गृहपृष्ठ चियाको राजधानीमा कफीखेती गर्दै पूर्वलडाकु

चियाको राजधानीमा कफीखेती गर्दै पूर्वलडाकु

झापा बिर्तामोडका भोजराज श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला दुई वर्ष भूमिगत जीवन बिताए । समाज परिवर्तनका लागि भोजराजले साथी/सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताएका थिए । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेमा उनी पुगे ।

यसपछि भोजराज यही उद्देश्य लिएर नयाँ जीवन जिउनका लागि घर सरे । नयाँ किसिमको खेतीबाली गरेर जीविकोपार्जन गर्न भन्दै उनी झापाबाट इलाम आए । उनलाई सेना/प्रहरीमा जागिर खान प्रस्ताव नआएको होइन तर हतियार बोकेर वाक्क भएका भोजराजलाई फेरि त्यही काम गर्न जाँगर आएन । सुरुमा झापामै केही व्यवसाय गर्ने सोच पनि आएको थियो तर छोराछोरीको भविष्य र पारिवारिक जिम्मेवारी थेग्न त्यो व्यवसायले खाँचो टार्ने देखिएन ।

यत्तिकैमा एक दिन भोजराजलाई साथीले कफीखेती गर्ने सल्लाह दिए । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि भोजराज झापा छाडेर इलाम उक्लिए । चियाको प्रख्यात जिल्ला इलाममा त्यसबेला धेरैलाई कफीको बारेमा पत्तै थिएन । चिया नै चियाले घेरिएको ठाउँमा एक्ला भोजराजले कफीखेती सुरु गरे ।

पहिलो गाँसमै ढुंगा

पुर्ख्यौली घर रहेको इलाम नगरपालिकाको गोदकमा जग्गा ठेक्कामा लिएर भोजराज कफीखेती गर्न थाले । केही साथीसँग मिलेर खेती पनि गर्नुभयो तर आम्दानी भने सोचेजस्तो भएन । कफीका लागि आवश्यक हावापानी नमिलेपछि भोजराजको लगानीसमेत उठेन । सुरुमा सोधखोजै नगरी गरेको खेतीबाट फाइदा हुने छाटँकाँट देखिएन ।

आम्दानी नभए पनि भोजराजले हिम्मत हारेनन् । उनले यो ठाउँमा एबोगाडो र लिचीखेती गरे अनि कफीखेतीका लागि रोङ गाउँपालिकास्थित लक्ष्मीपुर पुगे । दुई वर्षअघि लक्ष्मीपुरमा लगाएको कफी भने आशलाग्दो देखिएको छ । गाउँमा नयाँ खेती सुरु भएपछि भोजराजलाई पछ्याउँदै अरूले पनि कफीखेती थालेका छन् ।

भोजराजले ३० रोपनी जग्गामा कफी लगाएक छन् । ‘१५ लाख रुपैयाँ लगानी गरेँ, आम्दानी उठ्ने बेला भएको छैन,’ उनले भने, ‘बिरुवा बेचेर अलिअलि कमाउँदै छु तर आम्दानी राम्रै हुने देखिएको छ ।’ भोजराजले चाँडै त्यो क्षेत्रमा २०० रोपनीमा कफीखेती गर्ने योजना बनाएका छन् ।

जिल्लाभर कफीमा सम्भावना

चियाखेती भइरहेको इलाममा भोजराज भने कफीमा प्रशस्त सम्भावना देख्छन् । गाउँमा खेती नगरी छाडिएका पाखापखेरामा पनि मौसम मिले कफीखेती गर्न उनको सुझाव छ । कफीमै भविष्य देखेका भोजराजले आउँदो वर्ष इलामको माङ्सेबुङ गाउँपालिकामा पनि खेतीको योजना बनाएका छन् ।

उनले गरेको देखेर अरू क्षेत्रबाट पनि कफीका लागि अनुरोध आउन थालेको छ । ‘इलाममा चियाबाट भन्दा कफीबाट बढी फाइदा लिन सकिन्छ,’ उनी भन्छन्, ‘कफीको राष्ट्रिय माग पूरा गर्न पनि कफी लगाउनुपर्छ ।’ भोजराजका अनुसार अहिले नेपालका पूर्वी पहाडी क्षेत्रमा स्थानीय कफी भन्दै भारतीय कफी बेच्ने गरिएकाले त्यसको दुरुत्साहनका लागि पनि खेती गर्नुपर्ने देखिन्छ । एउटा कफी क्याफेले नै मासिक १० किलो चेरी (कफीको बोक्रा पेलेर फ्याँकेपछिको भित्री भाग) लिने गरेकाले स्थानीय स्तरमै बजार राम्रो रहेको उनी बताउँछन् ।

अनुदानभन्दा कृषि ऋणलाई प्राथमिकता दिँदा उचित

सरकारले व्यावसायिक कृषि उद्यम गर्नेलाई प्रेरणा र सहयोगका लागि अनुदान वितरण गर्दै आएको छ तर कफी किसान भोजराज भने अनुदान पहुँचवाला र नेतृत्व निकटलाई दिइने भएकाले कृषि ऋणमा प्राथमिकता दिनु उचित देख्छन् । साना अनुदान किसानले पाए पनि ठूला अनुदानमा भने वास्तविक किसानका हात नपर्ने गरेको उनले बताए ।

इलाम पनि यो समस्याबाट अछुतो छैन । उनी किसानलाई प्रोत्साहन स्वरुप ऋण दिन सरकारसमक्ष अनुरोध गर्छन् । ‘यसै वर्ष पनि मैले दुई लाख अनुदान पाएँ तर ठूलो अनुदान किसानले पाउँदैनन्,’ भोजराज भन्छन् । स्थानीय सरकारले कृषिमा उत्प्रेरणाका कार्यक्रम ल्याएकाले कृषिमा प्रोत्साहन भएको उनी बताउँछन् । स्थानीय सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिएर युवालाई किसान र उद्यमी बनाए स्वरोजगार बन्न सकिने भोजराजको बुझाइ छ ।

उत्पादनमा इलाम प्रदेशकै उत्कृष्ट

कफीमा किसान जागरुक हुन थालेपछि कफीमा समेत इलाम उत्कृष्ट बन्दै आएको छ । खेती प्रणाली मिलेको, स्थानीय सरकार र कफी बोर्डबाट बिरुवासमेत उपलब्ध हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा लागेका हुन् ।

एक सर्वेक्षणअनुसार इलाम कफी उत्पादनमा प्रदेश १ कै उत्कृष्ट जिल्ला हो । प्रदेश १ को ३४.७ हेक्टरमा कफीखेती हुने गरेकामा १०.३ प्रतिशत हेक्टरमा भने इलाममै खेती हुने गरेको छ ।

(किरण पाैड्याल/रासस)

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु