गृहपृष्ठ च्याम्पियन्स लिग उपाधि : पीएसजी कि बायर्न ?

च्याम्पियन्स लिग उपाधि : पीएसजी कि बायर्न ?

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिख भिड्दैछन् । आज (आईतबार) राति हुने फाइनल खेल पोर्चुगलको लिस्बोनमा नेपाली समयअनुसार राति पौन १ बजे सुरु हुनेछ ।

फ्रान्सेली क्लब पीएसजी पहिलोपटक र जर्मन क्लब बायर्न म्युनिख छैटौंपटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा छन् ।

जर्मन च्याम्पियन र कप विजेता बायर्न पीएसजीविरुद्ध शानदार जितसहित सिजनको सुखद समाप्त गर्ने योजनामा छ । बायर्नका प्रशिक्षक हान्सी फिल्किले उत्साहपूर्ण सिजनलाई च्याम्पियन्स लिगको उपाधिसहित अन्त्य गर्न सबै चिज दिने बताएका छन् । बायर्नले अन्तिमपटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बायर्नले यस सिजन च्याम्पियन्स लिगका सबै १० खेल जितेको छ ।

धेरैपटक फाइनल पुगेको बायर्नलाई उपाधि भिडन्तमा भेट्नु आफ्ना लागि थोरै फाइदाको विषय भएको पीएसजीका प्रशिक्षक थोमस टुचेलले बताएका छन् । ‘यो निकै ठुलो चुनौती हो । र हामी निकै आत्मविश्वासी छौ,’ उनले भनेका छन् ।

यस खेलमा सबैको नजर स्टार फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र नेयमारमा हुनेछ । पोलिस फुटबलर लेवान्डोस्की र ब्राजिलियन फुटबलर नेयमार दुवै उच्च लयमा छन् । दुवै टोलीले आक्रमक फुटबल खेल्ने भएकाले दुई च्याम्पियनबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

लेवान्डोस्कीलाई च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने रोनाल्डाको कीर्तिमानलाई बराबरी या तोड्ने अवसर छ । युभेन्टसमा रहेका रोनाल्डाले २०१३–१४ को सिजनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट १७ गोल गरेका थिए । नेयमार र फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पीएसजीका लागि मुख्य हतियार हुनेछन् । पछिल्ला खेलमा नेयमारको प्रदर्शन नै पीएसजीको जितमा निर्णायक सावित हुँदै आएको छ ।

प्रकाशित समय १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु