गृहपृष्ठ भर्चुअल माध्यमद्वारा महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण गर्दै नेपाली कांग्रेस
भर्चुअल माध्यमद्वारा महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण गर्दै नेपाली कांग्रेस
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रम निरन्तर चलाइरहेको छ । कोभिड–१९ को कारण भर्चुअल माध्यमद्वारा प्रशिक्षण कार्यक्रमहरु भइरहेका छन् ।
यही भदौं २९ गते प्रदेश १ का चार जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम र झापा, ३० गते प्रदेश २ का बारा, पर्सा, रौतहट तथा ३१ गते सिरहा र सप्तरीका सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । प्रविधिको असहजतालाई समेत सहज गराउँदै पार्टीका केन्द्रीय सदस्यहरु, संघीय तथा प्रदेश सांसदहरु, भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरु तथा विभिन्न तहका नेताहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रमुख आतिथ्यता गर्दै केन्द्रीय उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पानसमा वत्ती वालेर कार्यक्रमको उद्घाटन गरेका थिए । निधिले नेपाली कांग्रेसको आदर्श र सिद्धान्तको आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादमा केन्द्रित रही परिवर्तन र संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हुनाले परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिक निर्वाचन प्रणाली र धर्मनिरपेक्षता जस्ता उपलव्धिहरुको स्वामित्व कांग्रेसले नै लिनुपर्ने बताउदै अहिंसा र शान्तिपूर्ण मार्गको माध्यमद्वारा आगामी दिनमा देशको विकास गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसले उल्लिखित विचार र उपलब्धिका आधारमा देशव्यापी प्रशिक्षण र संगठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै निधिले विचारमा एकता हुनासाथ पार्टीमा स्वतः एकता रहने विश्वास व्यक्त गरे । सबै दिनका कार्यक्रमहरु दुई सत्रमा सञ्चालित थिए । पहिलो दिन नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरू गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटीको अध्यक्षतामा, दोस्रो दिन केन्द्रीय सदस्य फरमुल्लाह मंसूर र पूर्व केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद चौधरी, तेस्रो दिन सप्तरीका सभापति दिनेश यादव र जितेन्द्र देवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएका थिए ।
पहिलो दिनको कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भीष्मराज आङ्देम्वे, पार्टीका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु— केशवकुमार वुढाथोकी र सरिता प्रसाई, पूर्वमन्त्री केशव थापा, झापाका उपसभापति राम कट्टेल, पाँचथरका उपसभापति मित्र काफ्ले र प्रतिष्ठान सदस्य कान्ता रिजालले मन्तव्य व्यक्त गरेका थिए । दोस्रो दिनको कार्यक्रममा केन्द्रीय सदस्यहरु अजय चौरसिया र राधेचन्द्र यादव,, श्रीकृष्णदेव यादव, शान्ती कार्की, देवेन्द्र नेपाली, पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदी, पूर्व सांसद अनिल रुंगटा, जयकिरण, शम्भुहजारा पासवान् र प्रतिष्ठान सदस्य मधु शाहीले सम्बोधन गरेका थिए ।
तेस्रो दिनको कार्यक्रममा समाजवादी चिन्तक एवं केन्द्रीय सदस्य प्रदीप गिरीको विशेष प्रशिक्षण मन्तव्य थियो । केन्द्रीय सदस्य चित्रलेखा यादव, डा. गणेश मण्डल, हेमराज तातेड, अमीय कुमार यादव, रामचन्द्र यादव, नसीर सिद्दिकी सहितका वक्ताहरुको मन्तव्य रह्यो । कार्यक्रमको अन्त्यमा सहभागीहरुले प्रस्तुत विषयमाथि छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
तीन दिनकै कार्यक्रममा प्रशिक्षणको आवश्यकताबारे प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, पार्टीको विधानबारे प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र वर्तमान सरकारको कार्य समीक्षा प्रतिष्ठानका सदस्य राजु नेपालले प्रस्तुत गरेका थिए । अन्तिम दिनको कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य डा. गोविन्द पोख्रेलले समाजवाद र आजको नेपालको आर्थिक अवस्थावारे प्रशिक्षण दिएको उनले बताए ।
प्रकाशित समय १७:५६ बजे
















