गृहपृष्ठ सुदूरपश्चिममा थप १ जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिममा थप १ जना कोरोना संक्रमितको मृत्यु
कैलालीको गोदावरी नगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साझँ कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका वडा नं ११, ओलानीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै गोदावरी नगरपालिकामा मात्रै कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आईसीयूमा उपचार भइरहेको थियो । मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।
उपचारका क्रममा उनको बुधबार बिहान मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विरबहादुर कुँवरले जानकारी दिए । मृतक पुरूष केही दिनअघि भारतबाट फर्किएका थिए ।
पहिलेदेखि नै बिरामी रहेको र भारतमा पनि उपचार गराइरहेको भन्ने बुझिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । मृतक पुरुषको यसअघि तीनपटक कोरोना परीक्षण भइसकेको उनले बताए ।
सुरुमा सेती प्रादेशिक अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पछि नगरपालिकाले संकलन गरेको स्वाबको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । फेरि मंगलबारको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।
प्रकाशित समय १३:१० बजे

















