गृहपृष्ठ गाउँगाउँमा पुग्यो सडक, तीन दिनको बाटोमा चार घण्टे यात्रा, फेरियो जीवनशैली
गाउँगाउँमा पुग्यो सडक, तीन दिनको बाटोमा चार घण्टे यात्रा, फेरियो जीवनशैली
आठ वर्षअघि छेडागाड नगरपालिकाको वडावन हुँदै थाप्लो थिचिने गरी भारी बोकेर शरीरभरी पसिना बगाउँदै जुनिचाँदेको लुहादहस्थित घरमा नुन ल्याउने रेशम खड्का अहिले सोही ठाउँमा गाडीमा सवार गर्छन् । उनलाई यति छिट्टै गाउँगाउँमा सडक पुग्ला भन्नेमा एकरत्ती विश्वास थिएन । बाबासँग नुनलगायत अन्य लत्ताकपडा आफ्नै शरीरको तौलभन्दा बढी बोकेर तीन दिन लगाएर घर जाने रेशमलाई हिजोआज सोही बाटो चार घण्टाभित्र पार गरी घरमा पुग्दा अनौठो लाग्छ ।
केही समय छेडागाडमा शिक्षण गरेका जाजरकोटका पत्रकार राजेन्द्र कार्कीलाई यति पनि छिट्टै पश्चिमका गाउँगाउँमा सडक निर्माण भई यात्रा गर्न पाइएला भन्ने विश्वास थिएन । ‘पहिले पढाउँदा दुई दिन लगाएर हिँडेको बाटो हो, अहिले लामो समयपछि यहाँ आउदा आनन्दसँग गाडीमै सवार हुन पाउँदा खुसी लागेको छ । सर्वसाधारणको जीवनशैलीसमेत फेरिएको रहेछ,’ उनले भने ।
जाजरकोटको पश्चिम भेगमा भोकविरुद्ध सहायता अभियान कार्यक्रम लिएर खाद्यान्न हस्तान्तरण गर्न पुगेका पत्रकार, नागरिक अगुवा तथा अधिकारकर्मीहरुले गाडीमै सामग्री लिएर ठाउँठाउँमा पुग्दा विकासले गति लिएको भन्दै खुसी व्यक्त गरे । सहायता अभियान तथा डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले अब पश्चिम जाजरकोट पनि दूरीका हिसाबले टाढा नभएको बताए ।
मानिसको जीवनशैली बदलिएको उनले पाए । भन्छन्, ‘अब उत्पादन र रोजगारीमा जोड दिए समृद्धिको बाटो धेरै पर छैन ।’ बाहिरबाट आवश्यक सामग्री लिएर आएका गाडीलाई गाउँबाट अब स्थानीय उत्पादनका सामग्री पठाएर आर्थिक लाभ लिनुपर्ने शर्माको सुझाव छ ।
अहिले जाजरकोटमा वन तथा वातावरणमन्त्री एवं प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको पहलमा वडावनमा १३२ केभी प्रसारणलाइनको सबस्टेसनको काम चालू अवस्थामा छ । यहाँका कच्ची सडक कालेपत्रेका लागि प्रक्रिया अघि बढेका छन् । त्यस्तै स्थानीय सरकार मूल सडकलाई गाउँगाउँमा जोडेर सबै वडा यातायातको पहुँचमा पु‑याउने अभियानमा छन् । छेडागाड नगरपालिका प्रमुख लालबहादुर महतारा गाउँगाउँमा सडक सञ्जाल विस्तारको काम तीव्र बनेको बताउँछन् । ‘हामीले आफ्नो गाउँ र टोललाई विकासको मूल प्रवाहमा ल्याउन इमानदारी र आफ्नोपन देखाउनुपर्ने छ । हामीले गर्ने काम आफ्ना लागि र भावी सन्ततीका लागि हो भन्ने कुरा गहिरो रूपमा बुझ्न जरुरी छ,’ उनले सगर्व भने ।
शिवालय गाउँपालिकाले सबै वडामा सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । पालिकाको बढी बजेट सडक निर्माणमा लगाएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए । नयाँ सडक निर्माण गर्दा ठाउँठाउँमा भत्किएको भए पनि अर्को वर्षदेखि सडकहरु लयमा आउने उनको विश्वास छ ।
जुनिचाँदे गाउँपालिकाले पनि सडक निर्माणलाई नै जोड दिएको छ । अहिले पालिकाको तल्लो भागमा सडक निर्माण कार्य तीव्र रूपमा भइरहेको कार्यबाहक अध्यक्ष शिवा आचार्य (बस्नेत)को भनाइ छ ।
जाजरकोटमा मध्यपहाडी लोकमार्गको कामलाई पनि तीव्ररूपमा अगाडि बढाइएको छ । छेडा–चाँदे सडक हुँदै जुम्ला सडक खण्डसमेत पश्चिम जाजरकोटमै पर्छ । कच्ची कटान कार्य तीव्र रूपमा भएको तर कच्ची काटेर वषौँ बितेको सडकमा कालोपत्रेको कामसमेत अगाडि बढाउन स्थानीयबासीको माग छ ।
अहिलेको वर्षायाममा निर्माणाधीन अवस्थामा रहेका सडकहरुलाई क्षति पु‑याउँदा केही समस्या देखिएको स्थानीय तहले जानकारी दिएका छन् । वर्षायाममा खोलाहरुमा पुल निर्माण नभएका कारण केही अवरोध आए पनि कच्ची कटान भएका सडकहरुले यात्रामा राम्रो सहयोग गरेको जुनिचाँदे गाउँपालिकाका सर्वसाधारण बताउँछन् ।
ठूला पुल पश्चिमको मुख्य अवरोध
यो सडकखण्डमा मोर्क खोला र खाराखोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती पाइरहेका छन् । मोर्क खोलामा आठ वर्षदेखि पुल निर्माण कार्य रोकिएको छ भने खारामा पुल निर्माण कार्य सुरु नै गरिएको छैन ।
छिन्चु–जाजरकोट सडकखण्डको छेडाबजारदेखि शिवालय १ सालतरासम्म कालोपत्रेको काम सम्पन्न भएको छ । मोर्कदेखि शिवालय गाउँपालिकाभित्रको सडकमा चार किलोमिटर कालोपत्रे गरिएको छ । बाँकी यो आर्थिक वर्षमा हुने बताइएको छ । (रासस)
प्रकाशित समय १३:४० बजे

















