गृहपृष्ठ विदेशमा गरे अर्ग्यानिक कृषि, नेपालमा खिसीटिउरी !
विदेशमा गरे अर्ग्यानिक कृषि, नेपालमा खिसीटिउरी !
शुक्रबार साँझ ईश्वर भाइले फोन गर्यो । उसले गएको हप्ता गोपालजीसँगै हामी घुमघाममा गएको कृषि फार्मको तस्बिरहरु फेसबुकमा देखेको रहेछ । त्योभन्दा पहिले पनि सो कृषि फार्मका बारेमा जानकारी रहेछ उसलाई ।
‘दाइ ! तपाईं बसेको अमेरिकाको पश्चिमी मासाचुसेट्स राज्यको सानो बस्ती अम्हर्स्टमा त निकै फार्म र अर्ग्यानिक तरकारी बारी रहेछन्, स्थानीय कृषि उत्पादनले लगभग आत्मनिर्भर भएकाले कोरोनाको महाव्याधि पनि धेरै फैलिएको रहेनछ । केटाकेटीहरु शनिबार घुम्न आउने भन्दै छन्, के गरौँ ?’ उसले भन्यो ।
‘हुन्छ भाइ । मास्क लगाएर आऊ । अलि सामाजिक दूरी राखेरै घुमघाम गरौँला नि ! बच्चाहरू पनि नेपालको गाउँघरका जस्तै गाईगोठ, गौचरण र प्रांगारिक मल हालेर उमारेका अर्ग्यानिक तरकारी बारी देखेर रमाउलान्,’ मैले सहर्ष उनको निमन्त्रणा स्वीकार गरेँ ।
शनिबार दिउँसो ईश्वर भाइ र गोपालजी स‑परिवार हामीलाई भेट्न आए । हामी पहिला नजिकैको मैनबत्ती बनाउने कारखाना गयौँ । त्यहाँ फूलका विभिन्न रंगहरू मिश्रित सुगन्धित मैनबत्तीहरू र प्राकृतिक बाल्दा महको सुवास आउने माहुरीको मोमबाट बनाइएका मैन बत्तीहरू राखिएका थिए । यो स्थानीय रूपमा उत्पादन हुने मैनबत्ती अमेरिकाभर प्रसिद्ध छ र यहाँ पनि धेरैलाई रोजगारी प्रदान गरी पर्यटकीय आकर्षण पनि बनेको छ ।
त्यस्तै केही हप्ताअघि मासाचुसेट्समा अवस्थित हेनकक शेकर जीवन्त संग्रहालय जाँदा आफ्नै गाउँ खप्तडछान्ना बझाङको याद आएको थियो । १७औँ शताब्दीको समष्टिगत ग्रामीण शैलीको प्राकृतिक खेती र बस्तीलाई अझै जीवन्त राखिएको रहेछ । यो नमुना बस्ती अहिले पर्यटकीय आकर्षण बनेको छ । कयौँलाई रोजगारी प्रदान गरिरहेको छ ।
नेपालमा हाम्रो गाउँघरका पानी घट्ट, जिताडा, ओखल, मुसल, दहीका ठेकी, निगालाका भकारी, मकै, बाबियोका चकटी यी सबैलाई बेलामै संगृहीत नगरे हाम्रो ग्रामीण जीवनका कयौँ रैथाने कला र सामग्री लोप हुने डर छ । तर, कठै सबैलाई सहरमा बस्नु छ, गाउँको सुन्दरता कसले देख्ने ?
पारिवारिक भेटघाटपछि हामी नजिकैको गाईगोठ ‘फ्लेभर अफ कुक फार्म’ जाँदा त्यहाँको रैथाने गाईको अर्ग्यानिक दूध र त्यही दूध प्रयोग गरी बनाइएका विभिन्न फ्लेभरका आइसक्रिम खाँदै गर्दा फार्मका मालिकले आफ्नै सानो बस्तीमा उद्यम गरेर राम्रै आम्दानी गरेको देखियो । उनले अमेरिकामा पनि गाई नै पालेर सफल उद्यम गरेका छन् । आखिर डलर रुखमा त फल्ने होइन रहेछ विदेशमा पनि ।
अमेरिकामा पनि गाई नै पालेर सफल उद्यम गरेका छन् । आखिर डलर रुखमा त फल्ने होइन रहेछ विदेशमा पनि ।
बेलुका हामी नजिकैको अर्ग्यानिक तरकारी फार्म गयौँ । त्यहाँ फर्सीका मुन्टा, फर्सी, तीते करेला, काँक्रो, कर्कलोलगायतका हाम्रै गाउँघरमा लगाइने तरकारीहरू मज्जाले खेती गरेर राम्रै आम्दानी गरेका एक किसान दम्पती देखेर नेपालमा पनि यस्तै कृषि फार्म बनाउन सके कति राम्रो हुन्थ्यो जस्तो लागिरह्यो । अमेरिकामा पनि सबैले रकेट बनाउने त होइन ।
विकसित देशमा पनि रैथाने कृषिले धेरैको रोजगारी र उद्यम धानेको हुन्छ । माटोमा पसिनाको सिँचाइ नगरी उद्यमशीलताका फल संसारमा कहीँ फल्दैनन् । लटरम्म फलेका ताजा तरकारी देखेर हाम्रै गाउँघरमा यस्तै कृषि फार्म बनाएर बस्न सके सायद बिदेसिनुपर्ने थिएन कि जस्तो लाग्यो । एकछिन फेरि यति पढेर गोठालो नै भइस् पो भन्ने हुन् भन्ने पनि लाग्यो । किन हो कुन्नि आज मलाई आफ्नै गाउँघरका खेतबारीको धेरै याद आयो । ‘खप्तड छान्नाका धानका जिउलाको झिक्कै सौँराइ लाइगै आज साइभौ’ बझाङ्गी लवज मैले भनेँ ।
‘दूधे छान्नु भाते छान्नु, छान्नु त छान्नै हो’
हो, अमेरिकाजस्ता विकसित देशमा पनि जताततै गगनचुम्बी भवनमात्रै हुँदैनन् । वास्तवमा न्युयोर्क, सिकागो, बोस्टनजस्ता केही सहरका घना बस्तीबाहेक अमेरिकाको ४० प्रतिशतभन्दा बढी भूभाग कृषि बाली र अर्को ३० प्रतिशत वन जंगल र अर्को २० प्रतिशत गौचरण र घाँस मैदानले ढाकेको छ । अमेरिकामा एप्पलका विद्युतीय उपकरणभन्दा बढी स्याउ उत्पादन हुन्छ । लगभग एक अर्ब डलरको त स्याउ मात्रै निर्यात हुन्छ । अरू एप्पल जुस, साइडर र स्याउबाट बन्ने रक्सीको कुरो बेग्लै छ ।
स्याउ मात्रै होइन, अमेरिकाले मकै, गहुँ र भटमास जस्ता अन्नबालीमात्रै वार्षिक १५० अर्ब डलरबराबरको निर्यात गर्छ । त्यसैगरी, अस्ट्रेलियाले करिब ३ अर्ब डलरबराबराको भेडाबाख्राको मासु र तीन अर्बभन्दा बढीको कच्चा न मात्रै निर्यात गर्छ । अरू ऊनी कपडा, बेड, कम्बल, स्वेटरको कुरा बेग्लै छ । विकसित देशमा प्रविधि विकाससँगै मानवीय श्रममा कमी आयो । कृषिमा आधुनिक प्रविधि प्रयोग हुन थाल्यो । तर, कृषिजन्य उत्पादनमा भने कमी आएन । यो वर्ष कोरोनाभाइरसका कारणले नेपालको कुल गार्हस्थ्य उत्पादनमा एक खर्ब ६८ अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ ।
कोभिड १९ ले अन्तर्राष्ट्रिय मुद्रा कोषले गत अप्रिलमा गरेको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२० मा ३ प्रतिशतले ऋणात्मक हुने भनिएकोमा जुनको प्रक्षेपणले ४.९ प्रतिशतले ऋणात्मक हुने भनिएको छ । विकसित मुलुकको अर्थतन्त्र अप्रिलमा ६.१ प्रतिशतले ऋणात्मक हुने भनिएकोमा जुनमा ८ प्रतिशत हुने भनिएको छ । उदीयमान मुलुकहरूको अर्थतन्त्र १ प्रतिशतले ऋणत्मक हुने भनिएकोमा अहिले ३ प्रतिशतले हुने भनिएको छ ।
अमेरिकाको अर्थतन्त्र ८ प्रतिशतले र बेलायतको अर्थतन्त्र १०.२ प्रतिशतले घट्ने भनिएको छ । चीनको अर्थतन्त्र सन् २०२० मा १ प्रतिशतले बढ्ने र भारतको ४.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अप्रिल र जुनको त्रैमासिकमा अमेरिकी अर्थतन्त्र अघिल्लो त्रैमासको तुलनामा ३२.९ प्रतिशतले र बेलायतको अर्थतन्त्र २०.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्यांकले देखाएको छ । अर्थतन्त्र यसरी तीव्र रूपमा खस्किँदै गएसँगै विश्वमा बेरोजगार र गरिबी पनि तीव्र रूपमा बढ्दै गएको छ ।
भोलि हामी चन्द्रमा या मंगल ग्रह नै पुगे पनि खान त चाहिन्छ नै । मेरो बुवाले सुदूरपश्चिममा चर्चित एउटा देउडा भन्नुभएको याद आयो‑ नखाई त कैकाइन हुँदो तँ क्या माइस लागि ।’
तर, नेपालमा भने हामी कृषिप्रधान देश भन्दै गर्दा दुई दशकअघि कृषिमा नेपालीको ६० प्रतिशतभन्दा बढी प्रत्यक्ष‑परोक्ष रोजगारी जोडिएको थियो, जुन एक दशकअघि ५० प्रतिशतभन्दा कम हुँदै, पाँच वर्षअघि ३३ प्रतिशत हुँदै २०७४ मा २६ प्रतिशतमा झरिसकेको छ । हो यो दशकमा कृषिको वातावरण असहज बन्दै गयो र वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गयो ।
नेपाली युवाको पसिनाले यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउने अवसर गुम्दै जाँदा उर्वर भूमि विस्तारै बाँझो भयो । जबकि, नेपाली युवाका पौरखी पाखुराहरूले मरुभूमिमा बगैँचा फलाए, गगन चुम्बी भवन बनाए ।
नेपालमा कृषि र ग्रामीण उद्यम किन फस्टाउन सकेन त ! यसबारेमा मेरो धेरै उद्यमी, अर्थशास्त्री, योजनाविद्, लगानीकर्ता र कृषकसँग छलफल भएको छ । कर्णालीको विकट स्थानमा बसेर स्थानीय साधन स्रोत प्रयोग गरी साबुन, स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीको स्थानीय उत्पादन सुरु गरेका युवा उद्यमी राजेन्द्र बिष्ट भन्छन्, ‘नेपालमा आत्मनिर्भर हुने गरी ग्रामीण उद्यम विस्तारित नहुनुका कारण उद्यमी र नवप्रवर्तनमुखी सोचको अभाव, जागिरे मनस्थिति, उद्यम प्रवर्द्धन गर्ने निकायको कमी, सरकारहरूको कमजोर भूमिका साथै उद्यममैत्री कर्मचारीको अभाव मुख्य हुन् ।’
यी सबै कुरा कतै न कतैबाट दक्ष र सक्षम नेतृत्वको अभाव र व्यावहारिक, सीपमूलक मौलिक शिक्षा व्यवस्था नहुनुका नै परिणाम हुन् । नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई बिदेसिन थाले । त्यसैले त पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन् ।
हिजो छोराछोरी र आफन्त विदेश जाँदा माला, खादा लगाएर, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटस रंग्याउनु हामीलाई सामान्यझैँ लाग्न थाल्यो । आज वैदेशिक रोजगारीमा जान्छु भन्दा जसले पनि ऋण दिन्छ तर आफ्नै गाउँ‑ठाउँमा केही उद्यम गर्छु, फार्म खोल्छु भन्दा लगानीकर्ता भेट्न गाह्रो पर्छ ।
त्यस्तै विदेश जाने युवालाई धेरै आफ्ना छोरी/बहिनीहरुसँग बिहे गर्न/गराउन उद्यत हुन्छन् तर आफ्नै गाउँघरमा गरिखान्छु भन्ने ऊर्जावान युवा हाँसोको पात्र बन्छन् । त्यसैले, आज नेपालका लाखौँ दक्ष जनशक्ति विदेशमा छ । यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजना बनाएर तिनको कार्यान्वयन गर्नु आवश्यक छ ।
अहिले एकातिर विश्वबजार आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गर्दा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने दलहरूले चुनाव जितेर उग्र राष्ट्रवादी नेताहरूलाई सत्तासीन बनाइरहेको अवस्थामा अर्कोतिर कोरोना जस्तो महाव्याधिको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ ।
धेरै नेपाली दाजुभाइ विभिन्न कारणवश गाउँ घर फर्किंदै गर्दा एउटा प्रश्न सान्दर्भिक भएको छ‑ विपदमा मात्रै गाउँघर छिर्ने, माटोको ऋण कहिले तिर्ने ?
परदेसिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ‑आफ्नै गाउँ‑ठाउँमा प्रयोगमात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ ।
देशको झन्डै एक तिहाइ जनसंख्या र दक्ष युवा शक्ति आज विदेशमा छ । हाम्रो एक तिहाइ अर्थतन्त्र विदेशबाट आप्रवाह हुने पुँजीबाट चल्छ भने अब हामीले यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नैपर्छ । परदेशमा भएका धेरै युवा मित्रहरू नेपालमै केही तालिम केन्द्र, उद्योग‑व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन् । आफ्नो गाउँ‑ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवा हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ । अब परदेसिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ‑आफ्नै गाउँ‑ठाउँमा प्रयोगमात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ ।
आज सामाजिक सञ्जालको जमाना छ । विदेश बस्ने आफन्त साथीभाइलाई आईफोन, प्ले स्टेसन, डीएसएलआर क्यामेरामात्रै नमागौँ । चन्दा र अनुदानमात्रै दिनुहोस् पनि नभनौँ । ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ ।
‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ‘
आउनुहोस् नेपाल फर्की आ-आफ्नै गाउँ‑ठाउँका बाँझा खेतबारीमा उद्यमशीलताको रोपाइँ गरौँ ।
आउनुहोस् गहुँ, मकै लगाऔँ । सुन्तला, कागती, स्याउ, लिची र आँपका बीऊ बाँडौँ । हुन त यी बीऊ लगाउने सर्वोत्तम समय १० वर्षअघि थियो । त्यसो गरेको भए आज विषादीयुक्त फलफूल भित्र्याउनु पर्दैन थियो होला । तर, १० वर्ष नेताले संविधान र युवाले कन्सल्टेन्सी धाउनमै बिताए । याद राख्नुहोस्, यी फलफूल लाउने सर्वोत्तम समय १० वर्षअघि भए पनि दोस्रो उत्तम समय आज, अहिले हो ।
आज बीऊ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ । आज हामीले आफ्नो गाउँ‑ठाउँमा उद्यम गरी स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन सक्यौँ भने भोलि हाम्रा भाइबहिनी, छोरा‑नातिले आफ्नो गाउँ‑ठाउँ छोडी बिदेसिनुपर्ने बाध्यता कम हुनेछ । देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ ।
यो कोरोनाको महाव्याधिको चुनौतीभित्र लुकेका अवसरको पहिचान गरौँ । नव आर्थिक वर्ष र मातृभूमितर्फको यात्राको सबैलाई शुभकामना । नेपालको जय होस् ।
(लेखक खप्तडछान्ना ५ पिठातोला बझाङका बासिन्दा हुन् । हाल युनिभर्सिटी अफ मासाचुसेट्स अमेरिकामा रसायन शास्त्रमा विद्यावारिधि गर्दैछन् ।)
प्रकाशित समय १२:०१ बजे

















