गृहपृष्ठ दुई दशकदेखि चिनियाँ सेनाको सूक्ष्म निगरानी गर्दै अमेरिका

दुई दशकदेखि चिनियाँ सेनाको सूक्ष्म निगरानी गर्दै अमेरिका

Chinese Army_NewsKarobar

पछिल्ला दशकहरूमा विश्वव्यापी रूपमा ठूला मुलुकहरूबीच सैन्य तनाव छैन । सीमा जोडिएका मुलुकहरूमा हुने सानातिना धक्कामुक्काबाहेक ठूलो लडाइँको अवस्था पनि छैन । यसका बाबजुद विश्वका प्रमुख शक्ति राष्ट्रहरूले आफ्नो सैन्य शक्ति बढाउन, सञ्चित गर्न ठूलो धनराशि खर्च गर्दै आएकामात्र नभइ अर्को शक्ति राष्ट्रका सैन्य शक्तिका पनि लेखाजोखा गर्दै आइरहेका छन् ।

अमेरिकाको रक्षा विभाग (डिपार्टमेन्ट अफ डिफेन्स-डीओडी), पेन्टागनले विगत २० वर्षदेखि चिनियाँ सेना र त्यहाँको रक्षा मामिलाको सूक्ष्म निगरानी गरिहेको एक अमेरिकी संसदीय (कंग्रेसनल) प्रतिवेदनले देखाएको छ ।

रक्षा विभागका तर्फबाट कंग्रेसलाई बुझाइएको प्रतिवेदनमा विभागले सन् २००० देखि चिनियाँ सुरक्षा रणनीति, सुरक्षा र सैन्य मामिलामा सूक्ष्म अध्ययन गरेर वार्षिक रूपमा प्रतिवेदन तयार पार्ने गरिएको उल्लेख छ ।

चीनको सैन्य शक्ति पिपल्स लिबरेसन आर्मी (पीएलए)ले चालू वर्षदेखि आफूलाई आधुनिकीकरण गरेर लगेको र सन् २०४९ सम्म विश्वस्तरीय (वर्ल्डक्लास) सेनामा रूपान्तरण गर्ने लक्ष्य लिएको पेन्टागनको प्रतिवेदनमा उल्लेख छ ।

चीनले ‘सिभिल-मिल्ट्री फ्युजन (एमसीएफ)’ विकास रणनीतिअन्तर्गत आफ्नो रक्षा आधुनिकीकरणका लागि ठूलो स्रोत परिचालन गरिरहेको पेन्टागनले जनाएको छ । प्रतिवेदनमा विगत २० वर्षमा चीनका रक्षा बजेट निरन्तर वृद्धि हुँदै अहिले अमेरिकापछि विश्वमै दोस्रो अधिक रक्षा बजेट भएको देशमा परिणत भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०१९ मा चीनको रक्षा बजेट १ खर्ब ७४ अर्ब अमेरिकी डलर थियो, यो त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब १.३ प्रतिशत हो । प्रतिवेदनमा अमेरिकी रक्षा बजेटबारे उल्लेख छैन । सिप्रीका अनुसार सन् २०१९ मा अमेरिकी रक्षा बजेट १९ खर्ब अमेरिकी डलर थियो ।

पेन्टागनको प्रतिवेदनअनुसार सन् २०१९ मा भारतको रक्षा बजेट ६१ अर्ब ७० करोड अमेरिकी डलर, रुसको ५४ अर्ब ८० करोड डलर, जापानको ५३ अर्ब ९० करोड डलर, दक्षिण कोरियाको ३० अर्ब ८० करोड डलर र ताइबानको १० अर्ब ९० करोड डलर छ ।

प्रतिवेदनअनुसार हाल चीन विश्वकै सबैभन्दा ठूलो जलसैन्य शक्ति भएको देश बनेको छ । चीनसँग ३५० पानीजहाज र पनडुब्बीहरू छन् भने १३० जल-सतहका लडाकु जहाज छन् । यो संख्या अमेरिकाको भन्दा बढी हो । अमेरिकासँग २९३ लडाकु पानीजहाज रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक चीन सबैभन्दा ठूलो लडाकु पानीजहाज निर्माता मुलुक भएकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार चीनसँग ५०० देखि ५ हजार ५०० किलोमिटरसम्म प्रहार गर्नसक्ने १ हजार २५० भूसतही ब्यालिस्टक मिसाइल (जीएलबीएमएस) छन् भने विश्वकै सर्वाधिक ठूलोमध्येको हवाई सुरक्षा सुरक्षा प्रणाली छ, जसमा रुसमा निर्मित एस-४००, एस-३०० देखि स्वदेशमै निर्मित अत्याधुनिक फाइटर जहाज पनि छन् ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु