गृहपृष्ठ सुरक्षाकर्मी र कर्मचारीसहित कर्णालीमा थप ५१ जनामा कोरोना
सुरक्षाकर्मी र कर्मचारीसहित कर्णालीमा थप ५१ जनामा कोरोना
कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोनाभाइरस (कोभिड- १९) पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा ४९ जना र दैलेख अस्पतालमा एक तथा चौरजहारी नगरपालिका आइसोलेशन रुकुम पश्चिममा एक जनामा कोरोना पुष्टि भएको हो ।
पुष्टि भएकाहरुमध्ये चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामति कर्मचारी तथा एक जना इन्सेकका कर्मचारी रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनकाअनुसार कोरोना पुष्टि हुनेमा वीरेन्द्रनगर नगरपालिकाका १३ जना, सल्यान बनगाडकुपिण्डे नगरपालिकाका ३३, दैलेख नारायण नगरपालिकाका १, दुल्लु नगरपालिकाका १, जाजरकोट जुनिचाँदे गाउँपालिकाका १, उदयपुर बेलाका नगरपालिकाका १ र रुकुमपश्चिम चौरजहारी नगरपालिका १ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय १४ पुगेको उनले जानकारी दिए । गत २४ घण्टामा प्रदेशभर ३५ जना कोरोनामुक्त भएका छन् ।
प्रदेशभर सञ्चालनमा रहेका २ सय ६२ ओटा आइसोलसनबाट हालसम्म कोरोनामुक्त भई घर फर्कनेको संख्या २ हजार ६ सय ५ पुगेको कँडेलले बताए । नयाँ संक्रमितसहित आइसोलेसनमा रहेका संक्रिय बिरामीको संख्या ३ सय तीन रहेको कँडेलले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा जल्लागत तथ्यांक दैलेख सबैभन्दा बढी १ हजार ७७, सुर्खेतमा ८ सय ९० सल्यानमा ३ सय १४, जुम्लामा १ सय ८८, कालिकोटमा १ सय १६, रुकुमपश्चिममा ७२, जाजरकोटमा ६३, मुगुमा १३, हुम्लामा ९, डोल्पामा ५, र अन्य प्रदेशका १ सय ६७ गरी जम्मा २ हजार ९ सय १४ संक्रमित रहेका हुन् । यद्यपि कालिकोट, मुगु, हुम्ला र डोल्पामा हाल संक्रमित नरहेको कँडेलले जनाए । हालसम्म कर्णाली प्रदेशमा ६ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १८:३३ बजे

















