गृहपृष्ठ डिसहोम सिनेमा घरमा ‘शिरफूल’ प्रर्दशन हुँदै
डिसहोम सिनेमा घरमा ‘शिरफूल’ प्रर्दशन हुँदै
कोरोना भाइरसको महामारीको बीचमा पनि यही असोज १६ गतेबाट डिसहोम सिनेमा घरबाट नेपाली चलचित्र ‘शिरफूल’ प्रर्दशन हुने भएको छ । नाइस मिडिया नेटवर्क प्रालिको ब्यानरमा निर्माण भएको ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गरेका छन् ।
नारी प्रधानमा यस चलचित्रमा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषय बनाइएको छ । चलचित्रले युवा पुस्तामा देखिएको पश्चिमी संस्कृतिको प्रभावलाई समेटेको छ । चलचित्रमा रुपा राना, विनिता मगर, राज थापा, देव आले मगर, पूजा गदाल, नीता पुन, नविना तामाङ, विना थापा, लिला गुरुङ, मरिस्का पोखरेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अभिनेत्री रुपा रानाबाहेक अधिकांश थियटरका कलाकरको यस चलचित्रमा अभिनय देख्न सकिन्छ ।
कोरोना महामारीले सबै क्षेत्र प्रभावित भएरहेको बेला ‘शिरफूल’ निर्माण युनिट वैकल्पिक माध्यमबाट चलचित्र प्रदर्शन गर्ने निर्णयमा पुगेको हो । दर्शकले डिसहोम सिनेमा घर, च्यानल नम्बर १०८ बाट दैनिक ८ सो हेर्न सकिने निर्माण टिमले जनाएको छ । जसअन्तर्गत बिहान १, ४, ७ र १० बजे हेर्न सकिनेछ भने दिउँसो १, ४ र बेलुका ७ तथा राति १० बजे हेर्न सकिनेछ ।
चलचित्रमा हरि लम्सालको संगीत, डिपी खनाल र सन्दीप थापाको गीत रहेको छ । ‘शिरफूल’लाई सिद्धान्त एस. पौडेलले निर्माण नियन्त्रण गरेका हुन् । यो चलचित्र कमलको डेब्यु निर्देशन रहेको छ भने यसै चलचित्रबाट लोकगायिका निता पुन र गायक देव आले मगरले अभिनयमा डेब्यु गर्दैछन् । ‘शिरफूलको छायाँकन काठमाडौँसहित तनहुँ, पोखरा, र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको हो ।
प्रकाशित समय १५:०९ बजे

















