गृहपृष्ठ नेप्से प्रमुख भन्छन्‑ टिएमएसमा होइन, नयाँ किसिमको समस्या आयो

नेप्से प्रमुख भन्छन्‑ टिएमएसमा होइन, नयाँ किसिमको समस्या आयो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले प्रविधिमा नयाँ किसिमको समस्या देखापरेको बताएका छन् । ‘मिडियाहरूले टिएमएस भनेर लेखिरहेका छन् तर टिएमएस होइन, प्रविधिमा नयाँ किसिमको समस्या देखियो,’ उनले भने, ‘टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) र ब्याक अफिस सिस्टमबीच म्याचिङमा समस्या देखिएको हो, चाँडै समाधान हुन्छ ।’

नेप्सेले कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले कारोबार रोक्का राखिएको भन्दै सूचना जारी गरेको थियो । अहिलेसम्म नदेखको नयाँ समस्या भएकाले केहीबेर अलमल भएको र समस्या थाहा भइसकेकाले समाधानतर्फ गइसकेको उनले बताए ।

आइतबार कारोबार खुलेदेखि नै सिस्टममा समस्या आएको थियो । जसका कारण कतिपयले बाइ र सेल अर्डरमा राखेको सेयर संख्या दोब्बर र तेब्बर परेको थियो । मल्टिपल इन्ट्री भएपछि लगानीकर्ता तनावमा छन् ।

प्राविधिक रुपमा नेप्सेका प्रणालीहरू बलिया नहुँदा लगानीकर्ताले पटक‑पटक समस्या झेल्दै आएका छन् । यसको दीर्घकालीन समाधानका लागि पहल भइरहेको नेप्सेका सिईओ साउदले बताए । तर, लामो समयदेखि समाधान खोजिरहेको बताए पनि नेप्सेले मजबुत सिस्टम निर्माण गर्न नसकेको लगानीकर्ताको गुनासो छ ।

 

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु