गृहपृष्ठ वामदेवविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

वामदेवविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदर गर्न तथा उनलाई मन्त्री नबनाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाई बुधबार भइरहेको छ ।

केही दिनअघि मात्र राष्ट्रिय सभामा मनोनित भएका सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष गाैतमका विरूद्ध परेकाे रिटउपर न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको उक्त रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको थियो । निवेदनमा गौतमलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउनसमेत माग गरिएको छ । राष्ट्रियसभामा सरकारबाट कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्ड जारी गर्नसमेत अधिवक्ता त्रिपाठीले रिटमा माग गरेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ (२) को खण्ड ‘ख’ बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु