गृहपृष्ठ पौरखहरूको चासो

पौरखहरूको चासो

बिर्सिएर सबै ब्याकलग र फाइलहरू
छुट्टी मनाउँदै
सडकका बीचैबीच
हिँडेका हूल र जमेका भीडहरू
मान्छे-मान्छे र छाताहरू
छाता-छाता र मान्छेहरू
यी छाताले छेलिएका टाउकाहरूमा
जेबुन्निसा होस् वा क्याथोरिन
क्लियोपेट्रा होस् वा फेनिच्का
सबै आ-आफ्नै कथा भोग्छन् आखिर
नत्र सेतीमा अलिकति टेम्स मिसाउँदा हुन्थ्यो,
पिखुवामा अलिकति नाइल बगाउँदा हुन्थ्यो
बुद्धले बन्दुक बोकेनन् भनेर के कुरा गर्नु ?
पियानो पनि त बजाएनन् !
न त
कुनै चित्र बनाएकै वृत्तान्त सुनिन्छ कतै
अंगुलीमालको प्रशंसा गरेकै हो
आम्रपालीलाई पनि मेरो नमस्कार सुनाइदिए
केही फरकपर्ने छैन
यस क्षण मलाई
मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा
यो वर्षात्‌ले बगाइ लगेका
पौरखहरूको चासो छ
यो भल बढेर बाटो छेक्दा
कतै पुग्न ढिलो भयो भन्नेभन्दा
मेरो माटो बग्यो भन्ने पीर भइरहेछ
यो पहाड !
बगेरै समथल हुने हो कि भन्ने
डर लागिरहेछ
देशले एउटा सच्चा
जननेता मागिरहेछ ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु