गृहपृष्ठ काभ्रेमा स्पाइनल इन्जुरी भएका २० जनासहित ४१ जना संक्रमित

काभ्रेमा स्पाइनल इन्जुरी भएका २० जनासहित ४१ जना संक्रमित

SIRC_NewsKarobar

काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (एसआईआरसी)मा पुनर्स्थापना र उपचार गराइरहेका २० जनासहित सोही केन्द्रमा मात्रै ४१ जना कोरोना भाइरस संक्रमणमा परेका छन् ।

उचाइबाट खसेर, सडक दुर्घटनामा परी मेरुदण्डका कुनै पनि भागमा चोट लागेर मेरुदण्डको पक्षघातमा पर्नु स्पाइनल इन्जुरी हो । यस्ता बिमारीको मेरुदण्डमा चोट लागेकोभन्दा मुनिका पुरै शरीरमा दिसा-पिसाबलगायत संवेदना अनुभूति हुँदैन । यस्ता बिमारीहरूको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ ।

यो जटिल किसिमको अपांगताको अवस्था हो । आधा शरीर नचल्ने कारणले व्हीलचेयरसहितका सहायक सामग्री प्रयोग गरिरहनु पर्ने, हेरचाहकर्ताहरूको सहयोग लिइरहनु पर्ने कारणले संक्रमणका दोहोरो जोखिम हुने गरेको चिकित्सकहरू बताउँछन्।

नियमित परीक्षणका क्रममा केन्द्रमा कार्यरत २१ जना कर्मचारी र २० जना स्पाइनल इन्जरी भएका बिमारी, केन्द्रबाट जीवनोपयोगी तालिम लिइरहेका केही अपांगता भएका व्यक्तितथा बिमारीका कुरुवा संक्रमित भएको केन्द्रका चिकित्सक डा. राजु ढकालले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरूमध्ये ३४ जना एसआईआरसीमै आइसोलेसनमा छन् भने ७ जना कर्मचारीहरू होम आइसोलेसनमा रहेका छन् ।

केन्द्रमा हाल रहेका अन्य ४२ जना स्पाइनल इन्जुरीका बिमारीहरू पनि स्वाब परीक्षणमा पठाइएको र कोरोना नेगेटिभ देखिएका केन्द्रका कर्मचारीहरूले बाँकी पुनर्स्थापना तथा हेरविचार गरिरहेको उनले बताए ।

डा. ढकालका अनुसार कोरोना पोजेटिभ देखिएका अधिकांश कर्मचारी र स्पाइनल इन्जुरीका बिमारीहरूमा कुनै लक्षण नदेखिएको वा माइल्ड लक्षण देखिएका छन् । ‘संक्रमितहरूको हामी नियमित चिकित्सकीय निगरानी गरिरहेका छाैं,’ डा. ढकालले भने ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु