गृहपृष्ठ ‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’
‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’
सरकारले यात्रा गर्नेबित्तिकै आशंकामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्डा. जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । दुई सातासम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिए पीसीआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरे ।
लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पीसीआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रनेबित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ । उनले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । ‘कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु,’ उनले भने ।
जटिल बिरामी बढ्दै
पछिल्ला केही दिनयता जटिल कोरोना संक्रमित संख्या बढेको छ । शनिबारसम्म २४४ को आइसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसीयूमा उपचार भइरहेको छ ।
यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन् ।
प्रकाशित समय १९:५८ बजे

















