रदेश २ मा ४६, वागमतीमा ५२, प्रदेश ५ मा १६ र कर्णालीमा ६ जना आइसीयूमा उपचाररत छन् ।
शनिबार दिउँसकाेकाे नियमित प्रेस ब्रिफिङमा पछिल्लाे २४ घण्टाभित्र ६ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंका १६०, ललितपुरका ६ र भक्तपुरका ५० जना रहेका छन् ।
शनिबार दिउँसोसम्म देशभर ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ हजार ३ सय ५० जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित समय २०:१५ बजे

















